देशको माटोबारे दैनिक आधा घण्टा सोच्न आग्रह

केपि बिरही,

युएई । युएई नेपाली एकता समाज महिला बिभाग आबुधाबी क्षेत्रीय समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान चाड तिहार तथा छठका अवसरमा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा युएई नेपाली एकता समाजका कार्यबाहक अध्यक्ष दिनेश थापाले संगठनात्मक पद्धति तथा आर्थिक रख रखाव सम्बन्धी बिषयमा प्रशिक्षण दिँदै यी दुवै कुरा पारदर्शी नभएले संगठन मात्रै नभइ देश नै कमजोर हुन्छ भन्ने कुरा सत्तारुढ दल र नेपाल सरकारले देखाएको रमिताले छर्लङ्ग पारेको बताउनुभयो ।

कार्यक्रममा महिला अधिकार सम्बन्धमा प्रशिक्षणात्मक मन्तव्य राख्दै महिला विभाग केन्द्रीय सदस्य सावित्रा खनालले महिलाहरूले अधिकारका कुरा गर्ने बेलामा कर्तव्यलाई भुल्न नहुने बताउनुभयो । उहाँले महिलाले महिलाहरुलाई नै ठग्न थालेकोले समस्या अझै थपिएको भन्दै अब महिलाहरु पहिला भन्दा अझै सजग र शसक्त बन्नुपर्ने बताउनुभयो ।

यस्तै, युएई नेपाली एकता समाजका महासचिव टिकाराम नेपालीले ज्ञानको सिद्धान्त सबम्धी बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणका क्रममा महासचिव नेपालीले भन्नुभयो, ‘हाम्रो मनमा पैदा हुने एकप्रकारको हलचल, एकप्रकारको तरंग जुन हदसम्म शुद्ध र सत्य हुन्छ त्यही ज्ञान हो । अनि हाम्रा प्रत्येक हलचलहरुले जुन हदसम्म हाम्रो नेपाली माटोका गरीब दुखीका दुश्मनहरुका पर्खालहरु हल्लाउन सक्छ त्यही ज्ञान हो । देश र जनताको किसान र मजदुरहरुको भलो र उन्नति हुन नसक्ने ज्ञान ज्ञान हुन सक्दैन ।’

एकता समाज पनि एउटा ज्ञानको श्रोत भएकोले एकता समाजलाइ अरु केही दिन नसकेपनि दिनमा कम्तिमा आधा घण्टाको समय दिएर एकता समाजको बारेमा र नेपाली माटोको बारेमा सोच्न सबैलाई अनुरोध गर्नुभयो ।

कार्यक्रमका अतिथिहरु युएई नेपाली एकता समाज आबुधावी क्षेत्रीय समितिका सदस्य तथा आइकार्ड एरिया समितिका अध्यक्ष अर्जुन खनाल, रक्तिम विभाग आबुधाबिका उपेन्द्र नेपाली, एकता समाज आबुधाबिका आर्जुन उपाध्याय, एकता समाज केएम टोल समितिका अध्यक्ष ऋषि बिक लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियोे भने रक्तिम कलाकारहरुको साथमा महिला बिभागका कलाकारहरूले भैलोको साथै विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

समितिकि अध्यक्ष खिममाया तिवारीको अध्यक्षता तथा सचिव बिना तामाङको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा कोषाध्यक्ष रिता घिमिरेले स्वागत गर्नुभएको थियो भने रक्तिमका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार