देशको मुटुमा (तिज गीत)

विष्णु शर्मा ##
सम्पूर्ण आमाबाबा दिदीबैनी दाजुभाइ ।
न्यानो मेरो अभिवादन स्वीकार गर्नू है ।।

सबै जना मूल प्रवाहको झण्डामुनि आऊँ है ।
प्रगतिशील गीत गाई तिज मनाऊँ है ।।

मन हाम्रो मुलुकमै छ ज्यान विदेश भए नि ।
देशको तस्बिर मुटुमा छ जहाँ गए नि ।।

भारतका गल्ली बस्ती सबै जना उठेर ।
सङ्घीयताको विरोध गरौँ सबै जुटेर ।।

एमसिसी पास गर्ने खोजे सत्ताधारीहरूले ।
विरुद्धमा मसाल बालौँ सबै नारीले ।।

देशको सार्वभौमसत्तामा यसले ठेस पुर्याउँछ ।
कालान्तरमा अमेरिकन सेना आउँछ ।।

वीरपुर्खाले राज गरेको नेपाल हाम्रो देशमा ।
साम्राज्यवादलाई दिनुहुन्न देशको शासन ।।

हाम्रो भाषा संस्कृतिलाई प्रवासमा चिनाऊँ है ।
हामीबिचमा एकताको माला बनाऊँ है ।।

देशको भेषभुषा नि पर्न नदिऊँ ओझेल ।
विकृतिको विरोध गरौँ सबै मिलेर ।।

चेतनाको दियो बाली हामी अघि बढेर ।
विभेदको विरुद्धमा लडौँ डटेर ।

समस्याको समाधानमा आत्मनिर्भर बनौँ है ।
सामाजिक भावनाको विकास गरौँ है ।।

मूल प्रवाहको गरिमामा हिलो छ्याप्नेहरूलाई ।
सबै नारी एक भई पाखा लगाऊँ है ।।

२०७८ को तिजको सबै जनामा ।
दक्षिण भारतदेखि अग्रिम शुभकामना ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार