देशको राजनीतिक घटनाप्रति प्रवासी नेपालीहरु चिन्तित

काठमाडौं । देशको पछिल्लो राजनीतिक घटनाप्रति विभिन्न देशमा रहेका नेपालीहरुले चिन्ता जाहेर गरेका छन् । नेपालका प्रमुख विपक्षी राजनीतिक दल निकट प्रवासी संगठनहरुले विज्ञप्ति प्रकाशित गरी संसद विघटनको विरोध गरेका हुन् ।

ति देशमा रहेका नेपाली संगठनहरुले प्रतिनिधि सभा विघटनबाट देशको लोकतान्त्रिक प्रणाली कमजोर बनेको भन्दै नेपालमा विपक्षी दलहरुले सञ्चालन गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । यस्तै, नेकपा (मसाल) निकट नेपाली एकता समाजहरुले प्रतिनिधि सभा विघटनसँगै नागरिकतासम्बन्धी अध्यादेश खारेज गर्न माग गरेका छन्।

बुधबार जापान स्थित नेपालीहरुको पाँच संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रतिनिधि सभा विघटनको विरोध गरेका छन् । जापान नेपाली एकता समाजका संयोजक यमलाल सापकोटा, नेपाली सम्पर्क समितिका सभापति रोशन केसी, नेपाली जनप्रगतिशील मञ्चका हवलचन्द्र लामा, प्रवासी नेपाली मञ्चका नेता हरि लामिछाने र नेपाली समाजका अध्यक्ष पेम्बा शेर्पा र चण्डिका अंगाईको विज्ञप्तिमा हस्ताक्षर छ ।

त्यस्तै, युएईमा रहेका नेपालीहरुको ६ संगठनले पनि संयुक्त विज्ञप्ति मार्फत विरोध जनाएका छन् । युएई नेपाली एकता समाजका कार्यवहाक अध्यक्ष दिनेश थापा, नेपाली जनसम्पर्क समितिका सभापति भवानीप्रसाद तिमिल्सिना, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष बाबुराम लोप्चन, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष बाबुराम विश्वकर्मा, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रविण पोख्रेल र विवेकशील साझा सद्भावका संयोजक नेवराज कार्कीले संयुक्त विज्ञप्तिमार्फत विरोध गर्नुभएको हो ।

यसअघि भारतस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसहित विभिन्न पाँच संगठन र कुवेतस्थित कुवेत नेपाली एकता समाजसहित पाँच संगठनले पनि संयुक्त विज्ञप्ति प्रकाशित गरी संसद विघनको विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार