देशमा प्रतिगमनको खतरा : चित्रबहादुर केसी

श्यामलाल पोखरेल
बुटवल, मंसिर २० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमनको खतरा रहेको बताउनुभएको छ । सरकारको कमजोर गतिविधिका कारण प्रतिगामी राजाबादीहरुको सक्रियता बढेको बताउनुभयो ।

शनिबार रुपन्देहीमा प्रगतिशील पत्रकार संघ,नेपालका प्रतिनिधिहरुसंगको भेटमा अध्यक्ष केसीले प्रतिगामीहरुसंग सचेत रहन आग्रह गर्नुभयो । देशभर चलिरहेको राजावादीहरुको गतिविधिलाई हल्कारुपमा लिन नहुने अध्यक्ष चित्रबहादुरको भनाइ छ ।

राजावादी र हिन्दूवादी संस्थाहरुले बहुदलीय व्यवस्थाका विरुद्धमा २०१७ सालमा पनि अहिले जस्तै गतिविधिहरु संचालन गरेको स्मरण गर्दै अध्यक्ष केसीले जसको परिणामस्वरुप २०१७ पुस १ गतेको काण्ड घटेको र त्यसका विरुद्ध नेपाली जनताले ३० वर्ष लामो संघर्ष गर्नुपरेको बताउनुभयो ।

२०४६ सालपछि प्राप्त बहुदलीय व्यवस्थालाई समाप्त पार्न राजावादीहरुले गतिविधि बढाएको र ०५९ माघ १९ गते शाहीकाल घोषणा भएको पनि अध्यक्ष केसीले स्मरण गर्नुभयो । राजावादीहरुको बढिरहेको गतिविधिले २०१७ पुस १ र ०५९ माघ १९ गतेको नियति दोहोरिन सक्ने भएकाले प्रतिगामीहरुका बिरुद्व, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बताउनुभयो ।

राजावादीहरुको गतिविधिका विरुद्ध, गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा गणतन्त्र पक्षधर शक्तिहरु एक हुनुपर्ने बताउनुभयो । उहाँले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने उल्लेख गर्दै नेपाली जनताले लामो समय लडेर ल्याएको गणतन्त्र बचाउनुको अर्को कुनै विकल्प छैन भन्नुभयो ।

वर्तमान सरकारका गलत गतिविधि जनविरोधी तथा भ्रष्ट र कुशासन क्रियाकलापहरुबाट जनतामा निरासा छाएको बताउनुभयो । संघीयताका कारण देश संकटमा परिसकेको दावी गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले नेपाली जनताले संघीयताबो बोजलाई धान्नै नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार