देशव्यापी रुपमा राजमोद्वारा एमसीसी विरुद्ध विरोध सभा सम्पन्न

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै सोमबार काठमाडौं सहित देशैभर प्रदर्शन भएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको आयोजनामा सोमबार काठमाडौंको रत्नर्पाकस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको छ ।

त्यसक्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले एमसीसी सम्झौता लामो समयसम्म गुपचुप राखिएको भन्दै अहिले संसदबाट जसरी पनि पास गर्ने भन्ने सरकारको प्रयास आपत्तिजनक भएको बताउनुभयो । उहाँले एमसीसी संसदबाट पास भए नेपाल अमेरिकी साम्राज्यवादको अखडा बन्ने बताउनुभयो । त्यसले नेपालको स्वतन्त्र परराष्ट्र नीतिको उल्लंघन गर्ने पुरीले बताउनुभयो ।

यस्तै, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले ५०/६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताउनुभयो । एमसीसी परियोजना संसदबाट कुनै पनि हालतमा पास गर्न नहुनेमा प्रवक्ता पुरीले जोड दिनुभयो ।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाले सम्बोधन गर्दै एमसीसीको पुष्ठभूमी सहित नेपालमा किन एमसीसी लागू गर्न खोजिँदैछ भन्ने स्पष्ट पार्नुभएको थियो ।

‘अमेरिकाको ट्विन टावरमाथि भएको आतंकवादी हमलापछि त्यहाँको संसदले सन् २००३ मा अमेरीकाले गरिब राष्ट्रहरुमा लगानी लगाउनु पर्दछ र त्यो लगानी अमेरीकाको स्वार्थ अनुसार हुनु पदर्छ भन्ने कानुन पारित गरेको थियो र त्यसै अनुसार सन् २००४ मा एमसीसी गठन गरेको हो’ उहाँले भन्नुभयो ।

नेपालमा पनि शेरबहादुर देउवाको पालामा नेपालमा पनि एमसीसी लागु गर्नु पर्छ भनिएको तर, त्यसलाई त्यसबेला एमसीसी गुपचुप राखिएको बुढाले बताउनुभयो । विरोध सभाको सञ्चालन राजमो काठमाडौं जिल्ला सचिव छवि खनालले गर्नुभएको थियो ।

परासी,

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरुद्धमा राष्ट्रिय जनमोर्चा नवपरासीले २०७७ जेष्ठ २६ गते विरोधसभा सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख वक्ता वामपन्थी नेता कृष्ण पौडेल हुनु हुन्थ्यो । सो अवसरमा मन्तव्य राख्दै्र उहाँले एमसिसी नेपाललाई अमेरिकाको पन्जामा बुझाउने रणनीतिअनुसार ल्याइएको बताउनुभयो । ‘यो राष्ट्रघाती सम्झौता हो, यसलाई संसदबाट पास गर्ने होइन, सिधै खारेज गर्नुपर्छ’ नेता पौडेलले भन्नुभयो । सो अवसरमा फरक प्रसङ्गमा कुरा राख्दै नेता पौडेलले कोरोनाको नाममा भ्रष्टाचार मौलाएको त्यसको जनस्तरबाट विरोध गर्नुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो ।

राजमो नवलपारसीका अध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षता तथा उत्तम खरेलको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटा, नेकपा (क्रान्तिकारी–माओवादी) का जिल्ला सदस्य पे्रम रिमाल, नेकपा (माले) का भरत पाण्डे, समाजसेवी देवी घिमिरे र राजमोका जिल्ला सदस्य इन्द्रकुमारी रोक्काले पनि मन्तव्य राख्नुभएको थियो ।

बागलुङ,

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै बागलुङमा विरोध सभा गरिएको छ । मंगलबार राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिकाको आयोजनामा तंग्राममा विरोध सभा सम्पन्न गरिएको हो ।

राष्ट्रिय जनमोर्चाका परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापाले अनुदानको नाममा देशलाई बन्धक बनाउन नहुने भन्दै देश महामारीमा रहेको बेला सरकारको नीति तथा कार्यक्रममा एमसीसी आउनु दुखद बिषय रहेको बताउनु भयो ।उहाँले एमसीसी सदनबाट पारित गरेर राष्ट्र माथि कुठाराघात नगर्न र राष्ट्रिय स्वाधीनता जोगाउन सम्पूर्ण जनताहरु एक हुन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा राजमो काठेखोलाका सचिव तथा काठेखोला गाउँ कार्यपालिका सदस्य टीका संगम बिक लगायतले मन्तव्य राख्नुभएको थियो ।

राजमो काठेखोला गाउँपालिका अध्यक्ष लक्ष्मण पुनको अध्यक्षता र कृष्ण बिकको सञ्चालनमा विरोध सभा सम्पन्न भएको थियो ।

गुल्मी,

राष्ट्रिय जनमोर्चा गुल्मीले सदरमुकाम तम्घासमा एमसीसी सम्झौता विरुद्ध बिरोध प्रदर्शन गरेको छ । राजमो जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्षयतामा अगाडि बढेको विरोध कार्यक्रमको सञ्चालन शंकरप्रसाद पोख्रेलले गर्नुभएको थियो ।

विरोध शभामा राजमो जिल्ला सदस्य हरि न्यौपाने र कमल अर्यालले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल जनाजाती सम्मेलन जिल्ला अध्यक्ष गुमान सिङ पुन, राजमो जिल्ला कोषाध्यक्ष टेक बहादुर केसीको पनि अथिथ्यता रहेको थियो ।

सामाजिक दूरी कायम राख्दै राजमो तम्घासको कार्यालयबाट ब्यानर तथा प्लेकार्डसहित अघि बढेको जुलुशमा सहभागीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, भारतीय सेना नेपाल भूमी छोड, भारतीय साम्राज्यवाद मुर्दाबाद, कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, राष्ट्रिय जनमोर्चा जिन्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दाबाद, जस्ता नारा लगाउँदै तम्घासको सहिद चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

अत्तरिया,

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय जनमोर्चा कैलालीको आयोजनामा सोमबार बिहान अत्तरिया चोकमा विरोध प्रदर्शन गरिएको हो ।

त्यसक्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले एमसीसी परियोजना संसदबाट कुनै पनि हालतमा पास गर्न नहुने बताउनुभयो । एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उहाँले चेतावनी दिनुभयो ।

कार्यक्रममा राजमो केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष नन्दराज भट्ट, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, जातीय समता समाजका महासचिव गोबिन्द बिक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष हिरा सिंह चन्द, युवक नेता प्रशान्त थापा लगायतले सम्बोधन गर्नुभएको थियो ।

आज राजमोले काठमाडौं लगायत देशैभरी एमसीसी विरुद्ध प्रदर्शन गर्ने जनाएको छ । कतिपय स्थानमा अन्य पक्षसँग मिलेर पनि राजमोले प्रदर्शन तथा सभाको आयोजना गर्ने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।

दाङ,

नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहित दाङमा कृयाशील पाँच राजनैतिक दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरुद्धमा विरोधसभा सम्पन्न गरेका छन् ।

विरोधसभामा बोल्ने वक्ताहरूले एमसिसी सम्झौता लागु भएमा देशको राष्ट्रियता, अखण्डता, स्वाधीनता कमजोर हुने तथा देशको असंलग्न परराष्ट्र नीतिको समेत धज्जी उड्ने बताए ।

कुनै पनि शर्तमा एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै वक्ताहरूले त्यो सम्झौता तत्कालै खारेज हुनुपर्ने कुरामा जोड दिए । विवादास्पद एमसिसी सम्झौताको देशव्यापी विरोध भइरहेका बेला सरकारले आव २०७७/७८ को बजेटमा उक्त सम्झौताको योजनासमेत अगाडि बढाएको भन्दै उनीहरू सरकारलाई खबरदारी गरे ।

कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य , नेकपा (क्रान्तिकारी–माओवादी) का केन्द्रीय सदस्य समीर केसी, नेकपा (माले) का जिल्ला सचिव नेत्रप्रकाश पाण्डे, देशभक्त जनगणतान्त्रिक मोचार्का जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडेलगायतले मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गर्नुभएको थियोे ।

बुटवल,

मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको बिरोध गर्दै सोमबार देशभर बिरोध गरिएको छ । एमसीसी सम्झौता राष्ट्रको हित विपरित भएको भन्दै नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जागरण परिषद्, नेपाल लगायतका बिभिन्न दलले रुपन्देहीको बुटवलमा पनि बिरोध गरेका छन् ।

संसदबाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हित बिपरित नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै सरकारको बिरोध गरेका छन् । सोही कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदीले एमसीसीका कारण बैदेशीक हस्तक्षेप बढेको बताउनु भयो ।

उहांले एमसीसी खारेज गर्नका लागि सरकारका बिरुद्व सशक्त प्रकारको आन्दोलन उठाउनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा रुपन्देही अध्यक्ष बद्रे आलमले सरकारले ल्याउन लागेको एमसीसी परियोजना संसद र सदनबाट फेल गराउनुको विकल्प नभएको बताउनु भयो ।

एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उहांको तर्क छ । उहांले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताउंदै कालापानी क्षेत्रको लिपुलेक लिम्पियाधुरा र भारतद्वारा ७१ ठाउंमा मिचिएको नेपाली भूमि फिर्ताका लागि अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी मालेका स्थायी समिति सदस्य गोपालमणि गौतमले संसदबाट एमसीसी पास गराएर सरकारले नेपाली जनतालाई झुक्काउन लागेको बताउनु भयो । नेकपा माओवादी केन्द्रका सचिव विनोद उपाध्यायले एमसीसी पास भए शिदेशीले नेपालको भूमिलाई प्रयोगशालाको रुपमा प्रयोग गर्ने भएकाले एमसीसी फेल गराउन आन्दोलन आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय जागरण परिषद् नेपाल, रुपन्देही अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको सम्झौताबाट अमेरिकन लगानी भित्राएर सरकारले नेपाली जनताको नाममा व्यापार गर्न लागेको दावी गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीको अध्यक्षता र मजीव ओलीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने विभिन्न दलका नेताहरुले विश्वभर फैलिएको कोरोना भाइरसबाट त्रसति हुन नहुने र कोरोना उपचार, रोकथाम तथा नियन्त्रणको विषयमा सरकारले उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् ।

पाल्पा,

एमसीसीको बिरोधमा राष्ट्रिय जनमोर्चा पाल्पाले तानसेनको आन्दोलन चोकमा बिरोध सभा सम्पन्न गरेको छ । जनमोर्चाको केन्दिय कार्यक्रम अनुसार देशका ७७ जिल्लामा बिरोध सभा गरिएको हो । बिरोध सभामा अखिल नेपाल युबक संघका केन्दिय अध्यक्ष अनिल किशोर घिमिरेले एमसीसीमा उल्लेखि बुदाहरु राष्ट्रको हितमा नभएको भन्दै अमेरिकाले संसारका बिभिन्न राष्ट्रहरुमा आफ्नो साम्राज्य बिस्तार गर्न लागेको आरोप लगाउनुभयो ।

राष्ट्रिय जनमोर्चाका केन्दिय सदस्य सोम कुमार कार्कीले एमसीसीको बिरोध गर्नुपर्ने कारण स्पष्ट पार्दै बर्तमान प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापती शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गराउन लागिपरेको बताउनुभयो । उहाँले तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अमेरिका सामुन्य लम्पसार परेको आरोप लगाउनुभयो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बिशाल दर्लामीले एमसीसी नेपालको हितमा नभएको र एमसीसीको सम्झौत च्यातेर बिरोध गरिएको बताउनुभयो ।

सुर्खेत,

एमसिसिको विरोधमा सुर्खेतमा प्रदर्शन गरिएको छ । राष्ट्रिय जनमोर्चाले आज सुर्खेतको वीरेन्द्रनगरमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विरुद्ध विरोध प्रदर्शनगरेको हो ।

जनमोर्चाको आज राष्ट्रघाती एमसीसी सम्झौताका खारेजीको माग गर्र्दै देशब्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेकोछ ।

वीरेन्द्रनगरको नेताचौकमा सामाजिक दुरी कायम राख्दै गरिएको जनाइएको छ । उक्त प्रर्दशनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रत्नविक्रम राना प्याशीले संसदमा विचाराधिन एमसीसी पारित गराएर सरकारले नेपाललाई अमेरिकी साम्राज्यवादको गुलाम बनाउन खोजेको भन्दै त्यसको खारेजीको माग गरे ।

केन्द्रीय सदस्य प्याशीले एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भन्ने कुरा स्वयं अमेरिकी सरकारी अधिकारीहरुले बोलिसकेका छन् र त्यो हिन्द प्रशान्त रणनीतिको अंग हो भन्ने कुरा सम्झौतामा उल्लेख भएका विषयहरुबाट पनि प्रष्ट हुन्छ । तर नेपाल सरकारले त्यसरी प्रष्ट भएको विषयलाई हिन्द प्रशान्त रणनीतिको अंग नभएको भन्ने भ्रम पैदा गरी संसदबाट पारित गराउने प्रयत्न गर्नु यो नेपाल र नेपाली जनताको स्वाभीमान माथिको हमला हो भन्दै प्याशीले अमेरिकी साम्राज्यवादको सेवा गर्ने नीतिको विरुद्धमा सम्पूर्ण देशभक्त नागरिकहरु एकढिक्का हुनु पर्ने बताए ।

सरकारका राष्ट्रघाती कार्यका विरुद्धमा सम्पूर्ण देशभक्त जनताको संयुक्त संघर्ष र आन्दोलन एकमात्र विकल्पको हो । यसर्थ राष्ट्रघाती सम्झौताका विरुद्धमा जनताको देशभक्तिपूर्ण संघर्ष र आन्दोलनले सरकारको राष्ट्रघाती प्रयत्नलाई असफल बनाउनेकुरामा दईमत नभएकाभन्दै सबैलाई भ्रममा नरही आन्दोलनमा होमिन आव्ह्वान गरेकाछन् ।

विरोध प्रर्दशनलाई सम्बोधन गर्र्दै राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले देशमा एमसीसी पारित भएमा नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त हुने बताए ।

असंलग्न परराष्ट्र नीति समाप्त भएमा नेपाल अमेरिकी साम्राज्यवादको खेमामा पुग्ने छ र अमेरिकी साम्राज्यवादी सैन्यक्रिडा स्थल बन्ने सुवेदीले ठोकुवा गरे । अध्यक्ष सुवेदीले त्यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा चुनौति सृजना हुने बताए । यसर्थ एमसीसी पारित गर्न खोज्नु गम्भीर राष्ट्रघात हुने बताए ।

एमसीसीविरुद्ध नेकपा (मसाल) लगायतका १० राजनीतिक दल तथा संगठनहरुले लगातार संयुक्त कार्यक्रम गर्दै आएका छन् भने राजमोले एकल आन्दोलन पनि गर्दै आएको छ ।

रौतहट,

राष्ट्रिय जनमोर्चा रौतहटले एमसीसी खारेजीको माग गर्दै सोमबार झुनखुनवा चौकमा विरोध प्रदर्शन गरेको छ । सामाजिक दूरी कायम राख्दै भएको विरोध प्रदर्शनको अध्यक्षता राजमो जिल्ला अध्यक्ष हरिकिशोर महतोले गर्नुभएको थियो ।

विरोध सभामा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य शेख कारीक, शेख नुरुलहक र प्रमोद साह तथा नगर कमिटीका अध्यक्ष लालबाबु साहले मन्तब्य राख्नुभएको थियो ।

जुलुशमा सहभागीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, भारतीय सेना नेपाल भूमि छोड, भारतीय साम्राज्यवाद मुर्दाबाद, कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो, राष्ट्रिय जनमोर्चा जिन्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दाबाद जस्ता नारा लगाएका थिए ।

जुलुश झुनखुनवा चोकमा पुगेर कोणसभामा परिणत भएको राजमो जिल्ला अध्यक्ष हरिकिशोर महतोले जनाकारी दिनुभयो ।

बारा,

राष्ट्रिय जनमोर्चाले देशब्यापी आयोजना गरेको एमसीसी विरुद्धको विरोध कार्यक्रम अन्तर्गत बारा जिल्लामा पनि प्रदर्शन भएको जानकारी प्राप्त भएको छ ।

अखिल नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य हरिप्रसाद भट्टराईका अनुसार सोमबार बाराको जितपुर सिमरा उपमहानगरपालिका १५ डुमरवाना बजारमा विरोध प्रदर्शन गरिएको हो । जुलुशमा सहभागीहरुले एमसीसी खारेजी तथा सिमानामा भारतीय हस्तक्षेपको विरोध गर्दै विभिन्न नारासहित बजार परिक्रमा गरेका थिए ।

राजमो प्रदेश समितिका कोषाध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षता भएको कार्यक्रममा राजमो केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष कर्ण बहादुर थापा र नेकपा (मसाल) बाराका प्रवक्ता रमेश भट्टराईले सम्बोधन गर्नुभएको थियो ।

शिक्षक महासंघका केन्द्रीय सदस्य हरिप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपक चौधरी, राजमो नेताहरु धर्मानन्द सुवेदी र जीवन भट्टराईको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार