नेकपा (नेकपा) आफै पर्यो पेचुवामा, फूट्ने की टुट्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली इतरका स्थायी कमिटी सदस्यहरुले पार्टीको विधि, विधान विपरित बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित भएको बताएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले विधान विपरित ओलीले एकलौटी ढंगले बैठक स्थगित भएको सूचना प्रवाह गर्नु अनुचित भएको निष्कर्ष निकालेका हुन् ।

यसअघि नै स्थायी कमिटीले आज बैठक बस्ने निर्णय गरेपनि विधान विपरित अर्का अध्यक्ष ओलीले स्थगित भएको सूचना प्रवाह गर्नु उचित नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । अध्यक्ष ओलीले वैठक स्थगित भएको सूचना प्रवाह गरेपछि दाहाल-नेपाल समूहका स्थायी समिति सदस्यहरुले अध्यक्षद्वयबीच थप छलफल गरी बैठक सुचारु गर्न दाहाललाई जिम्मेवारी दिने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘आजको बैठक यसअघिको बैठकले आज ११ बजे बैठक बस्ने निर्णय गरेको थियो । त्यसैको निरन्तरता हो । जुन बैठक अध्यक्ष कमरेड केपी ओलीले रोक्ने सूचना प्रशारित गर्नु पार्टी विधानविपरीत र अनुचित भएको थियो । आजको बैठकले एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको एकता रक्षा गर्न, पार्टीलाई विधि र पद्धति अनुसार अगाडि बढाउन र वर्तमान संकटलाई निकास दिन आ-आफ्नो भूमिका खेल्न पनि बैठकले नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

बैठकमा निर्णय गर्नुअगाडी अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई बैठकमा सहभागि हुन आग्रह गरेपनि ओलीले अस्वीकार गर्नुभएको उहाँले बताउनुभयो । आफुले यसअघि नै बैठक स्थगित गरेकाले उपस्थित हुन नसक्ने जवाफ ओलीले दाहाल र खनाललाई दिनुभएको थियो । प्रवक्ता श्रेष्ठले आगामी बैठकको मिति तय नभएको बताउनुभयो ।

पार्टीमा देखा परेको संकटलाई धैर्यताका साथ विवेकले समाधान गर्न अध्यक्षद्वयबीच छलफल जारी राखेर हर हालतमा एकताको रक्षा गर्नेगरी अगाडि बढ्ने उहाँले बताउनुभयो ।

पार्टी एकताको रक्षा गर्दै केन्द्रिय कमिटिले निर्णय गरेअनुसार महाधिवेशनको तयारी थालिने पनि उहाँले बताउनुभयो । बैठकमा २९ जना स्थायी समिति सदस्य र दुईजना आमन्त्रित सदस्य गरी ३१ जनाको सहभागिता रहेको थियो ।

प्रचण्ड अब ‘पछि हट्ने कि विभाजन रोज्ने’

दुईजना अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) मा पहिलो पटक पार्टी बैठक एकजनाले स्थगित गरेका छन् भने अर्का अध्यक्षले एक पक्षीय बैठक गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयको तर्फबाट स्थायी समितिको बैठक स्थगित भएको सूचना बिहान जारी भएपछि अर्का अध्यक्ष प्रचण्ड र उनलाई साथ दिइरहेका वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल सहितको बैठक भएको छ।

नेता भीम रावलका भनाइमा बैठकले प्रस्ताव पारित गरेको छ। उनले भने, “जसरी बैठक स्थगित भयो, त्यो अनुचित छ र त्यो बैठक पार्टीको विधि र परम्परा बमोजिम अगाडि बढाउनका निम्ति अध्यक्ष प्रचण्डले अर्का अध्यक्षसँग कुराकानी गर्ने प्रस्ताव पारित भएको छ।”

तर प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरूले त्यसलाई एउटा समूहको भेला भनेका छन्।

प्रचण्डको निम्तो प्रधानमन्त्रीद्वारा अस्वीकार

त्यसअघि प्रचण्ड र खनालले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी बैठकमा सहभागी हुन आग्रह गरेका थिए।

नेता रावलका अनुसार दुई नेताले बैठक स्थगित गर्ने निर्णय अनुचित भन्दै आपत्ति प्रकट गर्नुका साथै त्यो सच्याउन आग्रह गरेका थिए।

अर्का नेता हरिबोल गजुरेलले बैठकमा सहभागी हुन नेताद्वयको आग्रह ओलीले नमानेको बताए।

बैठकमा प्रचण्डले दिएको जानकारीबारे उनले भने, “प्रचण्डले प्रधानमन्त्रीलाई तपाईँले सल्लाह नगरी बैठक स्थगित गर्न मिल्ने थिएन, बैठकमा जाँउ फेरि अर्को दिन बस्ने गरी स्थगित गरौँला भन्नुभयो। तर प्रधानमन्त्रीले मान्नु भएन।”

प्रधानमन्त्रीको निर्देशनमा महासचिव विष्णु पौडेलले बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको बताइएको छ।

एक पक्षीय रूपमा किन स्थगित?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “अन्तै बैठक बसेर एजेण्डा र कार्यसूची बनाएर बैठकको निर्णय लेखेर आउन खोजेपछि दुईजना अध्यक्षबीच परामर्श र गृहकार्य बाँकी छ भनेर बैठक स्थगित भएको हो।”

उनका अनुसार सोमवार र मङ्गलवार भेट्ने भनिएको थियो तर “बैठक सुरुहुने अन्तिम समयसम्म प्रचण्ड नआएपछि बैठक स्थगित भएको हो।”

त्यसअघि प्रधानमन्त्रीसँग छलफलको निम्ति महासचिव पौडेलले प्रचण्डसँग सम्पर्क गर्न खोजेको तर त्यो प्रयास विफल भएपछि पौडेलले बैठक स्थगित गरेका बताइएको छ।

पछि प्रचण्ड सम्पर्कमा आए। तर पौडेलले बैठक स्थगित भएको र अर्का अध्यक्षसँग छलफल गर्न आग्रह गरेको थापाले जानकारी दिए।

त्यसपछि भेट्न गएका प्रचण्डलाई प्रधानमन्त्रीले “बैठक स्थगित भएकाले अब औपचारिक बैठक नहुने र आफ्ना पक्षकालाई केही जानकारी दिनुपर्ने भए दिन” भनेको बताइएको छ।

बामदेव गौतमको प्रस्तावको तरङ्ग

प्रचण्डले उक्त भेटबारे आफ्ना पक्षका नेताहरूको बैठकमा जानकारी दिए। जहाँ उपाध्यक्ष वामदेव गौतमले राखेको नयाँ प्रस्तावले नेकपामा फेरि तरङ्ग निम्त्याएको छ।

उनले ओलीलाई प्रधानमन्त्री पूरा कार्यकाल र अध्यक्ष महाधिवेशनसम्म रहन दिने प्रस्ताव गरेका छन्। त्यसले दुईमध्ये एक पद छोड्नुपर्ने मागमा धक्का पुर्‍याएको देखिन्छ।

 

नेता गजुरेलका अनुसार प्रचण्ड निकट नेता जनार्दन शर्माले पार्टी फुटे पनि जुटे पनि महाधिवेशनसम्म पुग्नुपर्ने भन्दै तत्काललाई पार्टी विभाजन टारेर महाधिवेशनसम्म पुग्ने विकल्पमा जोड दिएका थिए।

बैठकमा सहभागी अर्का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, “पार्टी ब्रेक हुने गरि निर्णय नगरौँ भन्ने हामीहरूले आग्रह गर्‍यौँ। अझै प्रयत्न गरौँ भनेर प्रचण्डलाई जिम्मा दिने सहमति भएको छ।”

सोमवार र मङ्गलवार प्रचण्डले आफ्नो निवासमा बैठक गरेका थिए। उक्त भेलाकै कारण उनी प्रधानमन्त्रीलाई भेट्न नगएको ओली पक्षको बुझाइ छ।

स्थायी समितिका एक सदस्यका अनुसार त्यहाँ दुई मध्ये एक पद छाड्न आग्रह गर्ने निर्णय गरेको सूचना ओलीलाई थियो।

तर माधव नेपाल पक्षका एक नेताले त्यो कुरा अस्वीकार गर्दै ‘नियमित एजेण्डामा छलफल अघि बढाउने’ सहमति भएको बताए।

दुई विकल्प

गौतमको प्रस्तावसँगै नेकपाभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको देखिन्छ। रामबहादुर थापाको पनि गौतमको जस्तै चाहना रहेको यसअघि नै सार्वजनिक भइसकेको छ।

त्यसैले सचिवालयमा ओलीको दुवै पद कायम राखेर अघि बढ्नुपर्ने पक्षमा बहुमत हुने देखिन्छ।

ओली पक्षका एक नेताका अनुसार यसअघिको बैठकमा सचिवालयबाट दुई अध्यक्षले सहमति गरेर प्रस्ताव लग्ने निर्णय भएको र त्यसै अनुसार अब सचिवालय बैठक बस्नुपर्ने छ।

ओली पक्षका एक नेताले वामदेव गौतमको प्रस्ताव मानेर पछि हट्ने वा पार्टी विभाजनको निम्ति बाटो खोल्ने गरी निर्णय गर्ने भन्ने दुई विकल्प प्रचण्डका सामू बाँकी रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार