नेकपा (मसाल) का ज्येष्ठ सदस्य चुमानसिंह केसीको निधन

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का ज्येष्ठ सदस्य चुमानसिंह केसीको निधन भएको छ । ८१ वर्षीय केसीको आज (सोमबार) बिहान नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दम रोगबाट पीडित केसीलाई कोरोना संक्रमणसमेत भएको थियो । केही दिन अघि भेरी अस्पतालमा भर्ना हुनुभएका उहाँको उपचारकै क्रममा बिहान ४ बजे निधन भएको राष्ट्रिय जनमोर्चाका बाँकेका उपाध्यक्ष जगदीश ढकालले जानकारी दिनुभयो ।

नेता केसीको आजै राप्ती नदीमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव तथा पूर्व सांसद हरि आचार्यले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा नेता आचार्यले कम्युनिष्ट आन्दोलनमा केसीले पुर्याएका योगदानबारे चर्चा गर्नुभएको थियो । चुमानसिंह केसी हरेक आन्दोलनमा अग्रपंक्तिमा उभिने नेता हुनुहुन्थ्यो भन्दै नेता आचार्यले उहाँबाट पार्टी र आन्दोलनको निरन्तरता तथा दृढता सिक्नुपर्ने गुण रहेको बताउनुभयो ।

‘चुमानसिंह केसी हरेक आन्दोलनमा अग्रपंक्तिमा खटिनुहुन्थ्यो । उहाँ २०६२/०६३ सालको जनआन्दोलनका घाइतेसमे हुनुहन्थ्यो’ आचार्यले भन्नुभयो, ‘उहाँको जीवनबाट हामीले आन्दोलनमा निरन्तरता, दृढता र इमान्दारिता सिक्नुपर्ने कुरा हुन् । चुमानसिंह कहिल्यै पनि कुनै खालको फुट तथा भड्कावलाई दृढतापूर्वक अस्वीकार गर्ने नेता हुनुहुन्थ्यो ।’

अन्त्येष्टिका क्रममा आयोजना गरिएको संक्षिप्त शोकसभामा राजमो पूर्वकेन्द्रीय सदस्य वाशुदेव पोखरेल, अखिल नेपाल युवक संघका महासचिव कृष्ण पाण्डे, बाँके जिल्ला अध्यक्ष भीमप्रसाद देवकोटा, उपाध्यक्ष जगदीश ढकाल, जिल्ला सदस्य परशुराम लामिछाने, शिक्षक संघका जिल्ला सचिव भूपति ढकाल, अखिल (छैठौं) का जिल्लाअध्यक्ष नवराज चन्दलगायत राजमो नेता कार्यकर्ता, स्थानीय र आफन्तको सहभागिता थियो ।

प्युठान जिल्लामा जन्मेका नेता केसी प्युठान–१ भाइरेचौरबाट २०३८ सालमा बर्दिया हुँदै हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ मुक्तिपुरमा बसोबास गर्नुभएको थियो । उहाँ २०३७ सालअघि नै प्युठानमै नेकपा (मसाल) मा आवद्ध हुनुभएको थियो ।

हाल नेकपा (मसाल) नेपालगञ्ज उपमहानगर समितिका सल्लाहकार रहेका चुमानसिंह (का. मानसिंह) का श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार