नेकपा (मसाल) सम्बद्ध जनवर्गीय संगठनहरुद्वारा आन्दोलन अगाडि बढाउने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) सम्बद्ध विभिन्न जनवर्गीय संगठनहरुले प्रतिगमन र नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध संघर्ष गर्ने तयारी गरेका छन् । बिहीबार बसेको संयुक्त भर्चुअल बैठकले आ–आफ्नो संगठनमा छलफल गरेर ठोस योजना ल्याउने निर्णय गरेको पार्टीका प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिनुभयो ।

बैठकमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा विभिन्न जनवर्गीय र पार्टी निकट संगठनका पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले कोरोनाले आक्रान्त पारेको मुलुकमा सबै राजनीतिक दलहरु मिलेर यसविरुद्ध लड्नुवर्ने अवस्थामा सरकारले एक पछि अर्को असंवैधानिक र प्रतिगामी कदम चालेको बताउनुभयो ।

अध्यक्ष केसीले भारतीय साम्राज्यवादका लागि नेपालको संसद घाँडो भएको उल्लेख गर्दै ओलीलाई प्रयोग गरेर संसद विघटन गरिएको बताउनुभयो । उहाँले नेपाललाई जनसांख्यिक आक्रमण गर्न भारतको दबाबमा सरकारले नागरिकता अध्यादेश ल्याएको भन्दै विदेशीलाई जथाभावी नागरिकता दिँदा देशको अस्तित्व नै खतरामा पर्नसक्ने बताउनुभयो ।

उहाँले कोरोना संक्रमणबाट जोगिँदै लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि अन्य दलहरुसँग पनि समन्वय गरेर कार्यक्रम गर्न जनवर्गीय संगठनका नेताहरुलाई निर्देशन दिनुभयो ।

बैठकपछि नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले जारी गर्नुभएको विज्ञप्तिमा बैठकले विभिन्न संघर्षका कार्यक्रमबारे विचार गर्दै विभिन्न ढङ्गले जनसंघर्षलाई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७८ जेष्ठ १३ गते नेपाल कम्युनिस्ट पार्टी (मसाल)को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा, पार्टीको सहायक संगठन अखिल नेपाल युवक संघ र विभिन्न जनवर्गीय, सामाजिक तथा पेशागत संगठनहरू अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक), अखिल नेपाल किसान संघ (अप्पा), अखिल नेपाल महिला संघ, अखिल नेपाल बुद्धिजीवि संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ), अखिल नेपाल जनजाति सम्मेलन, जातीय समता समाज, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल शिक्षक संघ, अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला), तराई–मधेश जनवादी मोर्चा, अखिल नेपाल खेलकुद महासंघ, अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा), मूलप्रवाह अखिल भारत नेपाली एकता समाज र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय पदाधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ ।

नेकपा (मसाल)का महामन्त्री कामरेड मोहनविक्रम सिंहको समेत गरिमामय उपस्थिति रहेको उक्त बैठकमा वर्तमान राजनीतिक परिस्थिति, कोरोना महामारी, प्रतिगमन, नागरिकता अध्यादेश आदि विषयमा गम्भीर रूपमा छलफल गरिएको थियो । बैठकले विभिन्न संघर्षका कार्यक्रमबारे विचार गर्दै विभिन्न ढङ्गले जनसंघर्षलाई अगाडि बढाउने निर्णय गरेको छ ।

२०७८ जेष्ठ १३ गते ।
रामप्रकाश पुरी
प्रवक्ता

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार