‘नेपालको वायु प्रदूषण खतरनाक तहमा’

काठमाडौं । विज्ञहरुले नेपालमा वायु प्रदूषणको अवस्था ‘खतरनाक तहमा’ पुगेको चेतावनी दिएका छन् । प्रदूषणको विवरण राख्ने वर्ल्ड एयर क्वालिटी इन्डेक्सले विश्वका दुई हजारभन्दा बढी सहरमा रहेका ३० हजार भन्दा धेरै मापन बिन्दुबाट संकलित विवरणमा काठमाडौंको अवस्था खराब देखिएको बीबीसीले जनाएको छ ।

काठमाडौंमा वायुको गुणस्तर खतरनाक तहमा अर्थात् ३०० भन्दा उच्च देखिएको छ भने धनगढी, दाङ, पोखरा र हेटौँडाजस्ता सहरमा समेत वायु निकै अस्वस्थ देखिएको छ ।

विगतका वर्षहरूका तुलनामा फरक यस पटक लामो समयसम्म आकाशमा तुवाँलो देखिनुलाई अधिकारीहरूले देशका दर्जनौँ ठाउँमा लागेका डढेलोलाई जिम्मेवार मानेका छन् । वर्षा र वायुको प्रणालीमा लामो समयसम्म परिवर्तन नदेखिँदा समस्या झन् जेलिएको मौसमविद्हरू बताउँछन् ।

सार्वजनिक रूपमा फोहोर बाल्ने, गाडीको सर्भिसिङ नियमित नगर्ने, नढाकीकन निर्माण कार्य गर्ने र नसुधारिएको प्रविधिबाट उद्योगधन्दा चलाउने हाम्रा व्यवहारका कारण समस्य बढेको त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागकी प्रमुख प्राध्यापक रेजिना मास्के ब्यान्जुको तर्क छ ।

उहाँका अनुसार नेपालमा वायु सफा हुने भनेको असार–साउनको वर्खायाममा मात्र हो । नत्र तह तलमाथि भए पनि अन्य बेला त्यो स्वास्थ्यकर छैन ।

यतिखेर अस्थिर वायुमण्डलका बीच चैते हुरी चल्ने समय भए पनि यस पटक त्यसो भएको देखिँदैन । अहिले देखिएको स्थिर वायुमण्डलका कारण मौसमी चक्रमा अन्तरसम्बन्ध हुने वायु र वर्षा दुवै हुन नसकेको मौसमविद्हरू बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाका अनुसार वायुमण्डलको माथिल्लो तहमा वहने जेटस्ट्रिम वायुको धारा अहिले सक्रिय हुन सकेको छैन भने वर्षा गराउनमा योगदान दिने पश्चिमी वायु र त्यसले तयार पार्ने निम्नचापीय क्षेत्र समेत यतिखेर बन्न सकेको छैन ।

विभागले कम्तीमा दुईदेखि तीन दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना नभएको जनाएको छ । तर पश्चिम नेपालका केही भागमा छिटपुट वर्षा हुनसक्ने जनाएको छ । अहिलेको तुवाँलो हट्नका लागि वातावरणविद्ले यसअघि देखि नै ठूलो वर्षा वा हुरी आवश्यक पर्ने बताउँदै आएका छन् ।

यस पटक नेपालमा लागेको डढेलोको तह कम्तीमा एक दशक यताकै ठूलो रहेको डढेलोविज्ञले बताएका छन् । हिउँदे पाँच महिनाको विवरण केलाउँदा यो वर्ष अहिलेसम्मकै उच्च ७३ जिल्लामा २,७०० भन्दा धेरै डढेलोका घटना देखिएका छन् ।

वायुको गुणस्तर खतरनाक तहमा पुग्नु भनेको सामान्य मानिसहरूको स्वास्थ्यमा समेत तत्काल देखिने असर पर्नु रहेको चिकित्सकहरू बताउँछन् । सामाजिक सञ्जालमा यसको असर उच्च तहको धूमपान बराबरकै हुने भन्दै चर्चा समेत चलेका छन् ।

वीर अस्पतालका श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञ डा. अशेष ढुंगानाका अनुसार धूमपान गर्दा हाम्रो शरीरमा जेजस्तो असर पर्छ यो तहको प्रदूषणले गराउने त्यही हो । त्यसमा दमदेखि मुटुको रोग गराउनेजस्ता पदार्थ छन् ।

लामो समय विषाक्त वायु भएको स्थानमा बस्दा गर्भवती महिलाले जन्माउने शिशुमा तौल कम हुनेदेखि विभिन्न दीर्घकालीन समस्या देखा पर्ने बताइन्छ। वायुमा हुने सूक्ष्म कण रक्त नलीसम्म पुग्ने भएकाले त्यसले मुटुदेखि स्नायु प्रणालीसम्मका समस्याहरू निम्तिन सक्ने चिकित्सकहरूको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार