‘नोट र फोन स्क्रीनमा २८ दिनसम्म बाँच्न सक्छ कोरोना भाइरस’

काठमाडौं । अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म बाँँच्न सक्ने बताएका छन्। अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय यो भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित रहनसक्ने बताएको बीबीसीले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले यो प्रयोग अँध्यारो अवस्थामा गरेका थिए । परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने वैज्ञानिकहरु बताउँछन् । तर कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शंका प्रकट गरेका छन्।

यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स–कोभ–२ भाइरस बैंक नोट वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो । भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएका थिए ।

अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा भने भाइरस निकै जन्ड देखिएको हो । मोबाइल फोनको स्क्रीनजस्तो सम्म सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित पाइयो । तुलनात्मक रूपमा फ्लु भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ ।

‘सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा यसको सङ्क्रमणको अनुमान तथा नियन्त्रण गर्न सजिलो हुन्छ र मानिसहरूलाई जोगाउन सकिन्छ’ उक्त निकायका प्रमुख कार्यकारी डा ल्यारी मार्शलले बताए ।

तर कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्व प्रमुख प्राध्यापक रन एकल्सले उक्त अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर ‘आम मानिसमाझ अनावश्यक त्रास’ फैलने बताए। उनले सङ्क्रामक भाइरस सतहमा टाँसिएका म्युकसमा केवल केही घण्टा नकि दिन बाँच्न सक्ने दाबी गरे ।

गत साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन् ।

यो भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्छ । अध्ययनहरूले हावामा तैरने कणमा यो भाइरस ३ घण्टासम्म सङ्क्रामक रहन सक्ने देखाएका छन्। तर यो बैंक नोट वा फोनका टचस्क्रीनबाट कति सर्छ भन्ने कुरा चाहिँ पूर्ण निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार