न्याय सम्पादनमा त्रुटि भए सच्याइने सर्वोच्चको स्पष्टोक्ति

काठमाडौँ । सर्वाेच्च अदालतले न्याय सम्पादनमा त्रुटि भए सच्याइने स्पष्टोक्ति दिएको छ । गत केही दिनदेखि अदालतको फैसलाबारे आइरहेका समाचार, टिकाटिप्पणी र गतिविधिप्रति ध्यानाकर्षण भएको भन्दै सर्वोच्चले स्पष्टोक्ति दिएको हो ।

सोमबार विज्ञप्ती जारी गर्दै सर्वाेच्चका प्रवक्ता भद्रकाली पोख्रेलले अदालतमा दर्ता हुने विवादको निरुपण संविधान, कानुन र न्यायका मान्य सिद्धान्तबमोजिम हुने र अदालतबाट भएका फैसला वा आदेश विरुद्ध चित्त नबुझेमा निर्धारित विधि र प्रक्रियाअनुरूप उपचार खोज्न सकिने बताउनुभयो ।

अदालतबाट फैसला वा आदेश भइसकेपछि ती फैसला वा आदेश सार्वजनिक स्वामित्वको विषय बन्ने भन्दै अदालतका फैसला वा आदेशमाथि स्वच्छ टिप्पणी वा आलोचना र प्राज्ञिक छलफल वा बहस हुन सक्ने पोखरेलको भनाइ छ ।

न्यायपालिकाका कामकारबाहीको बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टिकाटिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ ध्यान दिन विज्ञप्तीमा आग्रह गरिएको छ ।

न्याय सम्पादनको क्रममा हुन सक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियानुरूप अदालतबाटै हुने मान्यतालाई संवैधानिक कानुनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित गरिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार