पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका खटेका एभिन्युज र प्राइम टेलिभिजनका पत्रकारमाथि भएको आक्रमणको विरोध गरेको छ ।

त्यसका साथै महासङ्घले आक्रमणकारीमाथि कारबाही गर्न र क्षति पुगेको सामग्रीको क्षतिपूर्ति दिन पनि माग गरेको छ ।

२०७८ असार २१ गते महासचिव रोसन पुरीको हस्ताक्षरमा जारी प्रेसविज्ञप्तिमा महासङ्घले यस्तो माग गरेको हो ।

विज्ञप्तिमा अगाडि भनिएको छ–

“समाचार सङ्कलनका क्रममा एभिन्युज टेलिभिजन र प्राइम टेलिभिजनमा कार्यरत पत्रकारमाथि पिङ्गलास्थानस्थित प्यारागन पब्लिक स्कुलको व्यवस्थापनबाट भएको आक्रमण र सञ्चार सामग्री तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्यारागन स्कुलले लकडाउनको अवस्थामा पनि विद्यार्थीबाट मनोमानी हिसाबले शुल्क लिन खोजेपछि सोको विरोधमा अभिभावक आन्दोलनमा छन् । सोही विषयमा आज बिहान ११ः३० बजे समाचार सङ्कलनका लागि स्कुल पुगेका एभिन्युज टेलिभिजनका पत्रकार सरोज पौडेल, सुरेश रजक र शीतल रिजाल तथा प्राइम टेलिभिजनका दीपक अर्याल र सुन्दरबहादुर गुरुङमाथि स्कुल प्रशासनमा कार्यरत साहिर उदिन भन्ने व्यक्तिले आक्रमण गर्नुका साथै दुवै टेलिभिजनको क्यामेरा र बुममा क्षति पुर्याइएको पीडित पत्रकारले महासङ्घमा जानकारी गराएका छन् ।

नागरिकलाई सुसूचित गराउने पेसागत कर्ममा जुटिरहेका पत्रकारमाथि भएको आक्रमण र सञ्चार सामग्री तोडफोडको घटनाले पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रतामा हस्तक्षेप भएको महासङ्घको ठहर छ । महासङ्घ पत्रकारको संवैधानिक अधिकारमाथि आघात पु¥याउने यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र क्षति पुगेका सञ्चार सामग्रीको क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसँग माग गर्दै महासङ्घ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न स्कुल प्रशासनको पनि गम्भीर ध्यानाकर्षण गराउँछ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार