पत्रकार बस्नेतको कोरोनाका कारण मृत्यु

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना सङ्क्रमणका कारण ३२ वर्षको अल्पायुमै निधन भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन हप्तादेखि रूपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेलमा उपचाररत बस्नेतको सोमबार दिउँसो उपचारकै क्रममा निधन भएको हो ।

दाङको बबई गाउँपालिका–४ निवासी पत्रकार बस्नेत एक दशकदेखि दाङमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पत्रकार बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् ।

दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रूपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य हुनुहुन्थ्यो ।

पत्रकार बस्नेतको असामयिक निधनको खबरले नेपाल पत्रकार महासङ्घ स्तब्ध र दुःखी भएको जनाएको छ । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको सोमबार एक विज्ञप्ति प्रकाशित गरी जनाइएको छ ।

कोरोनाकै कारण हालसम्म १४ जना पत्रकारको निधन भएको छ भने ८ सयभन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको छ ।

कोरोना सङ्क्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेसागत कर्ममा जुट्न महासङ्घले सबै पत्रकारमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार