परिवर्तन

धेरै परिवर्तन भएछौ तिमी त ।
पढन भनेर शहर पसेका
गाउँका रामे तिमी त,
शहरका कलेजहरुमा
माइकल भएछौं ।
धेरै परिवर्तन भएछौ तिमी त ।

राता गालाहरुमा रगत सुकिसके छन्
तिमी त गेरुवा भएछौं
वलिष्ठ तिघ्राहरु गलिसके छन् तिम्रा
तिमी त लुरे भएछौ ।
अनुहारमा जनु रौनक थियो
त्यो त तिमीले बेची खाइसकेछौ

त्यसैले त होला,
तिमीलाई अँध्यारो देख्छु म,
तिमी त कालो भैसकेछौ ।
गाउँमा “मोटे काजी” भनेर चिनिएका तिमी त
शहर पसेपछि सुकुटे भएछौं ।
धेरै परिवर्तन भएछौ तिमी त ।

शहरको हावाले छोएछ कि तिमीलाई
फेन्सीडिल को नशाले छोपेछ कि तिमीलाई
तिमी त हामीलाई नचिन्ने भएछौ ।
धेरै परिवर्तन भएछौ तिमी त ।

क्रान्तिको हुँकार भर्ने गीत गाउने तिमी त,
अँग्रेजी, पप र र्याप गाउने भैसकेछौ ।
राष्ट्रियता ठूलो धन मान्ने तिमी त,
राष्ट्रियता विकाउने भै सकेछौ ।
सत्य नै सर्वस्व ठान्ने तिमी त,
झुटको खेती गर्ने भै सकेछौ ।
त्यसैले त म देख्छु
तिमी त हरेक पल
सफलता र सभ्यताको ओरालो लाग्दैछौ ।
तिमी त तिम्रो पुख्र्यौली अस्तित्व सहित
पश्चिमी सभ्यताको खोक्रो कार चढेर
साम्यवादको कल्पना गर्दैछौ ।
आमुल परिवर्तनको सपना देख्ने तिमी त
भौतिकवादीबाट कल्पनिक समाजवादी भैसकेछौ
धेरै परिवर्तन भएछौ तिमी त ।

भौतिकवादको रकेट चढेर तिमी त
परिवर्तनको चन्द्रमामा पुगी सकेछौ ।
अनुहारमा प्लास्टिक सर्जरी ग¥यौ कि क्या हो,
कसैले नचिन्ने भएछौ तिमी त ।
धेरै परिवर्तन भएछौ तिमी त ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार