पशुपतिमा पुजा गर्ने ओलीले हिन्दु राज्य बनाउन खोज्दैछन्ः अध्यक्ष केसी

बसन्त खड्का,

अर्घाखाँची ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउनतर्फ उद्दत रहेको बताउनुभएको छ । राजमो अर्घाखाँचीको ले शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले ओली भारतपरस्त भएको आरोप पनि लगाउनु भयो ।

उहाँले भौतिकवादी कम्युनिस्ट पार्टीको अध्यक्ष पशुपतिमा पुजा अर्चना गर्नु तेसैको ताजा उदाहरण भएको तर्क गर्नुभयो ।

संघीयताको विरोध गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका केसीले अन्य पार्टीहरुलाई संघीयता आजका दिनमा न्याउरी मारी पछुतो भएको बताउनुभयो । जनतालाई करको भारी मात्रै बोकाउन संघीयता थोपरिएको भन्दै उहाँले यो व्यवस्था देशको हितमा हुनै नसक्ने बताउनु भयो ।

उहाँले एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नभएको भन्दै चीनलाई घेरामा पार्ने उद्देश्यले एमसीसी परियोजन ल्याउन बल गरिएको बताउनुभयो ।

देशमा कलकारखाना उद्योग धन्दा नभएको, गर्नुपर्ने काम नगरेर गलत बाटो हिँडेकोले समस्या मात्रै थोपरिएको नेता केसीले उल्लेख गर्नुभयो । जनता एकजुट भएर संघीयता फाल्न र धर्म निरपेक्षता र गणतन्त्र जोगाउन उठ्न अपिल समेत गर्नुभयो ।

चुनावको नाममा देशमा अस्थिरता खडा गरेको भन्दै अध्यक्ष केसीले देशमा बिरामीले औषधी नपाउने, बालबालिकाले पुस्तक नपाउने बरु त्यो खर्च त्यता लगाए केही राहत हुने बताउनु भयो ।

देशमा बाह्य शक्तिको चलखेल बढी भएकोले अब गणतन्त्र पनि खतरामा रहेको भन्दै अध्यक्ष केसीले अब सबै एकजुट भएर लागि पर्नुपर्ने आवस्यकता रहेको बताउनु भयो । जनताले सधैँ एेक्यबद्द भएर देशमा ठूला ठूला परिवर्तन भएकोले जनतानै सबैभन्दा शक्तिशाली रहेको कुरामा दुबिधामा नपर्न अनुरोध गर्नुभयो ।

यस्तै, राजमो केन्द्रीय सदस्य मनोज भट्टले शेरबहादुर देउवा पनि ज्योतिषिको भ्रममा परेर प्रधानमन्त्रीको लोभ त्याग्न नसकेको बताउनु भयो ।

उहाँले पहिलेका दिनमा पनि प्रधानमन्त्री पदको लागि शेरबहादुर देउवाले जस्ता पनि निकृस्ट काम गर्ने गरेको उदाहरण दिँदै अब देउवा र नेपाली कांग्रेस पनि समयमै सच्चिएर संयुक्त आन्दोलनमा आग्रह गर्नुभयो।केपी ओली अब नांगिसकेको भन्दै भट्टले नांगो नाच धेरै दिन नटिक्ने उल्लेख गर्नुभयो ।

राजमो पूर्व केन्द्रीय सदस्य झबिलाल थापा, सागर केसी,शेरबहादुर बिसी, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा जिल्ला सचिव कल्पना पोख्रेल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता, जिल्ला सचिव बाबुराम पन्थीको सञ्चालन तथा उपाध्यक्ष गोपाल पौडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रमको बिच बिचमा रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले जनवादी गित तथा नृत्य प्रस्तु गर्नुभएको थियो ।

सभा सुरु हुनु अघि राजमो पार्टी कार्यालयबाट निकालिएको र्‍यालीले बजार परिक्रमा पछि सन्धिखर्कको टुंडिखेलमा पुगी सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार