पार्टीका पत्रकारहरु अन्य पत्रकार भन्दा वेग्लै हुनुपर्दछ : सिंह

नयाँ दिल्ली । ने.क.पा. (मसाल) काम महामन्त्री मोहनविक्रम सिंहले पार्टी संगठनबाट परिचालित पत्रकारहरु अन्य पत्रकारहरु भन्दा वेग्लै हुनु पर्ने बताउनु भएको छ । सिंहले सो धारणा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको मातहतमा रहेको प्रकाशन बोर्डको प्रशिक्षणात्मक बैठकमा प्रमुख अतिथिको आसनबाट सम्बोधनको दौरानमा प्रकट गर्नु भएको हो ।

महामन्त्री सिंहले नेताहरुले गर्न नसकेका काम पार्टीका पत्रकारहरुले गर्नुपर्ने समेत जोड दिनु भयो । “यो पार्टीको ६० वर्षको इतिहाँसमा विभिन्न प्रकाशनहरुका माध्यमबाट एवं प्रत्यक्ष रुपमा हामी कहिले अराजकतावाद, कहिले अवसरवाद, कहिले शशोधनवाद त कहिले मध्यपन्थी विचारसँग संघर्ष गर्यौं ।” सिंहले भन्नु भयो– “पार्टी प्रकाशनहरुलाई हामीले जुन स्तरमा रहेता पनि ठिकसँग परिचालन गर्नु पर्दछ ।”

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, समाजका महासचिव ठाकुर खनाल, नेपाली समाचार साप्ताहिकका सहसम्पादक धनवीर पुन लगायतले प्रकाशनको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

अध्यक्ष केसीले विगत र वर्तमानको परिदृश्यलाई ठिकसँग पहिल्याएर नै अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । “इतिहाँसमा हामी मासिक प्रकाशनमा सिमित थियौं, त्यस पछि साप्ताहिकमा र वर्तमानलाई मुल्यांकन गरेर नै हामीले आफ्नो प्रकाशन बोर्डको रुपमा संगठनका प्रकाशनलाई व्यवस्थापन गरेका छौं ।” केसीले भन्नु भयो– “युगलाई ठिकसँग र परिवर्तन भएको अवस्थालाई मुल्यांकन गरे नै प्रिंट संस्करण र अनलाईन संस्करण दुबैलाई अगाडि बढाएका छौं ।” मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समितिको मातहतमा रहेर अझै फराकिलो र व्यपापक रुपमा विस्तार गर्ने उदेश्यका साथ नै प्रकाशन बोर्ड गठन गरेको केसीले थप जोड दिनु भयो ।

महासचिव ठाकुर खनालले पत्रकारीता र मिशन पत्रकारीताको विषयमा प्रकाश पार्नु भएको थियो । जनताका जल्दा बल्दा समस्यालाई ठिकसँग पहिचान गर्नु र त्यसलाई समाजका बीचमा प्रस्कृत गर्नु पर्ने बताउनु भयो ।

सह–सम्पादक धनवीर पुनले पत्रकारीतालाई पनि संगठन परिचालनको माध्यम बनाएर लैजानु पर्ने आवश्यकतामा जोड दिनुभएको थियो । पत्रकारीतामा प्रवेश गरिसके पछि, आफूलाई अरु पत्रकारहरु जस्तै नभई फरक प्रकारले प्रस्तुत गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रम समाजका केन्द्रीय सचिव प्रेम पौडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य कुल बहादुर बगालेको सञ्चालन र ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारणबाट अगाडि बढेको थियो । कार्यक्रममा प्रकाशन बोर्डका सदस्य चन्द्रकान्त शर्माको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

कार्यक्रममा ज्ञानप्रसाद शर्मा, चन्द्रकान्त शर्मा, खिमराज चालिसे, त्रिभुवन भट्टराई, राजकुमार रायमाझी, दिनेश खड्का लगायतका साथीहरुले महत्वपूर्ण सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार