पार्टीको क्रान्तिकारी छबिविरुद्ध भ्रम छर्ने प्रवृति नयाँ होइन : केसी

जनकराज पौडेल,

दक्षिण भारत ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (मसाल)को क्रान्तिकारी छबिविरुद्ध प्रहार गर्ने र भ्रम छर्ने प्रवृति नयाँ नभएको बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा आज सम्पन्न प्रशिक्षण कार्यक्रममा अध्यक्ष केसीले पार्टीमाथि हमलाको लामो श्रृंखला रहेको बताउनुभएको छ ।

उहाँले विगतदेखि नै पार्टीमाथि विभिन्न ढंगबाट आक्रमण हुँदै आएको स्मरण गर्दै पार्टीको स्पष्ट वैचारिक राजनीति र कार्यकर्ताहरुको प्रष्ट दृष्टिकोणका कारण त्यस्ता प्रवृतिहरु पराजित हुँदै आएको स्पष्ट पार्नुभयो । पार्टी विरोधी तत्वहरुले विभिन्न कालखण्डमा पार्टीप्रति भ्रम छर्ने गरेको र त्यो शिलशिला अहिले पनि कायम रहेको उहाँले बताउनुभयो । उहाँले अहिले पनि पाटी बाहिर र भित्रैबाटसमेत आक्रमण भएको उल्लेख गर्दै त्यो क्षणिक भएको बताउनुभयो ।

केसीले नेपालको कम्यूनिष्ट आन्दोलनमा देखिँदै आएका विभिन्न विकृतिबारे स्पष्ट पार्नुभएको थियो । पार्टीभित्र देखिँदै आएका अनुशासनहीन गतिविधि तथा अराजक तत्वहरुले छर्दै आएका भ्रमलाई संगठनमा स्थापित विधि पद्धति तथा अनुशासनबाट परास्त गर्नुपर्ने उहाँले बताउनुभयो ।

संगठनको अनुशासन उल्लंघन गरी कार्वाहीमा परेका केही ब्यक्तिले संगठनकै नाम र पद दुरुपयोग गर्दै संगठन विरोधी गतिविध गर्ने कार्य हास्यस्पद भएको केसीले बताउनुभयो । उहाँले विगतमा पनि यस्ता तत्वहरु बेला मौकामा देखिने गरेको उहाँले भन्नुभयो ।

कार्यक्रममा राजमोका महासचिव मनोज भट्टले संसदीय प्रणालीको उपयोगबारे स्पष्ट पार्नुभएको थियो । उहाँले प्रधानमन्त्री केपी ओलीले चालेका असंवैधानिक र प्रतिगामी कदमले देशलाई गम्भीर राजनीतिक संकटमा फसाउँदै जाने र राष्ट्रियता संकटमा पार्ने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता चुनाव हो कि जनताको जीवनरक्षा भनि प्रश्न पनि गर्नुभयो ।

त्यस्तै, राजमो नेता आनन्द शर्माले कोरोना भाइरस महामारीले देशनै आक्रान्त भएको अबस्थामा जनताको जीवन रक्षामा सरकार उदाशीन भएको बताउनुभयो । अर्को प्रशंगमा उहाँले संगठनको अनुशासन नमान्ने, निर्णयहरु उल्लंघन गर्ने, अराजक गतिविधि गर्न तल्लिन तत्वहरुलाई समयमा नै चिनेर वैचारिक प्रतिवाद गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महासचिव ठाकुर खनाल, मूल प्रवाहका नेताहरु मदन शर्मा, भगवति कुँवर, चोवनाथ शर्मा, मोहराज चालिसे, केवि थापा, चन्द्रकान्त शर्मालगायतको आतिथ्यता रहेको थियो ।

प्रशिक्षण कार्यक्रमको अध्यक्षता जुगराज राँहु मगरले गर्नु भएको थियो ।क्षेत्रीय सचिव जनकराज पौडेलको सञ्चालनबाट अघि बढेको कार्यक्रममा सहभागीलाई गोविन्द शर्माले स्वागत गर्नु भएको थियो । कार्यक्रममा दक्षिण भारत क्षेत्र अन्तर्गतका सबै जसो नगर समितिहरुबाट सहभागिता रहेको थियो । कार्यक्रममा खिमानन्द शर्माले धन्यबाद ज्ञापन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार