पिलर हटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

पुष्कर भट्ट, कञ्चनपुर ।
कञ्चनपुरमा नेपाल भारत सीमा सर्भे टोलीले नेपाली भूमिमा गाडेका जंगे पिलर हटाउन माग गर्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । अतिक्रमित नेपाली भूमि फिर्ता गराउन र स्ट्रिप नक्सा पुरावलोकन गर्न माग गर्दै शुक्रबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत राजमोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको हो ।

ज्ञापन पत्रमा अहिले भइरहेको स्ट्रिप नक्सा अनुसारको सीमा सर्भेले नेपाली भूमि वैधानिक रुपमै भारततर्फ पर्न गएको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । यदी नेपाली भूमि मिचेर सीमा सर्भे कायम राखिए त्यस विरुद्ध आन्दोलन गर्ने पनि राजमोले चेतावनी दिएको छ ।

हालै कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारत सीमा सर्भे टोलीले गरेको सीमा निर्धारणका क्रममा वर्षौंदेखि नेपाली जनताले खेतीपाति गरिरहेको लालपुर्जावाला जमिनमा सीमा पिलर गाडिएपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयले बेल्डाँडीमा सीमा पिलर तोडेका छन् भने राजमोले घटनास्थलमै पुगेर नेपाली सर्भे टोलीले बदमासी गरेको भन्दै विरोध जनाएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम ईन्चार्ज मनोज भट्टको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्र बुझाउन राजमो केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष नन्दराज भट्ट, किसान महासंघका नेता हरिकृष्ण पान्डे, राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्की, अखिल (छैठौं) का महासचिव महेशराज जोशी, राजमो प्रदेश सदस्य लक्षीराम आचार्य, कैलालीका सचिव जगत जोशी, कैलालीका कोषाध्यक्ष बिक्रम बिक विद्यार्थी नेता महेश भट्टलगायत नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

यस्तो छ, ज्ञापन पत्र

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार