पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउन मसालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले सरकारसँग राष्ट्रिय एकता दिवस कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

‘पृथ्वीनारायण शाहले राज्यविस्तारको अभियान जुनसुकै उद्देश्य राखेर शुरु गरेको भएपनि त्यसको दीर्घकालिक परिणामको रुपमा एकीकृत नेपालको निर्माण हुन गएको थियो ।’ विज्ञप्तिमा भनिएको छ, ‘आजको एकीकृत नेपालको निर्माणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान रहेको कुरा प्रष्ट छ ।’

मसालले देशको राष्ट्रियता, क्षेत्रीय अखण्डता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै नेपाललाई सार्वभौमिक स्वतन्त्र र स्वाधीन मुलुकको रुपमा कायम राखिराख्न पनि सबैले योगदान दिनुपर्नेमा जोड दिएको छ ।

यस्तो छ विज्ञप्ति
‘हामीले विगतबाट नै जोड दिँदै आएका छौँ र अहिले पनि जोड दिन चाहन्छौँ, आजको दिन (पौष २७ गते) लाई राष्ट्रिय एकता दिवसको रुपमा नै मान्नुपर्दछ र त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्दछ ।
बिभिन्न सामन्ती राज्यमा अवस्थित रहेको नेपालको एकीकरण अभियानलाई पृथ्वीनारायण शाहले अगाडि बढाएका थिए ।

त्यही अभियानको सिलसिला बिभिन्न समयमा अगाडि बढेर आजको एकीकृत नेपालको निर्माण भएको थियो । त्यसरी आजको एकीकृत नेपालको निर्माणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान रहेको कुरा प्रष्ट छ ।

पृथ्वीनारायण शाहले राज्यविस्तारको अभियान जुनसुकै उद्देश्य राखेर शुरु गरेको भएपनि त्यसको दीर्घकालिक परिणामको रुपमा एकीकृत नेपालको निर्माण हुन गएको थियो । अहिले त्यो नेपालको राष्ट्रियता, क्षेत्रीय अखण्डता र सामाजिक सद्भावको रुपमा कायम रहेको छ । त्यसको संरक्षण र सुरक्षा गर्दै त्यसलाई समृद्ध बनाउनु अहिलेको राष्ट्रिय आवश्यकता र कर्तव्य पनि हो ।

त्यो सन्दर्भमा हामीले नेपालको एकीकरणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानको कदर र सम्मान गर्दछौँ । देशको राष्ट्रियता, क्षेत्रीय अखण्डता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै नेपाललाई सार्वभौमिक स्वतन्त्र र स्वाधीन मुलुकको रुपमा कायम राखिराख्न हामी सबैले योगदान दिनुपर्दछ र दिंदै जानुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार