पूँजीवादी संविधानबाट जनताका आधारभूत समस्याको समाधान सम्भव छैनः मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले बर्तमान संविधान पूँजीवादी प्रकारको संविधान भएकोले यसबाट जनताको आधारभूत समस्या समाधान हुन नसक्ने र देशको वास्तविक विकास पनि सम्भव नहुने बताएको छ ।

पाचौं संविधान दिवसका अवसरमा मसालले एक वक्तव्य प्रकाशित गरि मसालले विद्यमान अर्धसामन्ति र अर्ध औपनिवेशिक व्यवस्थालाई समाप्त गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रेशित वक्तव्यमा संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता सहित कैयौँ सकरात्मक पक्षहरुको कार्यान्वयनमा जोड दिँदै संघीयतासहित कतिपय नकरात्मक पक्षको खारेजी गर्नुपर्ने बताउनुभएको छ ।

यस्तो छ वक्तव्य

१. आज संविधान दिवसको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी(मसाल)ले नेपालको संविधानको कार्यान्वयन र सुरक्षाको आवश्यकतामा व्यापक राष्ट्रिय ऐक्यवद्धताको आवश्यकतामा जोड दिन्छ ।

२. संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता सहित कैयौँ सकरात्मक पक्षहरु छन् र हामीले तिनीहरुलाई सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ तर अर्कातिर त्यसमा भएका संघीयता सहित कतिपय नकरात्मक पक्षहरुको हामीले प्रारम्भदेखि नै विरोध गर्दै आएका छौँ र तिनीहरुलाई खारेज गराउनका लागि हाम्रो संघर्ष लगातार अगाडि बढिरहने कुरा पनि हामीले स्पष्ट गर्न चाहान्छौँ ।

३. आजको देशको विशिष्ट स्थितिमा नेपालको संविधानको सकरात्मक र प्रगतिशील महत्व छ । तैपनि अन्ततः त्यो पुँजीवादी प्रकारको संविधान हो । त्यसैले त्यसद्वारा जनताका आधारभूत समस्याहरुको समाधान र देशको बास्तविक विकास सम्भव छैन । त्यसका लागि विद्यमान अर्धसामन्ति र अर्ध औपनिवेशिक व्यवस्थालाई समाप्त गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले त्यसका लागि आधार वा परिस्थिति तयार पार्न लगातार प्रयत्न गर्दै आएको छ र हाम्रो त्यो नीति लगातार अगाडि बढिरहने छ ।

४. अहिलेको संविधानमाथि देशभित्रका वा बाहिरका प्रतिक्रियावादी शक्तिहरुले लगातार हमला गरिरहेका छन् । राजावादीहरुले गणतन्त्र र धर्मनिरिपेक्षतालाई समाप्त गरेर राजतन्त्रको पुर्नस्थापना वा नेपाललाई हिन्दु राष्ट्र बनाउनको लागि योजनावद्ध प्रकारले अभियान चलाइरहेका छन् । पृथकतावादीहरुले राष्ट्रिय विखण्डनका लागि संविधानमा संशोधन गर्न आन्दोलन गरिरहेका छन् । भारतीय साम्राज्यवादले पनि सबै प्रतिगामी वा पृथकतावादी शक्तिहरुका त्यस प्रकारका प्रयत्नहरुलाई सफल पार्न शक्ति लगाइरहेको छ । त्यसरी नेपालको गणतन्त्र, राष्ट्रियता र धर्मनिरिपेक्षताका अगाडि उपस्थित गम्भिर प्रकारको खतराका विरुद्धको संघर्षमा व्यापक राष्ट्रिय ऐक्यवद्धता कायम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

५. कैयौँ देशहरुमा गणतन्त्र पक्षधर शक्तिहरुका गलत नीति वा क्रियाकलापहरुका कारणले गणतन्त्र समाप्त भएकावा समाजवाद पक्षधर शक्तिहरुका गलत नीति वा क्रियाकलापहरुका कारणले समाजवादी व्यवस्थाको अन्त भएका उदाहरण पनि विश्वभरमा पाइन्छन् । त्यस प्रकारको पृष्ठभूमिमा आज गणतन्त्रको पक्षधर सरकार वा सत्तारुढ राजनीतिक शक्तिहरुका गलत नीति वा क्रियाकलापहरुका कारणले पनि गणतन्त्रको आधार कमजोर हुँदै गएको र त्यसबाट प्रतिगामी शक्तिहरुलाई फाइदा पुगिरहेको वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यो अवस्थामा हामीले सबै देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुका विरुद्धको संघर्षमा मुख्य जोड दिनुका साथै स्वयम् गणतन्त्र पक्षधर सरकार वा सत्तारुढ राजनीतिक शक्तिहरुका गलत नीति र क्रियाकलापहरुप्रति उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने तथा सम्झौताहीन प्रकारले संघर्ष गर्नुपर्ने आवश्यकताप्रति पनि हामीले जोड दिन्छौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार