प्यूठान–रुपन्देही सम्पर्क मञ्चद्वारा मिर्गौला पीडितलाई सहयोग

श्यामलाल पोखरेल,

बुटवल। प्यूठान झिमरुक गाउँपालिका ८ टिमुरचौर निवासी मिर्गौला पीडित इश्वरादेवी रोकाको उपचार भैरहेको छ । दुवै मिर्गौला फेलभएपछि ५२ वर्षीया इश्वराको बुटवलको रामनगरस्थित मुटु अस्पतालमा डायलासिस भैरहेको छ । मिर्गौला पीडित इश्वराको उपचारका लागि आर्थिक र भौतिक सहयोग उठ्न थालेको छ ।

२५ महिनादेखि बुटवलको मुटु अस्पतालमा उपचार गरिरहेकी इश्वरालाई प्यूठान रुपन्देही सम्पर्क मञ्चले सहयोग गरेको छ । आर्थिक अभावले उपचार गर्न नसकेर घर फर्किन लागेको अवस्थामा इश्वरालाई पाँच हजार नगद र पाँच हजारको खाद्यान्न सहयोग गरिएको प्यूठान रुपन्देही सम्पर्क मञ्चका सचिव श्यामलाल पोखरेलले जानकारी गराउनुभयो ।

डायलासिसका लागि हप्ताको दुई दिन प्यूठानबाट बुटवल आउने सम्भावना नभएपछि इश्वराको परिवार डेरा लिएर बुटवलमा बस्दै आएको छ । श्रीमान जेदबहादुर र छोरी शान्ता रोकासँगै डेरामा बस्दै आएकी पीडित इश्वराको परिवार उपचारको लागि आर्थिक समस्यामा परेको छ ।

आर्थिक अभावका कारण इश्वराको उपचारमा समस्या आएपछि मिर्गौला पीडित इश्वराका श्रीमान जेदबहादुरले सहयोग मागेपछि अहिले सहयोग उठ्न थालेको हो । सामान्य कृषि गरेर जीविका निर्वाह गर्दै आएको रोका परिवार ठूलो धनराशी खर्च गरेर उपचार गराउन सक्ने अवस्थामा छैन ।

बुटवलमा बसेर उपचारमा खटिएको रोका परिवारलाई अहिले दैनिक रुपमा खानुपर्ने औषधि र अन्य साँझ विहानको खर्च जुटाउन धौधौ भएको छ । डायलालसिस निःशुल्क भएपनि औषषिलगायत अन्य दैनिकी खर्च चलाउन नसकेर रोका परिवार समस्यामा परेको हो ।

मासिक रुपमा औषधिका लागि ६ हजार, डेराभाडा २ हजार विद्युत पानी र अन्य खानाखर्च जुटाउन समस्या भएपछि घर फर्कने अवस्था आएको जेदबहादुरले गुनासो गर्नुभयो । श्रीमतीलाई सन्चो गराउने ठूलो इच्छा बोकेर बुटवल झरेका जेदबहादुर अहिले आर्थिक अभावले तनावमा छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार