प्रतिनिधि सभा विघटन राजनीतिक घटना हो : मीना पुन (भिडियो)

काठमाडौँ । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले प्रतिनिधि सभा विघटन राजनीतिक घटना भएको बताउनुभएको छ । महिला राष्ट्रपति भएका कारण अहिले प्रतिनिधि सभा विघटन भएको हो कि भन्ने जिज्ञासाको प्रत्युत्तरमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

आज राजधानीमा चार महिला सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनपछि युगदर्शनलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

‘अहिलेको घटना राजनीतिक घटना हो’ महिला सङ्घकी अध्यक्ष पुनले भन्नुभयो– ‘महिला वा पुरुष राष्ट्रपति भएका कारणले यो राजनीतिक घटना घटेको होइन ।’

उहाँको ठहर थियो– ‘देशमा महिला राष्ट्रपति भएका कारण अहिले मुलुकमा यस्तो अवस्था आएको हो भन्ने मलाई लाग्दैन ।’

सुन्नुहोस् महिला नेतृ पुनको प्रतिक्रिया

‘हाम्रो देशको राष्ट्रपति संवैधानिक राष्ट्रपति हो’ उहाँले भन्नुभयो– ‘मुख्यतः प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्ले प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि उहाँले त्यसलाई सदर गर्नुपर्ने हुन्छ ।’

उहाँले राष्ट्रपतिभन्दा पनि प्रधानमन्त्री ओलीमा अधिनायकवादी प्रवृत्ति देखा परेको बताउनुभयो ।

‘प्रधानमन्त्री ओलीको अधिनायकवादी सोचाइकै कारणले जनमतमाथि विश्वासघात भएको छ’ उहाँले भन्नुभयो– ‘ओली मन्त्रिपरिषद्को सिफारिस राजनीतिक स्थिरतामाथिको पनि कुठाराघात हो ।’

उहाँले जनताको लामो सङ्घर्षपछि प्राप्त गणतन्त्रमाथि आँच पुगेकाले चार महिला सङ्गठनले सङ्घर्षको कार्यक्रम घोषणा गरिसकेको बताउनुभयो ।

‘शुक्रबारदेखि संवैधानिक इजलासले सुनुवाइ सुरु गर्दै छ’ उहाँले भन्नुभयो– ‘तर यो राजनीतक विषय भएकाले हामी सबै महिला सङ्गठन एक भएर आन्दोलनको घोषणा गरेका हौँ ।’

अदालती प्रक्रियाबारे उहाँले भन्नुभयो– ‘त्यो अदालतको कुरा हो, हामीलाई आसा गरेका छौँ, अदालतले प्रतिनिधि सभा पुनस्र्थापनाबारे फैसला दिने छ ।’

उहाँले अहिले प्रारम्भिक रूपमा चार महिला सङ्गठनले मात्र आन्दोलनको घोषणा गरेको बताउनुभयो ।

‘सत्तारूढ नेकपा, नेपाली काङ्ग्रेसलगायत सबै महिला सङ्गठनसित आन्दोलनको बारेमा कुराकानी भइरहेको छ’ उहाँले भन्नुभयो– ‘उहाँहरूले आआफ्ना राजनीतिक पार्टीको औपचारिक निर्णय कुरिरहनुभएको छ ।’

उहाँले थप्नुभयो– ‘हामीलाई आसा छ, हामी सबै महिला सङ्गठन मिलेरै सङ्घर्ष गर्ने छौँ । हामी सबै महिला सङ्गठन प्रतिनिधि सभा पुनस्र्थापनाको विषयमा एक हुने छौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार