प्रधानमन्त्री ओलीकै अगाडि केसीको व्यंग्य : कुरा जस्तो कुरा गरे चित्त फाट्ने…

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको झगडा देखाएर ‘दुनियाँ नहसाउन’ सुझाव दिनुभएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि पनि विजेता जस्तो गरेर हिँड्नु राम्रो संकेत नभएको केसीले बताउनुभएको छ ।

रिपोर्टस क्लवको २३ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीकै अगाडि केसीले व्यंग्य गर्नुभयो, ‘कुरा जस्तो कुरा गरे चित्त फाट्ने, नाच जस्तो नाच गरे घाँघर फाट्ने ।’

सरकारले विघटन गरेको संसद अदालतले पुनर्स्थापना गरिसकेपछि पनि एकाथरी मान्छेहरु विघटनलाई राम्रो छ, ठिक छ भनिरहेको भन्दै केसीले देशलाई संसदविहीन, अभिभावक बनाउनु राम्रो हो ? भनेर प्रश्न गर्नुभयो ।

‘नेकपाभित्रको अन्तरकलह र झगडाको शिकार नेपाल राष्ट्र भइरहेको छ । एउटा पार्टीभित्रको झगडाको शिकार संसद हुनुपर्ने, जनताले दुःख पाउनुपर्ने अवस्था आयो । नेकपाभित्रको झगडाको परिणाम राष्ट्र र जनताले ब्यहोर्नुपर्ने ?’ केसीले भन्नुभयो, ‘सर्वोच्चले संसद विघटन गर्ने कदम सच्याइसकेपछि पनि त्यो काम गर्ने साथीहरु अहिले विजेता जस्तो गरेर हिँड्नुभएको छ । यो राम्रो संकेत होइन ।’

उहाँले संसद विघटन गरेको कुरालाई राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै विरोध गर्दै आएको पनि प्रष्ट पार्नुभयो । अहिले पनि सत्तापक्ष संसदलाई कामविहीन बनाएर फेरि पनि चुनावमा जान चाहेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

केसीले भन्नुभयो, ‘कसैलाई नराम्रो लागे लागोस् । नेकपाको दुई तिहाई सरकार विघटन गरेर चुनावमा जाने हो ? के देश र जनताले यही खोजेका हुन् ? संसदले पुनर्स्थापना गरेपछि पनि फेरि त्यही बाटोमा जाने जनताको मत हो ?’

संसद पुनर्स्थापना भएको एक महिना भइसक्दासमेत सरकारले संसदलाई विजनेस नदिएर संसद चल्न नदिएकै केसीले आरोप लगाउनुभयो ।

अध्यक्ष केसीले अहिले शक्ति राष्ट्रहरुले आ–आफ्नो स्वार्थ अनुरुप गोटी चालिरहेको बताउनुभयो । यही भुंग्रोमा सबैले रोटी सेकिरहेका र फेरि पनि मुलुकलाई प्रतिगमनतिर लैजाने योजना रहेको केसीले बताउनुभयो । उहाँले पूर्वानेकपालाई पार्टी एकता सम्भव नभएपनि मोर्चा बनाएर जान सुझाव पनि दिनुभयो ।

‘जे सुकै भएपनि नेकपाभित्र फुटेर यताउता भएकाले कार्यगत गरेर, मोर्चा बनाएर जानुहोस् । दुनियाँ किन हँसाउनुहुन्छ ? अझै दुई वर्ष बाँकी छ । त्यसपछि चुनावमा जाउँला’ केसीले भन्नुभयो, ‘देशको राष्ट्रियता, सार्वभौकिता र अखण्डता गम्भीर अवस्थामा छ । राष्ट्रियता, सार्वभौकिता र अखण्डतामाथि सौदाबाजी गरेर सत्तामा बस्ने होइन । त्यसको रक्षाका लागि सत्तामा बस्ने हो ।’

अध्यक्ष केसीले पहिले सिंहदरबार भित्र हुने किनबेच, लडाईं अब ८ ठाउँमा भइरहेको भन्दै संघीयता खारेज गरेर विकृति रोक्न आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार