काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन्त्री बनाउन दुई जना व्यक्तिहरुमार्फत सन्देश पठाएको खुलासा गर्नुभएको छ । ओलीले केही समयअघि तत्कालिन मन्त्री टोपबहादुर रायमाझी र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पठाएर आफूलाई मन्त्रीको अफर गरिएको जानकारी दिनुभयो ।
पौडेलका अनुसार मन्त्री रायमाझी र प्रेस सल्लाहकार थापाले छुट्टाछुट्टै रुपमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई भेटेर आफूलाई मन्त्री बन्नको लागि प्रस्ताव गरेको बताउनुभयो । त्यसको बदलामा राष्ट्रिय जनमोर्चाले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारलाई समर्थन गर्न आग्रह गरिएको पौडेलको भनाई छ ।
‘प्रधानमन्त्री केपी ओलीले मोहनजी (मसाल महामन्त्री मोहनविक्रम सिंह) लाई भेट्न आफ्ना प्रेस सल्लाहकार सूर्य थापा र तत्कालिन मन्त्री टोपबहादुर रायमाझीलाई पठाउनुभएको थियो । उहाँहरुको प्रस्ताव मलाई मन्त्री बनाउने र बदलामा पृथ्वीसुब्बा नेतृत्वको गण्डकी सरकारलाई समर्थन गरिदिनुपर्यो भन्ने आग्रह थियो’ पौडेलले भन्नुभयो, ‘तर, हाम्रो पार्टीको नीति ओली सरकारलाई समर्थन नगर्ने रहेको भन्दै उहाँले प्रस्तावलाई ठाडै अस्वीकार गरिदिनुभयो ।’
यस्तै, अर्थमन्त्री विष्णु पौडेलले पनि मसाल महामन्त्री सिंहसँग भेटेरै कुरा गर्न चाहेको उपाध्यक्ष पौडेलले बताउनुभयो । ‘मोहनजीसँग भेट गराइदिनुपर्यो । बसेर छलफल गरौं’ अर्थमन्त्री पौडेलको भनाई उदृत गर्दै नेत्री पौडेलले भन्नुभयो, ‘हाम्राबीचमा सहकार्य गरेर जाँदा राम्रो हुन्छ ।’
जवाफमा नेत्री पौडेलले मोहनविक्रम सिंहलाई भेटेर पार्टीको नीति परिवर्नत नहुने भन्दै प्रधानमन्त्रीले भेटे पनि कुनै अर्थ नहुने बताउनुभएको थियो । गण्डकीमा राष्ट्रिय जनमोर्चाको निर्णायक भूमिकाका कारण एमाले नेतृत्वको सरकार ढलेर हाल कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ ।
यसअघि पौडेलललाई उपसभामुख बन्न तत्कालिन नेकपाले प्रस्ताव राखेको थियो । नेकपा(एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि सभामुख र उपसभामुख दुवै पदमा एकै दलका व्यक्ति जान नमिल्ने संवैधानिक व्यवस्थाअनुसार नेकपाले पौडेललाई उपसभामुखका लागि प्रस्ताव गरेको थियो । तत्कालिन महान्यायाधिवक्ता अग्नि खरेल उपसभामुखको प्रस्ताव लिएर अध्यक्ष चित्रबहादुर केसीकहाँ आएको तर पार्टीले अस्वीकार गरेको पौडेलले स्मरण गर्नुभयो ।
अध्यक्ष केसीले संसदमा आफ्नो पार्टीका तर्फबाट एक जनामात्रै सदस्य रहेको र उपसभामुख बनेपछि पार्टीले संसदमा खेल्ने राजनीतिक भूमिका समाप्त हुने भन्दै सो प्रस्तावलाई अस्वीकार गरिदिनुभएको थियो । यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले सोमबार दिएको अभिव्यक्तिप्रति नेत्री पौडेलले आपत्ति जनाउनुभएको छ ।
सोमबार मदन भण्डारीको स्मृतिमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्रभागमा राखेर काम गरेको आरोप लगाउनुभएको थियो । उहाँले आफ्ना एकजना प्रतिनिधिलाई जसरी भएपनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको दाबी गर्नुभएको थियो ।
प्रधानमन्त्रीले आफै मन्त्री बनाउन दूत पठाएको तर, आफै मन्त्रीको लागि कांग्रेसको पछि लागेको भनेर हास्यास्पद कुरा गरेको पौडेलले बताउनुभयो । उहाँले प्रधानमन्त्री ओली एक पछि अर्को असंवैधानिक काम गर्दै सत्ता टिकाउने प्रयास गर्दागर्दै असफल हुने अवस्था आएपछि असन्तुलित टिप्पणी गर्न लागेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनका नेताहरुलाई तुच्छ आरोप लगाएको उहाँले टिप्पणी गर्नुभयो । सोमबार आयोजित कार्यक्रममा ओलीले ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउन मलाई बहुला कुकुरले टोकेको छ र ?’ भन्नुका साथै शेरबहादुर देउवा र प्रचण्डलाई पनि विभिन्न आक्षेप लगाउनुभएको थियो ।