प्रवासी नेपालीको व्यवस्थापनका लागि राजमोको सुझाव के छ ? एक पटक अवश्य पढौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतबाट स्वदेश फर्कने नेपालीलाई सिमानामा बाटो छेक्दा लुकिछिपि आउने गरेका र त्यसले झन् जोखिम बढएको बताएको छ ।

बुधबार अध्यक्ष चित्रबहादुर केसीले घर आउन चाहने नेपालीहरुलाई सहजरुपमा आउन दिन र क्वारेन्टिनसहितको आवश्यक प्रवन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

भारतमा अप्ठ्यारोमा परेका नेपालीहरुबारे सरकारले कुनै चासो नराखेको बताउँदै केसीले नेपालीहरु कैयौं दिनसम्म बालबच्चा सहित पैदल हिंडेर नेपालको सीमामा आउने गरेको बताउनुभएको छ ।

भारतले नेपालीहरुलाई सिमा क्षेत्रमा ल्याएर अलपत्र छाड्ने र नेपालले बाटो छेकेर बस्दा उनीहरुमाथि अमानवीय व्यवहार भएको भन्दै प्रवासी नेपालीको व्यवस्थापनमा गम्भीर हुन केसीले आग्रह गर्नुभएको छ ।

यस्तो छ वक्तव्यः

‘भारतस्थित नेपालीहरुको अवस्थाबारे राष्ट्रिय जनमोर्चाले गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरुको अवस्थाबारे ध्यान दिनका लागि नेपाल सरकारसँग माग गर्दछ । कोरोना भाइरसको संक्रमणपछि भारतस्थित नेपालीहरुको जीवन पीडादायी र कष्टमय बन्न पुगेको छ । बिभिन्न क्षेत्रमा काम गर्ने नेपालीहरुको ठूलो संख्याले अत्यन्त कष्टसाध्य जीवन बिताउनु परेको छ ।

उनीहरु ठूलो संख्यामा बेरोजगार बन्न पुगेकोले उनीहरु बेखर्ची भई भोकभोकै बस्नुपरेको छ । धेरै नेपालीहरुसित राशनकार्ड वा आधारकार्ड नभएकोले उनीहरुलाई राहत पनि प्राप्त हुने गरेको छैन । यसप्रकारको स्थितिमा उनीहरुलाई खर्च चलाउन कठिन हुन गई ठूलो मानसिक पीडा पर्न गएको छ र कतिपयले आत्महत्या गरेका समाचार पनि प्राप्त हुने गरेका छन् ।

शुरुमा क्वारेन्टाइनमा राखिएका नेपालीहरुलाई जबर्जस्ती र अपमानजनक किसिमले त्यहा“बाट हटाउन थालिएको छ । त्यो विश्व स्वास्थ्य संगठनको प्रोटोकल विरुद्धको कुरा हो । विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार महामारीको अवस्थामा कुनै विदेशी नागरिकलाई यथास्थानमा सम्बन्धित देशको सरकारले उनीहरुको त्यहीँ व्यवस्था गर्नुपर्दछ । तर भारतमा ठूलो संख्यामा नेपालीहरुको त्यसरी व्यवस्था भइरहेको छैन ।

अन्य देशहरुका नेपालीहरुलाई वर्गीकरण गरेर प्राथमिकताका आधारमा नेपाल ल्याउनका लागि विभिन्न देशका राजदुतहरुले त्यसप्रकारको व्यवस्था गर्न नेपाल सरकारलाई प्रतिवेदन पठाएको भन्ने सुन्नमा आएको छ । तर भारतमा धेरै नै अप्ठ्यारोमा परेका नेपालीहरुबारे सरकारले कुनै चासो राखेको देखिंदैन ।

त्यो अवस्थामा नेपालीहरुले कैयौं दिनसम्म बालबच्चा सहित पैदल हिंडेर नेपालको सिमामा आउने गरेका छन् । अहिले भारतमा विभिन्न स्तरका प्रशासनले पनि नेपालीहरुलाई बढीभन्दा बढी संख्यामा सिमामा ल्याएर छाड्ने काम गरिरहेका छन् । त्यहाँ आइपुगेपछि पनि उनीहरुलाई नेपाल आउन दिइन्न । त्यसरी नत यथास्थानमा व्यवस्था गर्नका लागि नेपाल सरकारले पहल गरेको छ नत विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार भारतले नेपालीहरुसित व्यवहार गरिरहेको छ । यो अवस्थामा नेपालीहरुको जीवन कष्टमय बन्न गएको छ र उनीहरुले जटिल प्रकारको तनाव बेहोर्नुका साथै बेसहारा बन्नुपरेको छ ।

त्यसप्रकारको वाध्यात्मक स्थितिमा कतिपय नेपालीहरु लुकीछिपी नेपालमा प्रवेश गर्ने र त्यसको परिणामस्वरुप देशव्यापी कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । सरकारको गलत नीतिको कारण त्यसप्रकारको स्थिति सृजना भइरहेको छ । सरकारले आफ्नो गलत नीतिलाई सच्चाएर कोरोना भाइरसको संक्रमण हुनबाट देशलाई बचाउने दायित्व बहन गर्नुपर्दछ । सरकारले भारतका बिभिन्न स्थानमा अप्ठेरोमा परेका नेपालीहरुलाई वैधानिक प्रकारले नै नेपालमा ल्याएर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने र आवश्यक स्वास्थ्य चेकजाँचको समेत व्यवस्था गर्नुपर्दछ । यसो गर्न सकेमा मात्र उनीहरुको समस्याको समाधान हुनाको साथै अवैधानिक वा लुकीछिपी प्रवेश हुँदैन र कोरना भाइरसको संक्रमणको सम्भावना पनि कम हुने छ ।

समस्या भारतस्थित नेपालीहरुको मात्र नभएर कोरोना भाइरसको कारणले मलेसिया, खाडिका देशहरु वा अन्य देशहरुका नेपालीहरु पनि अप्ठ्यारोमा परेका छन् र उनीहरुले नेपाल आउन खोजिरहेका छन् । हामी जोड दिन चाहन्छौं र माग गर्दछौं कि आफ्नो देशका नागरिकहरुलाई नेपाल आउनबाट रोक्न अनिश्चित कालसम्म सम्भव हुँदैन र त्यसप्रकारको तरिका अपनाइ रहेमा त्यसको परिणाम गलत हुन जान्छ । त्यसैले सरकारले जस्तोसुकै कठिन परिस्थितिमा पनि उनीहरुको लागि तात्कालिक रुपमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइन तथा दीर्घकालीन रुपमा उनीहरुलाई रोजगारी दिने योजना बनाएर काम गर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार