प्रवासी नेपालीहरुलाई नेपाल सरकारले सम्बोधन गर्न नसक्नु दुःखद : केसी

नयाँ दिल्ली । कोरोना भाइरसले मानव समाजलाई विश्व भरि नै भयभित र त्रसित बनाइरहेको अवस्थामा पनि नेपाल सरकारले आफ्नो देशका प्रवासी नागरिकहरूलाई सम्बोधन गर्न नसक्नु दुःखद भएको अन्तर्राष्ट्रिय नेपाली एकता समाजले बताएको छ । गत शनिबार सम्पन्न समाजको छैठौं भेलाद्वारा निर्वाचित अध्यक्ष दुर्गा बहादुर केसीले प्रेस वक्तव्य जारी गरि सरकारले प्रवासी नेपालीहरुप्रति उत्तरदायी हुने गरि सम्बोधन गर्न नसक्दा प्रवासी नेपालीहरूलाई रेमेटेन्सको श्रोत मात्रै मानेको भन्दै सरकारको आलोचना गर्नुभएको हो ।

अमेरिका, स्पेन, इटली, जर्मनी, फ्रान्समा संक्रमित एवं मृतकहरूको संख्या अत्याधिक भएको, अन्य देशहरूमा पनि कोरोना संक्रमितहरु बढिरहेको र त्यसमा कैयौं नेपालीहरू पनि परेका छन् । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले सोही विज्ञप्ती मार्फत मृतकहरुप्रति श्रद्धान्जली एवं परिजनहरुप्रति समवेदना प्रकट गर्दै संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

सो विज्ञप्तीमा अध्यक्ष केसीले लकडाउनका कारणले भारतका विभिन्न शहरहरुबाट स्वदेश फर्किने क्रममा नेपाल–भारत सीमानामा अलपत्र परेकाहरुप्रति सरकारको उदासिन व्यवहारप्रति दुःख प्रकट गर्नु भएको छ । “उनीहरूका लागि आवश्यक व्यवस्था वा संरक्षण गर्नु नेपाल सरकारको दायित्व हुन जान्छ । त्यसरी नेपाल र भारतका दुवै सरकारहरूले पारस्परिक र दुईपक्षीय जिम्मेवारी लिनुपर्ने हुन्छ” केसीले विज्ञप्तीमा उल्लेख गर्नु भएको छ । सीमानामा अलपत्र परेका नेपालीहरूको उद्दार गरि आवश्यकता अनुसार क्वारेनटाइनहरूमा राख्न र व्यवस्थापन गर्न समाजले विज्ञप्ती मार्फत सरकारसित अनुरोध गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई रोक्न आवश्यक सामाजिक एकतान्तता एवं लकडाउनको अवस्थाले वैश्वीक स्तरमै आर्थिकमन्दी भई कैयौं उद्योगहरु बन्द हुने, उद्योगहरूमा छटनी गर्ने या वेतन घटाउने सम्भावना बढेर गएको छ । त्यसले ठूलो आर्थिक लागानी गरेर तेस्रो मुलुक पुगेका नेपाली श्रमिकहरू माथी थप आघात पुग्ने भन्दै समस्याको समाधनका लागि समय मै आवश्यक पहकदमी गर्न समाजले नेपाल सरकार र त्यसका सम्बन्धित पक्षहरुसँग अनुरोध गरेको छ ।

समाजको छैटौं भेला ४ अप्रेल २०२० का दिन सम्पन्न भएको थियो । भिडियो कन्फ्रेन्स मार्फत सम्पन्न सो भेलाले अध्यक्षमा दुर्गा बहादुर केसी (भारत) लाई र महासचिवमा लुमाकान्त पुन (कतार)लाई चयन गरेको छ ।

त्यस्तै, उपाध्यक्षमा तोयनाथ कडेल (वेल्जीयम), सचिवमा देव नारायण पोख्रेल (बहराईन), कोषाध्यक्षमा शक्तमान बुढाथोकी (हङ्गकङ्ग), सदस्यहरूमा ठाकुर खनाल (भारत), बिदुर शर्मा (दक्षिण कोरिया), हिमाल थापा (युरोप), कृष्ण के.सी. (युएई) राजकुमार धिताल (साउदी अरब) खुम रायमाझी (कुवेत), गोबिन्द बिष्ट (मलेसिया), डम्बर कार्की (दक्षिण कोरिया), छबिलाल बस्नेत (ओमन), शालिक राम सापकोटा (जापान), दिपक परियार (अमेरीका), गोपाल सापकोटा (जापान), जय बि.क. (युएई), हेमन्त वाईवा (कतार) रहनुभएको छ । भेला पछि सम्पन्न प्रथम बैठकले धनवीर पुन (भारत), हेमलाल गौतम (जापान), विष्णु पुन (दक्षिण कोरिया), देवेन थापा (साईप्रस) र दुर्गा शर्मा (स्पेन)लाई सल्लाहकार चयन गरेको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार