फुटपरस्त तत्वका विरुद्धमा सम्पूर्ण स्तरका कार्यकर्ता एकजुट हौं : मूल प्रवाह

काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहिल्यै निष्काशित देवबहादुर लामिछानेले सङ्गठनको लेटरप्याड दुरुपयोग गरेको बताएको छ ।

निष्काशित लामिछानेले आफूलाई केन्द्रीय उपाध्यक्षको रूपमा प्रस्तुत गर्दै केही दिनअघि सम्पन्न भएको भनिएको सुदूर पश्चिमको कथित भेलालाई समर्थन गरेर प्रेसवक्तव्य जारी गरेपछि एकता समाजले यस्तो धारणा व्यक्त गरेको हो ।

समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा अगस्त २७, २०२१ का दिन जारी प्रेसवक्तव्यमा फुटपरस्त गतिविधिलाई अघि बढाउन लेटरप्याड दुरुपयोग गरेको बताइएको छ ।

महत्त्वाकाङ्क्षी प्रवृत्तिका कारणले लामिछानेले फुटपरस्त गतिविधि गरिरहेको बताउँदै वक्तव्यमा त्यसको सामना गर्न कार्यकर्तालाई निर्देशन गरिएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ–

“२७ अगस्त २०२१ का दिन साँझ देबबहादुर लामिछानेद्वारा हाम्रो सङ्गठनको केन्द्रीय समितिको लेटरप्याड दुरुपयोग भएको छ । उनले २०७८ भदौ ८–९ गते कैलालीको धनगढीमा राष्ट्रिय जनमोर्चाको नामबाट भएको कथित सुदूर पश्चिमोत्तरको भेलाप्रति समर्थन जनाउँदै वक्तव्य जारी गरेका छन् । लामिछानेको उक्त वक्तव्यले उनी पहिलेदेखि नै सङ्गठनमा फुटपरस्त गतिविधिमा संलग्न थिए भन्ने प्रमाणित भएको छ । सङ्गठनको नीति, नियम, पद्धति, अनुशासनमा नबसेकै कारण देवबहादुर लामिछानेलाई सङ्गठनबाट निश्काशित गरिएको थियो, अहिले पनि उनले निरन्तर सङ्गठनमा फुट पार्न कोसिस गरिरहेका छन् ।

हाम्रो सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले देवबहादुर लामिछानेलाई गत मार्च २०–२१, २०२१ मा सम्पन्न नवौँ बैठकले सङ्गठनबाट निश्काशित गरिसकेको विषय सर्वत्र अवगत छ । अहिले उनै निश्काशित व्यक्तिले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नाम, झन्डा र लेटरप्याड समेत दुरुपयोग गरी भ्रम सिर्जना गर्ने कोसिस गरिरहेका छन् । उनको त्यो गतिविधिको उदेश्य मूल रूपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा फुट पार्नु नै हो ।

उनले भारत प्रवासमा रहेका श्रमजीवी नेपालीहरूको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा फुट पार्न खोज्नुको मुख्य कारण उनमा रहेको पदीय महत्त्वाकाङ्क्षाले नै काम गरिरहेको छ । उनलाई सङ्गठनले ६ महिनापहिला नै सङ्गठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिसकेको थियो । तर उनले अहिले पनि आफूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय उपाध्यक्षकै रूपमा प्रस्तुत गरिरहेका छन् । यसबाट उनमा भएको चरम पदीय महत्त्वाकाङ्क्षा रहेको पुष्टि हुन्छ । त्यसैले त्यस प्रकारका महत्त्वाकाङ्क्षी, फुटपरस्त तत्त्वका विरुद्धमा सम्पूर्ण स्तरका कार्यकर्ता एकजुट भएर सामना गर्न समेत निर्देशन गर्दछौँ ।

हामी यो स्पष्ट गर्न चाहन्छौं कि सङ्गठनको नीति, विधान, पद्धति र अनुशासनका विरुद्ध कुनै पनि प्रकारका कार्यक्रम र गतिविधिप्रति भारत प्रवासमा रहेका श्रमजीवी नेपालीको छाता सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको समर्थन रहने छैन । २०७८ भदौ ८ र ९ गते धनगढीमा राष्ट्रिय जनमोर्चाको नामबाट भएको कथित सुदूर पश्चिमको भेलाप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कुनै प्रकारको समर्थन नरहेको यसै वक्तव्यमार्फत जानकारी गराउँछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार