बढ्दो आत्महत्या : जटिल समस्या

कृष्ण अधिकारी

१० सेप्टेम्बर अर्थात भाद्र २५ गते नेपालमा पनि विश्व आत्महत्या दिवस मनाइयो । मानिसलाई आत्महत्याको नकरात्क पाटोप्रति सचेत गराउन यो दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संगठनले विश्व स्वास्थ्या संगठन तथा तथा विश्व मानसिक स्वास्थ्य संगठन मिलेर सन् २००३ देखि आत्महत्या रोकथाम दिवस मनाउन थालेको हो ।

विश्व स्वास्थ्य संगठनले पहिलो आत्महत्या रोकथाम दिवस मनाउँदा “आत्महत्यालाई रोकन सकिन्छ ।” (Suicide can be prevented भने नारा दिएको थियो । नेपालमा पनि यस पटक “आत्महत्या रोकथाममा सबैको सहकार्य ।” भने नाराका साथ स्वास्थ्यसँग सम्बन्धित विभिन्न गैर सरकारी संस्थाहरुले सिमित मात्रामा भए पनि विभिन्न कार्यक्रम गरेर वा अनुभवहरुको साटासाट गरेर यसलाई मनाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्चुअल माध्यमबाट जनचेतना मुलक कार्यक्रम सप्ताह–व्यापि गरेको बताएको छ ।

सरकारी तवरबाट मानसिक स्वास्थ्य सम्बन्धित जति गम्भिर बनेर देश व्यापि कार्यक्रम हुनुपर्ने हो, त्यो देखिएन । न कुनै प्रदेश र स्थानीय तहले नै त्यति चासो दिए ।

विश्वमा एक वर्षमा मृत्यु हुनेहरु मध्य १.५ प्रतिशत अर्थात ८ लाख ५० हजारको मृत्यु आत्महत्याका कारण हुनेगरेको तथाङ्कले बताउँछ । यसरी हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा कुल जनसंख्याको ५ प्रतिशतको मृत्यु आत्महत्याले हुने गरेको तथ्याङ्कले बताउँछ । नेपाल विश्वमा आत्महत्याका कारण मृत्यु हुनेहरुको देशहरमा ८ औं स्थानमा छ । प्रथम स्थानमा रहेको दक्षिण अमेरिकी देश गुयानामा हरेक एक लाखमा ४४.२ जनाका दरले आत्महत्या हुनेगरेको छ भने नेपालमा यो संख्या हरेक एक लाखमा करिब २५ जना पुगेको तथ्याङ्क छ । अझ लकडाउन यता यो संख्या बृद्धि भएको अनुमान छ । गएको चैतदेखि श्रावणसम्म कै तथ्याङ्क हेर्ने हो भने दुई हजार दुई सय अठार (२२१८) जनाको आत्महत्या कै कारण मृत्यु भएको छ ।

अझै बन्दा–बन्दीको अवस्था कहिलेसम्म पुग्ने हो कुनै ठेगान छैन । र यसको असरले अर्थ व्यवस्था तँग्रिन कति समय लाग्ने हो त्यो पनि थाहा छैन । माथिका ५ महिनाको मृत्यु दर हेर्ने हो भने निश्चित छ कोरोनाका कारण आर्थिक चपेटामा परेर अझैठूलो संख्यामा आत्महत्याको दर बढ्ने छ ।

विभिन्न अध्ययनले सन २०३० पछि संसारका तीन मध्य एकजना मनोपीडित हुने दाबी गर्दै आएका थिए । तर कोरोना आतंकका कारण दश वर्ष अगाडि नै अर्थात २०२० भित्र संसारले यो नियति झेल्नु पर्ने देखिन्छ । अमेरिकाको कोलम्बिया विश्व विद्यालयका मनोविज्ञानका प्रध्यापक युवल नेरोईको भनाईमा “कोरोनाको प्रकोप मानसिक रुपमा कति दर्दनाक हुन्छ अहिले भन्न गाह्रो छ ।” तर यस अघिको महामारी भन्दा कोरोनाले दीर्घकालसम्म आघात पर्ने उनको अनुमान छ ।

प्रष्ट छ, हामो जस्तो अविकसित पिछडिएको मुलुकको हालत झन् के होला ? “लकडाउन जति लम्बियो, मानसिक रोगको मात्रा त्यति बढ्दै जान्छ । कोरोनाको संकट सकिए पछि पनि समस्या रोकिन्न, त्यसैले अहिल्यैबाट तयारी गर्नु

पदर्छ ।” वरिष्ट मनोचिकित्सक डा. कपिल देव उपाध्याय भन्नु हन्छ । नेपालमा भूकम्प पछि मानसिक समस्या आकासिएको थियो । मनो विश्लेषक वासु आचार्यले बेलैमा सचेत नभए कोभिड–१९ले निम्ताउने मनोवैज्ञानिक असरले दीर्घकालसम्म सताउने चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाको न्यूयोर्कका गभर्नर एन्ड्री कुमोरले कोभिड–१९ नियन्त्रण नहँुदै मानसिक परामर्श दिनका लागि ६ हजार कर्मचारी नियुक्त गरेका छन् । अन्य देशले पनि मानसिक समस्या सामना गर्न आफ्नो गृहकार्य गर्दै छन् । नेपालमा भने भाद्र २५ गते मात्र नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा समेत गठन गरेको र सोही दिनदेखि पाटन मानसिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा आत्महत्या रोकथाम हेल्प लाईन सञ्चालन गर्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.फडिन्द्र पसाद बरालले जानकारी गराएका छन् ।

गत भाद २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आत्महत्या रोक्नका लागि के गर्न सकिन्छ भनेर मनोचिकित्सकहरुसँग छलफल गर्नुभएको बुझिएको छ । सर्वविदितै छ प्रधानमन्त्रीले धेरै कुरामा चासो लिनु हन्छ । वहाँबाट विकासका आश्वासन पनि नेपाली जनताले धेरै सुनिसकेका छन् । तर फेरि पनि उनै पाका नेता चित्र बहादुर के.सी. को थेगो जस्तै “कुराले चिउरा भिज्दैन सम्धी ज्यू ।” भन्ने भयो भने नेपालमा आत्महत्याको स्थिति भयावह हुने छ ।

गत वर्ष नै सन् २०२० सम्म आत्महत्याको मृत्यु दर १० प्रतिशत घटाउने विश्व स्वास्थ्य संगठनको योजना अनुसार नेपालमा पनि स्वास्थ्य मन्त्रालयले आत्महत्या कम गराउनका लागि ९० लाखका दरले सातवटै प्रदेशमा बजेट विनियोजन गरेको मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फडेन्द्र बरालको भनाई छ । नेपाली जनताको गरिबीलाई धितो राखेर दातृ संस्थाहरुसँग सहायता लिने र सुको काम नगरिकन सिमित व्यक्तिहरु मोटाउने पुरानै परम्परा हाम्रो नीति कार्यन्वयन गर्ने तहमा जबर्जस्ति छ । यस्ता कुराहरुमा जनता पनि निंदाएर हुँदैन, जनदवाब सृजना गर्नु पर्छ ।

आत्महत्या, मोनोरोग सम्बन्धि दृष्टिकोण र लक्षणहरुः

आत्महत्या भन्नाले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई बुझिन्छ । जसले आत्महत्याको प्रयास अथवा आत्महत्या नै गर्दछन्, त्यस मध्य ९५ प्रतिशत व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ भन्ने अध्यायनले पुष्टि हुँदै आएको छ । “त्यस मध्ये धेरै जसो व्यक्तिहरुमा आत्महत्याको कारण उदासिनता वा डिप्रेसन हुने गर्दछ । बाँकी ५ प्रतिशत भने कहिले काहीं एक्कासी तनावपूर्ण अवस्थामा पनि आत्महत्या गर्दछन् । यो मानसिक रोगले नभएर अचानक हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ ।” भन्ने भनाई नसा तथा मनोरोग विशेषज्ञ डा. कमल गौतमको छ ।

विभिन्न दर्शन तथा जानकारहरुको धारणा

  • जीव शास्त्र :- मानसिक रोग जिन (Gene)),बंशाणुगत गुण Heredity) का कारणले हुन्छ ।
  • मनोबैज्ञानिक सिग्मण्ड फ्रयाड :- सामाजिकिकरणको प्रक्रियाको कारणले हुन्छ, जसमा अचेत, सचेत र उच्चचेतको भूमिका हुन्छ ।
  • समाज शास्त्री इमाइल दुर्खाइम :- समाजिक संरचनाको कारण ।
  • बाइवल :- मासिक रोग असाधारण व्यवहार हो ।
  • मार्क्सवाद :- शोषण र असमान अवसरका कारण मानसिक रोग हुन्छ ।

मानसिक रोगका लक्ष्णहरु 

  • मनमा लगातार कुरा खेलिरहनु ।
  • एक ठाउँमा बस्न नसक्ने, छटपटी भैरहनु ।
  • मुटुको धड्कन असमान्य रुपमा बढ्नु ।
  • निद्रा नलाग्नु ।
  • बेहोस होला कि भन्ने डर हुनु ।
  • मानसिक सन्तुलन गुमाउला कि र मृत्यु होला कि भन्ने डर हुनु ।
  • हात खुट्टा काम्नु ।
  • बेसुरले बोल्नु र बेला बेलामा बेहोस हुनु ।
  • सामान्य अवस्थामा भन्दा यौनच्छा कमि हुनु ।
  • बढी रिसाउनु, झर्किनु र काममा मन नलाग्नु ।
  • कसैसँग बोल्न मन नलाग्नु, एक्लै टोलाई रहनु ।
  • मनमा हिम्मत नै नआउनु, मर्न मन लाग्नु । आदि ।

कानुनको नजरमा आत्महत्या

नेपाली समाजमा किरात कालदेखि २०२० सालको मुलुकी ऐनले निर्दिष्ट गरुन्जेल आत्महत्या यसको उद्योग वा दुरुत्साहनलाई अपराधको रुपमा हेरिएको थिएन । नेपालको प्रमाण ऐन २०३१ ले मृत्युकालिन घोषणालाई अंगिकार गरेको छ, दफा ११ ले मरेको व्यक्तिले होस् छँदै व्यक्त गरेका कुरा कुनै मरेका व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस् छँदै आफ्नो मृत्युको कारण सम्बन्धमा व्यक्त गरेका कुरा प्रमाण लिन हुने भनिएको छ । आत्महत्या दुरुत्साहनलाई कारवाहीको व्यवस्था हुनु अघि पनि नेपालमा त्यस्तै प्रकृतिका उजुरीहरु पर्ने गरेको, तर कार्वाही गर्न अन्य मुद्दा लगाईने गरेको वा मुद्दा दर्ता नहुने गरेको र केहीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको पाइन्छ ।

नेपालमा आत्महत्यालाई अपराध मानेर कानुन कहिल्यै नबने पनि युरोपेली मुलुकमा भने आत्महत्यालाई अपराध कै रुपमा ठहर गर्दै कानुनी मान्यता थियो । सन १६७० मा फ्रान्सका राजा लुई चौधौंले आत्महत्यालाई अपराध ठराउँदै पहिलो कानुन निर्माण गरेका थिए । जस अनुसार आत्महत्या गर्ने व्यक्ति अपराधि ठहरिंदैनथ्यो, आत्महत्या गर्नेको सर्वस्व सहित मृत शरिर घिसारेर शहर घुमाइन्थ्यो, दुनियाँले त्यस उपर घृणा व्यक्त गर्नु पथ्र्यो ।

फौजदारी न्यायका क्षेत्रमा “अपराधिसँग अपराध मर्छ ।” जस्ता अवधारणाको मान्यता बलशाली हुनथालेपछि आत्महत्यालाई अपराध मान्ने तर्क कमजोर हुन थाल्यो । नेपाल सनातन विश्वास प्रणालिने कर्म र मोक्षको साझा मान्यता अवलम्बन गरेको छ, त्यसैले जो व्यक्ति आत्महत्या गरेर मृत्यु हुन्छ, उसले मोक्ष प्राप्त गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । अतः आत्महत्यालाई अपवित्र भनिन्छ ।

आज आत्महत्या सम्बन्धि दुई प्रतिस्पर्धी विधिशास्त्रिय धार देखिन्छन्– पहिलो, आत्महत्या क्षति हो र यसको रोकथाम हुनुपर्छ भन्ने उपयोगितावादी मान्यता र दोश्रो आफ्नो ज्यूको आफ्नै खुशी भन्ने छनौटवादी मान्यता । “मर्ने अधिकार हुनु पर्छ ।(Right to die छनौटवादी मान्यताको नारा हो । मर्न पाउने अधिकारको वकालत गर्दै स्वीजरल्याण्डका विभिन्न छ, संगठनहरुले मानिसलाई आत्महत्याका लागि सहयोग गर्दछन् । यस्ता संगठनहरुको सहयोगमा यहाँ वर्षेनी ६०० भन्दा बढी मानिसहरुको आत्महत्या हुने गरेको । त्यसैले त्यहाँ आत्महत्या सम्बन्धि कानुनमा अस्पष्टताले त्यहाँ छनौटवादी धार मौलाएको मानिएको छ ।

जानीजानी आफूले आफूलाई मार्ने कार्य आत्महत्या हो । यस्तो अवैध काममा उक्साउने चाहिं दुरुत्साहन हो । अतः दुरुत्साहनको कार्यलाई विश्वका धेरैजसो मुलुकहरुले अपराधको कानुनी दायरामा राखेका छन् ।

नेपालले २०७५ भाद्र १ गतेदेखि लागु गरेको मुलुकी फौजदारी संहिताको दफा १८५ मा आत्महत्या दुरुत्साहन गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजारसम्मको जरिवानाको व्यवस्था गरेको छ । यो धाराको औचित्य प्रष्ट पार्दै फौजदारी संहिता निर्माणका वेला संसदीय समितिका संयोजक रहेका कृष्णभक्त पोखरेलले “आत्महत्या आफैमा कसुर होइन, तर दुरुत्साहनलाई हामीले कसुर भनेका छौं ।” भनेका थिए । दाइजो र घरेलु हिंसाका कारण महिलाहरुले आत्महत्या गर्नुपर्ने अवस्था निर्माण हुने तर दोषी कार्वाहीमा नपर्ने अवस्था अन्त्य गर्न दुरुत्साहनको व्यवस्था गरिएको उनले थप बताएका थिए ।

संहिता दफा १८५ लागु भएयता नाम लिए कै भरमा आत्महत्यामा दुरुत्साहन ठहर गर्ने हो भने यो व्यवस्थाको सिकार जो कोही हुन सक्दछ भन्ने चिन्ता स्वयं कतिपय कानुनविदहरुले व्यक्त गरेका छन् । फौजदारी कानुनका जानकार वरिष्ठ अधिवक्ता प्रध्यापक रंजितभक्त प्रधान भन्छन् : “आत्महत्या गर्ने वेलामा कसैको नाम लेखेर वा बोलेर गयो भन्दैमा त्यो प्रमाण बन्छ भन्ने हुँदैन । कानुनी रुपमा प्रमाण हुनेगरि त्यो कुरा स्थापित हुनुपर्छ ।” दुरुत्साहन सम्बन्धी यो दफा कार्यन्वयनमा आएको छोटो अवधि भएको र कुनै नजिर पनि स्थापित भैसकेकाले यसलाई सापेक्षिक रुपमा हेर्नुपर्छ भन्ने धेरैको बुझाई छ ।

अन्त्यमा, मनोरोग एक प्रकारको जटिल रोग हो । यसको नकुनै घाउ देखिन्छ, न रगत जाँच र एक्सरे गरेर रोग पत्ता लाग्छ वा अपरेशन नै गरेर ठिक हुन्छ । नजाँनिंदो प्रकारले यसले भित्र–भित्र मानिसलाई जलाईरहेको हुन्छ । र मानिस आत्महत्या गर्ने निर्णयमा पुग्दछ ।

आत्महत्या रोक्न सकिन्छ ।” यो धेरै अनुशन्धान पछि विश्व स्वास्थ्य संगठनले ठहर गरेको नारा हो । मानिसको मन घोडाको लगाम जस्तै हो, यसलाई नियन्त्रण गरेर सहि तरिकाले चलाउन सक्ने हो भने यसले दुनियाँमा ठूलो तरक्कि गर्न पनि सक्छ । यदि मनलाई नियन्त्रण गर्न सकेन भने यसैका कारण खाल्डोमा पनि जाकिन पुग्छ ।

समाजले मनोरोग सम्बन्धि धारणा बदल्नु पर्छ र मनोरोग पनि अन्य सामान्य रोग जस्तै हो भनेर ग्रहण गर्नु पर्छ । मोनोरोगिलाई पागल ठान्ने, तर्किने र दुव्र्यवहार गर्ने गर्नु हुँदैन । यसलाई सामाजिक प्रतिष्ठाको विषय बनाइनु हुँदैन । समाजले मोनोरोगिलाई सहजै स्वीकार गर्ने बाताबरण बन्यो भने मोनोरोगिलाई समाजमा आफू खुल्न सजिलो हुन्छ । यी कार्यहरु मात्र पनि गर्न सक्यौं भने मनोरोगको ठूलो संख्या घट्ने छ र अवस्था आत्महत्याको दर कम हुनेछ । सरकारले मनोरोग भएकाहरुलाई प्रोत्साहन स्वरुप केही कार्यक्रम ल्याउनु पर्छ । स्थानीय तहसम्म नै मनोरोग परामर्श केन्द्र स्थापना गर्नुपर्छ । मनलाई नियन्त्रणमा राख्नका लागि उपयुक्त ध्यान विधिको स्कुल तहदेखि नै विद्यार्थीहरुलाई गराउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार