बर्थडे पार्टीबाट फर्किँदा कार दुर्घटना, एकको मृत्यु

काठमाडौं, २० चैत । पेप्सिकोलामा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु छन् ।

प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते उनलाई ट्रमा सेन्टर लगिएको थियो । तर, चिकित्सकहरुले मृत घोषणा गरे ।

प्रहरीका अनुसार गोभाजुसहित ७ जना सवार बा १० च २८६४ नम्बरको कार मुलपानीबाट जडिबुटीतिर आउँदै गर्दा पेप्सिकोला काठमाडौं–३२ वडा कार्यालय अगाडि अनियन्त्रित भएर रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडी क्षत्‌विक्षत् हुने गरी भएको दुर्घटनामा गोभाजुको मृत्यु भएको छ भने अर्का एकजनाको हातमा चोट लागेको छ। अन्यको अवस्था सामान्य छ । चालक २० वर्षीय वीरेन्द्रराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रेष्ठले दिएको बयान अनुसार उनीहरु मुलपानीमा साथीको जन्मदिन मनाएर फर्किएका थिए । ‘एकाबिहानै दुर्घटना हुने वित्तिकै स्थानीयले खबर गरिहाले, लगत्तै प्रहरी पुगेर उद्दार गरेको थियो’, डीएसपी बस्नेत भन्छन् । थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार