बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरीको निधन भएको छ । राजधानीको ह्याम्स अस्पतालमा उपचाररत गिरीको आइतबार निधन भएको हो ।

पूर्वी नवलपरासीको गैँडाकोट निवासी गिरीलाई मंगलबार चितवनबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । उहाँ निमोनिया र दमबाट पीडित हुनाका साथै कोरोना संक्रमित हुनुभएको थियो । उहाँको केही समय अघि मुटुको अप्रेसनसमेत गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी(मसाल) का केन्द्रीय संगठनकर्तासमेत रहनुभएका गिरीको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शोक वक्तव्य प्रकाशित गरी नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ,
‘हाम्रो पार्टीका केन्द्रीय संगठनकर्ता कामरेड गोपाल गिरी(का.हरियाली)को ६३ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै हामीले सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

का. गोपाल गिरी केही दिनदेखि काठमाडौस्थित हेम्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ निमोनिया रोगबाट ग्रस्त हुनुभएको थियो । उहाँलाई भेट्न ने.क.पा.(मसाल)का महामन्त्री का. मोहनविक्रम सिंह आजै हेम्स अस्पतालमा पुग्नुभएको थियो । का. गिरी बेहोस अवस्थामा रहेकाले उहाँका परिवारका सदस्यहरुसित उहाँको स्वास्थ्य स्थितिबारे का. महामन्त्रीले जानकारी लिनुभएको थियो ।

का. गोपाल गिरी हाम्रो पार्टीमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको थियो । उहाँले पार्टीका बिभिन्न तहमा रहेर जिम्मेवारी बहन गर्नुका साथै हाम्रो पार्टीका नजिकका बिभिन्न जनवर्गीय मोर्चाका बिभिन्न जिम्मेवारीमा समेत रहेर भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ ने.क.पा.(मसाल)को केन्द्रीय संगठनकर्ता हुनुहुन्थ्यो ।

का. गिरी हाम्रो पार्टीको निडर, जुझारु र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँ पार्टीप्रति वफादार रहेर सबै प्रकारका गलत प्रवृत्तिका विरुद्ध सम्झौताहीन संघर्ष गरेर कार्यरत रहने हाम्रो पार्टीको जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीलाई गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले का. गोपाल गिरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार