भारतबाट नेपाली ल्याउन तोकियो २० नाका

काठमाडौँ । सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरूलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनैपर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताउनुभयो ।

श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्त रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई स्वदेश फर्काइने उहाँले बताउनुभयो ।

सरकारी सेवामा रही तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने छ । सरकरले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायुसेवा निगम वा नेपालका अन्य वायुसेवा निगमबाट उनीहरूको उद्धार गर्ने छ ।

सचिव बिडारीका अनुसार प्राप्त विवरण परिचान गरी परराष्ट्र मन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई दिने छ । पर्यटन मन्त्रालययले हवाई उडानको व्यवस्था गरेर उनीहरूलाई नेपाल ल्याउने छ ।

समितिले भारतमा रहेका नेपाली नागरिकलाई ल्याउन देशका विभिन्न नाकालाई आधिकारिक रूपमा तोकेको छ । सचिव बिडारीका अनुसार पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठोरी, माडर, मलङ्गवा, गौर, वीरगञ्ज र महेशपुर नाका तोकेको छ ।

यसैगरी, बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाट र दार्चुलाका नाका तोेकिएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि नै विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार