भारतमा मजदुरी गरिरहेका नेपाली दम्पतीले दुर्घटनामा गुमाए एक्लो सन्तान

खिमबहादुर विक,

हैदरवाद । भारतको हैदरावादमा भएको सवारी दुर्घटनामा परी एक नेपाली युवक सहित दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका पुरानो बटौली, फुलबारीका प्रेम मल्ल र मिनाका एक मात्र छोरा १९ वर्षीय विकास मल्लको यही फेब्रुअरी ७ तारिखका दिन सादनगरमा कारले ठक्कर दिँदा ज्यान गएको हो ।

विकास र उनका भारतीय साथी रमेश सवार मोटरसाइकललाई कारले ठक्कर दिएपछि विकासको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका रमेशको उसमानिया अस्पतालमा अर्को दिन ज्यान गएको हो । घटनास्थल हैदरावादबाट करिब ७० किलोमिटर टाढा पर्दछ ।

घटनाको खबर पाउनासाथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तीका लागि पहल गरेको छ ।

मूल प्रवाहका केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव खिमबहादुर विक, क्षेत्रीय सदस्य रतनसिंह विकलगायत नेताहरु घटनास्थल सादनगर पुग्नुभएको थियो । त्यस क्रममा मूल प्रवाहको अगुवाईमा स्थानीयले दोषीलाई कारबाहीको माग सहित प्रदर्शनसमेत गरेका छन् ।

प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरेको जानकारी दिएको छ भने कार मालिकसँग भएको फोन सम्पर्कका क्रममा उनले आफू बाहिर रहेको जानकारी दिँदै घटनास्थलमा आएर उचित क्षतिपूर्ती दिने सहमति गरेपछि मृतक युवकहरुको दाहसंस्कार गरिएको छ ।

पुरानो घर बर्दियाको राजापुर भएपनि हाल बुटवल बस्दै आएका मृतकका बुबा प्रेम मल्ल र आमा मिना दुवै जना भारतमा सामान्य मजदुरी गर्नुहुन्छ । मजदुरी गर्न भारत आएका नेपाली दम्पतीले एक्लो सन्तान गुमाउनुपर्दाको पीडाप्रति मूल प्रवाह नेपाली एकता समाजले गहिरो दुःख प्रकट गर्दै आफन्तजनमा समवेदना व्यक्त गरेको छ ।

घटनाको थप अनुसन्धानका लागि स्थानीय प्रशासनलाई सहयोग गर्नुका साथै पीडितलाई क्षतिपुर्तीका लागि निरन्तर प्रयास गर्ने मूल प्रवाहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार