भारतमा रोकिएकालाई नेपाल आउन देउः केसी

काठमाडौं । रष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौंमा रोकिएर घर जान नपाएकालाई घर जान दिन र गाउँमा रोकिएकालाई काठमाडौं आउन दिन माग गर्नुभएको छ । यस्तै, भारतमा रोकिएकालाई पनि घर आउन दिन केसीले आग्रह गर्नुभएको छ ।

शुक्रबार एक वक्तव्य प्रकासित गरी अध्यक्ष केसीले लकडाउनका कारणले काठमाडौंमा रोकिएर जिल्लाहरूमा जान नपाएकाहरू मात्र होइन, जिल्लाहरूमा रोकिएर काठमाडौंमा आउन नपाएकाहरू तथा भारतको सीमामा रोकिएर नेपाल आउन नपाएकाहरूलाई पनि दुई–तीन दिनको लागि बाटो खुला गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

केसीले भन्नुभएको छ, ‘सरकारले काठमाडौँबाट बाहिर जान चाहने व्यक्तिहरूका लागि दुई दिन यातायात खुला गर्ने समाचार आयो । तर तुरुन्तै त्यो निर्णय कार्यान्वयन नगर्ने भन्ने समाचार पनि आयो । त्यो समाचारले पैदा गरेको असहज स्थितिप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।

सरकारले दुई दिनका लागि यातायात खुला गर्ने जुन निर्णय गरेको थियो, त्यो सही थियो । तर त्यो एकांकी र अपूर्ण थियो । लकडाउनका कारणले काठमाडौंमा रोकिएर जिल्लाहरूमा जान नपाएकाहरू मात्र होइन, जिल्लाहरूमा रोकिएर काठमाडौंमा आउन नपाएकाहरू तथा भारतको सीमामा रोकिएर नेपाल आउन नपाएकाहरूलाई पनि दुई–तीन दिनको लागि बाटो खुला गर्नुपर्ने आवश्यकता छ । कम से कम तीन दिन पहिले त्यसप्रकारको सूचना दिएर त्यसरी रोकिएर बसेकाहरूलाई आफ्नो आफ्नो ठाउँमा पुग्न अवसर प्रदान गर्नको लागि हामीले सरकारसित अनुरोध गर्दछौँ ।

जस्तो कि सञ्चार माध्यमहरूबाट समाचारहरू आइरहेका छन्, काठमाडौंमा रोकिएर बसेका कैयौं मानिसहरू बेखर्ची भएर कैयौं दिन पैदल हिडेर आफ्नो गाउँमा जाँदैछन् । कतिपय व्यवहारिक कारणले जिल्लाहरूमा गएका मानिसहरू काठमाडौंका आफ्ना घर परिवारमा आउन नपाएर ठाउँठाउँमा रोकिएर बस्नुपरेको छ ।

भारतको सीमामा करिब दुईहजार नेपालीहरू अलपत्र परेर दुःख पाएर बस्नु परेको छ । त्यसप्रकारको स्थितिबाट राष्ट्रिय स्तरमा नै अप्ठ्यारो वा असहज स्थिति उत्पन्न भएको छ र त्यो स्थितिलाई फुकाएर सहज गराउनको लागि हाम्रो पार्टीले सरकारसित माग गर्दछ । त्यसका लागि हामीले निम्नलिखित तीनवटा मागहरू प्रस्तुत गर्दछौं ।

१. काठमाडौंमा रोकिएर बसेकाहरूलाई आफ्ना गाउँहरूमा जानको लागि अवसर दिने ।

२. विभिन्न व्यवहारिक कारणले जिल्लाहरूमा गएर रोकिएर बसेकाहरूलाई राजधानीमा आउनको लागि अवसर दिने ।

३. भारतमा विभिन्न सीमाहरूमा रोकिएर बसेका नेपालीहरूलाई नेपालमा आफ्नो घरहरूमा आउन अवसर दिने ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार