भारतस्थित नेपालीहरुका समस्याप्रति गम्भिर बन : मसाल

काठमाडौं । भारतस्थित नेपालीहरूको अवस्थाबारे ने.क.पा. (मसाल) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । साथै उनीहरूको अवस्थाप्रति ध्यान दिन सरकारसित मसालले माग गरेको छ ।

बुधवार महामन्त्री मोहनविक्रम सिंहद्वारा जारि विज्ञप्तीमा भारतमा अत्यन्त अप्ठ्यारो स्थितिको सामना गरेकाहरू तथा सीमामा आएर दुःख पाइरहेका नेपालीहरूलाई वैधानिक र नियमित प्रकारले नेपालमा ल्याउनको लागि सरकारले व्यवस्था गर्नु पर्नेमा जोड दिनुभएको छ । उनीहरूलाई नेपालमा ल्याउँदा उनीहरूको स्वास्थ्य परीक्षण र क्बारेन्टाइनमा राख्न समेत समुचित व्यवस्था गर्नु सरकारको दायित्व भएको समेत सिंहले जोड दिनुभएको छ ।

समस्या भारतस्थित नेपालीहरूको मात्र होइन, कोरोना भाइरसको कारणले मलेसिया, खाडिका देशहरू वा अन्य देशहरूका नेपालीहरू पनि अप्ठ्यारोमा परेका छन् र उनीहरूले नेपाल आउन खोजिरहेका छन् । आफ्नो देशका नागरिकहरूलाई नेपाल आउनबाट अनिश्चित कालसम्मका लागि रोक्न सकिन्न र रोक्न पनि मिल्दैन । तर सरकारले उनीहरूको लागि तात्कालिक रूपमा स्वास्थ्य परीक्षण र क्बारेन्टाइन तथा दीर्घकालीन रूपमा उनीहरूलाई रोजगारी दिने योजना बनाएर काम गर्नु पर्ने समेत विज्ञप्तीमा जोड दिइएको छ । त्यो अत्यन्त कठिन कार्य भएता पनि सरकार यो जिम्मेवारीबाट पन्छिन नमिल्ने पार्टीको धारणा रहेको सिंहले विज्ञप्तीमा जनाउनु भएको छ ।

विज्ञप्तीको पूर्ण पाठः

“भारतस्थित नेपालीहरूको अवस्थाबारे ने.क.पा.(मसाल)ले गम्भीर चिन्ता व्यक्त गर्दछ र उनीहरूको अवस्थाप्रति ध्यान दिन सरकारसित माग गर्दछ ।

कोरोना भाइरसको सङ्क्रमणपछि भारतस्थित नेपालीहरूको ठूलो सङ्ख्याले अत्यन्त नराम्रो कष्टमय जीवन बिताउनु परिरहेको छ । खास गरेर साना अनौपचारिक र असङ्गठित क्षेत्रमा काम गर्ने नेपालीहरूले धेरै नै कठिनाइहरूको सामना गर्नु परिरहेको छ ।

कोरोना भाइरसका कारणले ठूलो सङ्ख्यामा नेपालीहरूका रोजगारीहरू समाप्त भए । भारतमा भएका धेरै नेपालीहरूसित आधार कार्ड वा रासन कार्डहरू पनि छैनन् । त्यसप्रकारका प्रमाणहरू नभएका नेपालीहरूलाई सरकारबाट राहत पनि मिल्ने गरेको छैन । त्यसले गर्दा ठूलो सङ्ख्यामा नेपालीहरू बेखर्ची र भोकभोकै भएर बस्नु परेको छ । कतिपय नेपालीहरू परिवार सहित छन् । उनीहरूको खर्च चलाउन पनि धेरै कठिन भइरहेको छ । त्यसप्रकारको स्थितिले गर्दाखेरी ठूलो सङ्ख्यामा नेपालीहरूलाई डिप्रेसन हुने र कतिपयले आत्महत्या समेत गरेका समाचारहरू प्राप्त भइरहेका छन् ।

प्रारम्भमा जुन नेपालीहरूलाई क्बारेन्टाइनमा राखिएको थियो, उनीहरूलाई पनि जबर्जस्ती र अपमानजनक किसिमले त्यहाँबाट निकालिदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार महामारीको अवस्थामा कुनै विदेशी नागरिक जो जहाँ छ, सम्बन्धित देशको सरकारले उनीहरूको त्यहीँ व्यवस्था गर्नुपर्ने नियम छ । तर भारतमा ठूलो सङ्ख्यामा नेपालीहरूको त्यसरी व्यवस्था भइरहेको छैन ।

सरकारले अन्य देशहरूका नेपालीहरूलाई वर्गीकरण गरेर प्राथमिकताका आधारमा नेपाल ल्याउने कुरा गरेको सुनिन्छ र विभिन्न देशका राजदुतहरूले त्यसप्रकारको व्यवस्था गर्न नेपाल सरकारलाई प्रतिवेदन पठाएको पनि बताइन्छ । तर भारतमा धेरै नै अप्ठ्यारोमा परेका नेपालीहरूबारे सरकारले कुनै कुरा गरेको पाइन्न ।

त्यसप्रकारको स्थितिमा नेपालीहरू आफ्नो ठाउँमा बस्न नसकेर कैयौँ दिनसम्म बालबच्चा सहित पैदल हिंडेर नेपालको सिमामा आउने गरेका छन् । अहिले भारतमा विभिन्न स्तरका प्रशासनले नेपालीहरूलाई बढीभन्दा बढी सङ्ख्यामा सिमामा ल्याएर छाड्ने अभियान जस्तै चलाएका छन् । त्यसैले नेपालको सिमामा ठूलो सङ्ख्यामा नेपालीहरूको भिड जम्मा भइरहेको छ । तर त्यहाँ फेरि उनीहरूलाई नेपाल आउन दिइन्न । त्यसप्रकारको बाध्य परिस्थितिमा ठूलो सङ्ख्यामा नेपालीहरू लुकिछिपी गरेर नेपालमा आउने गरेको पनि पाइन्छ । त्यसको परिणामस्वरूप नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेको छ ।

प्रधानमन्त्री ओलीले संसदमा भारतबाट धेरै नै नेपालीहरू रोक्दारोक्दै पनि नेपाल आएको हुनाले पनि कोरोना भाइरसको सङ्क्रमण बढेको बताएका छन् । तर यहाँ वस्तुस्थिति केही बेग्लै छ ।

भारतका विभिन्न ठाउँहरूमा अप्ठ्यारो परेका नेपालीहरूलाई व्यवस्थित र बैधानिक प्रकारले नेपालमा ल्याउने व्यवस्था गरेको भए, उनीहरूको स्वास्थ्य परीक्षण गर्ने वाक्बारेन्टाइनमा राख्ने काम गर्न सकिन्थ्यो र त्यो अवस्थामा कोरोना भाइरसको सङ्क्रमणमाथि नियन्त्रण हुन सक्दथ्यो । तर सरकारले व्यवहारिक परिस्थिति र त्यसको गम्भीरतामाथि ध्यान नदिईकन नेपालीहरूलाई सीमामा जबर्जस्तीपूर्वक रोक्न खोज्दा उनीहरू अबैधानिक र अनियमितप्रकारले नेपाल आउन थालेको हुनाले नै कोरोना भाइरसको सङ्क्रमण बढेको हो । त्यसकारण कोरोना भाइरसको सङ्क्रमण बढ्नुका पछाडि मुख्य रूपमा सरकारको गलत नीति नै जिम्मेवार छ र त्यसलाई सुधार्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

हाम्रो माग यो छ कि, भारतमा अत्यन्त अप्ठ्यारो स्थितिको सामना गरेका नेपालीहरू तथा सीमामा आएर दुःख पाइरहेका नेपालीहरूलाई वैधानिक र नियमित प्रकारले नेपालमा ल्याउनको लागि सरकारले व्यवस्था गर्नुपर्दछ । उनीहरूलाई नेपालमा ल्याउँदा उनीहरूको परीक्षण र उनीहरूलाई क्बारेन्टाइनमा राख्न समेत समुचित व्यवस्था गर्नु सरकारको दायित्व हो र गर्नुपनि पर्दछ ।

समस्या भारतस्थित नेपालीहरूको मात्र होइन, कोरोना भाइरसको कारणले मलेसिया, खाडिका देशहरू वा अन्य देशहरूका नेपालीहरू पनि अप्ठ्यारोमा परेका छन् र उनीहरूले नेपाल आउन खोजिरहेका छन् । आफ्नो देशका नागरिकहरूलाई नेपाल आउनबाट अनिश्चित कालसम्मका लागि रोक्न सकिन्न र रोक्न पनि मिल्दैन । तर सरकारले उनीहरूको लागि तात्कालिक रूपमा स्वास्थ्य परीक्षण र क्बारेन्टाइन तथा दीर्घकालीन रूपमा उनीहरूलाई रोजगारी दिने योजना बनाएर काम गर्नुपर्दछ । त्यो अत्यन्त कठिन कार्य हो । तर सरकार यो जिम्मेवारीबाट पन्छिन सक्दैन र पन्छिन पनि हुन्न भन्ने हाम्रो मत छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार