भारतस्थित नेपालीहरूको सबैभन्दा बढी बिजोग छ : केसी

प्रकाश थापा मगर
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना सङ्क्रमणका कारण सबैभन्दा बढी बिजोग भारतस्थित नेपालीहरूको भएको बताउनु भएको छ । ‘भारतले रेलबाट ल्याएर बोर्डरमा छोडिदिन्छ’ उहाँले भन्नुभयो– ’अब बिजोग सुरु हुन्छ नेपालीहरूको ।’ ‘भारतीय प्रहरीले भन्छ, तिमीहरू नेपाल जाऊ, नेपाली प्रहरीले भन्छ, यता आउन पाउँदैन’ अध्यक्ष केसीले भन्नुभयो– ‘यसरी त नेपालीहरूको बिजोगै भयो नि, उनीहरू आफ्नो देश नेपाल नआएर कहाँ जाने ?’

अन्तर्राष्ट्रिय नेपाली एकता समाजले २०७७ वैशाख ३१ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले नेपालमा कोरोना सङ्क्रमणसित जुध्न कुनै तयारी नभएको दावी गर्नुभयो । ‘यतिका मान्छे नेपाल–भारत बोर्डरमा छन्, उनीहरूलाई नेपाल ल्याउनुपर्दछ’ उहाँले भन्नुभयो– ‘तर नेपालमा अस्पताल नै छैनन् कोरोनाका बिरामीलाई उपचार गर्न । निजी अस्पतालका डाक्टर सबै छुट्टीमा छन् । सरकारी अस्पतालमा त्यस्तो कुनै तयारी छैन ।’ उहाँले कोरोना सङ्क्रमणले गर्दा आम नेपालीलाई पनि स्वास्थ्यसेवा निजीकरण गर्नु हुँदो रहेनछ भन्ने शिक्षा दिएको बताउनु भयो ।

उहाँले बोर्डरमा अलपत्र परेका नेपालीलाई तुरुन्त नेपाल ल्याउनुपर्ने, तर त्यसो गर्दा विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलको ख्याल गरिनुपर्ने बताउनुभयो । ‘भारतले कुनै जिम्मेवारी नलिइकन नेपालीलाई यता पठाउन मिल्नै, उसको पनि केही जिम्मेवारी हुन्छ’ उहाँले भन्नुभयो ।

भारतीय साम्राज्यवादले सिङ्गो नेपाल नै खाने उद्देश्यका साथ सीमा अतिक्रमण गरेको बताउनुभएको छ । लिम्पियाधुरा–लिपुलेक हुँदै मानसरोवरसम्म जाने सडक नै खनेर अहिले भारतद्वारा भएको अतिक्रमणको सम्बन्धमा उहाँले नेपाल नै खाने उद्देश्यले भारतले सीमा अतिक्रमण गरिरहेको बताउनुभयो । ‘सिक्किम खायो, जम्मुकस्मिर खायो, हैदरावाद खायो’ उहाँले अगाडि भन्नुभयो– ‘नेपाललाई पनि कप्लक्कै खानेगरी ऊ अगाडि आइरहेको छ ।’ अध्यक्ष केसीले नेपालको सार्वभौमसत्ता समाप्त गर्नका लागि भारतले विभिन्न उपाय अवलम्बन गरिरहेको, त्यस क्रममा सांसदहरूलाई आफ्नो पक्षमा ल्याएर संविधान संशोधन गर्नसमेत प्रयत्नरत रहेको बताउनुभयो ।

सरकारले सीमा अतिक्रमणको विरुद्ध दह्रो पाइला टेक्न नसकेको बताउँदै उहाँले जनता एक भएर मात्र राष्ट्रियताको रक्षा गर्न सकिने बताउनुभयो । आजै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको प्रसङ्ग उठाउँदै उहाँले प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसी जसरी भए पनि पास गर्नुपर्ने माग राखेको बताउनुभयो । ‘देश कोरोनामा छटपटाइरहेको छ, पश्चिमी सिमाना भारतले खाइरहेको छ’ उहाँले भन्नुभयो– लोकतान्त्रिक व्यवस्थाको प्रमुख प्रतिपक्षीलाई चिन्ता एमसिसी पास गर्ने्तिर छ ।’ उहाँले देशविदेशमा रहेका देशभक्त नेपालीहरूको संयुक्त प्रयासले मात्र देशको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डता बच्न सक्ने बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै विशिष्ट अतिथि नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले भारतले सुरुदेखि नै नेपालप्रति विस्तारवादी नीति अपनाइरहेको बताउनुभयो । नेपाल कम्युनिस्ट आन्दोलनमा भारतको यस्तो नीतिको विरोधमा सङ्घर्षको लामो इतिहास रहेको बताउँदै नेकपा (मसाल) ले भारतीय साम्राज्यवादका विरुद्ध लगातार सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।

‘हाम्रो पार्टीले भारतीय साम्राज्यवादका गलत नीतिको विरोध गर्दै आइरहेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘जब भारतले नेपालको पश्चिमी सीमा लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा देखायो, त्यसबेलादेखि नै हाम्रो पार्टी र हाम्रा जनवर्गीय सङ्गठनहरू आन्दोलनमा छन् ।’ उहाँले वैशाख २९ गते पनि लकडाउनको माझमा विरोध प्रदर्शन गर्दा ठुलो सङ्ख्यामा हाम्रा नेता÷कार्यकर्ताहरू गिरफ्तारीमा परेको बताउनुभयो । ‘खालि सीमा अतिक्रमण मात्र होइन, भारतका हरेक गलत कदमको विरोधका नेकपा (मसाल) अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गर्ने गरिरहेको छ’ उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीको अध्यक्षता तथा महासचिव लुमाकान्त पुनको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा राजमो नेता आनन्द शर्माको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजका सल्लाहकार ठाकुर खनालले अवधारणा प्रस्तुत गर्नुभएको थियो भने एकता समाजकै कोषाध्यक्ष शक्तमान बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा हङकङ नेपाली एकता समाजका महासचिव ज्ञामुराम न्यौपाने, जापान नेपाली एकता समाजका अध्यक्ष यामलाल सापकोटा, ओमन नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, मलेसिया नेपाली एकता समाजका महासचिव गोविन्द विष्ट, कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाइबा, बेल्जियम नेपाली एकता समाजका महासचिव हिमाल थापा, कोरिया नेपाली एकता समाजका अध्यक्ष विदुर शर्मा, स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्मा, कुवेत नेपाली एकता समाजका सल्लाहकार दिनेश शर्मा, युएई नेपाली एकता समाजका अध्यक्ष जयबहादुर विक, बहराइन नेपाली एकता समाजका अध्यक्ष धनबहादुर कार्की र युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापा मगरले पनि मन्तव्य राख्नुभएको थियो ।

भिडियो कन्फ्रेस मार्फत् सम्पन्न सो कार्यक्रममा २० भन्दा बढी देशका सय जनाजतिको उपस्थिति रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजले बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार