भारतीय सेनामा नेपाली महिलाको भर्ना सार्वभौमिकता र स्वाभिमान विरुद्ध : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले भारतीय सेनामा नेपाली महिला भर्ना गर्ने विषयलाई सार्वभौमिकता र स्वाभिमानको विरुद्ध रहेको बताएको छ ।

केही दिनअघि काठमाडौँस्थित भारतीय राजदूतावासले भारतीय प्रहरी सेवामा नेपाली महिला भर्ना गर्नेसम्बन्धी सूचना जारी गरेको सन्दर्भमा पार्टीको सो धारणा अभिव्यक्त भएको हो ।

प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७८ असार ४ गते प्रेसवक्तव्य जारी गर्दै पार्टी सो धारणा सार्वजनिक गरेको हो ।

वक्तव्यमा बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली तथा घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बेपत्ताको खोजीकार्यलाई तीव्र बनाउँदै पीडित जनतालाई राहत उपलब्ध गराउन पनि सरकारसित माग गरिएको छ ।

पार्टीले वक्तव्यमा भनेको छ– “हामीले बाढीपहिरो, डुबान वा अन्य प्राकृतिक प्रकोपबाट आउने थप सङ्कटका बारेमा तुरुन्त सतर्कता अपनाएर, जोखिममा रहेका वस्तीको गम्भीर अध्ययन गरेर थप क्षति हुनबाट जोगाउन सरकारको ध्यान गम्भीर रूपले आकर्षित गर्दछौँ ।”

प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“भारतीय राजदूतावासद्वारा नेपाली महिलालाई भारतीय सेनामा भर्ना गर्ने भनी जारी गरिएको सूचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । एउटा सार्वभौम र स्वतन्त्र मुलुकले आÇना नागरिकलाई विदेशीको भाडाको सैनिक बनाउनु सार्वभौमिकता र स्वाभिमान विरुद्धको कुरा भएकाले गोर्खा सैनिक भर्तीकेन्द्र वा अरू कसैले पनि नेपालीलाई विदेशीको भाडाको सैनिक बनाउने नीतिको हामीले विरोध गर्दै आएका छौँ । यस सन्दर्भमा भारतीय राजदूतावासले नेपाली महिलालाई भारतीय सेनामा भर्ना गर्नेसम्बन्धी सूचना प्रकाशित भएकोमा हामीले त्यसको विरोध गर्दै नेपाली महिलालाई त्यसरी विदशीको भाडाको सैनिक बनाउने नीतिप्रति हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ र त्यस प्रकारको कार्यमाथि रोक लगाउनुपर्ने आवश्यकतामाथि जोड दिन्छौँ ।

देशका विभिन्न भागमा बाढीपहिरोबाट व्यापक रूपमा जनधनको क्षति पुगेको छ । उक्त बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति हामीले गम्भीर दुःख प्रकट गर्दछौँ । बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउनुपर्नेमा जोड दिँदै पीडित जनतालाई आवश्यक राहत उपलब्ध गराउन हामीले सरकारसित माग गर्दछौँ ।

बाढीपहिरो, डुबान आदि प्राकृतिक प्रकोपबाट बच्नका लागि राज्यस्तरबाट पूर्वतयारीको कार्य गरिएको पाइँदैन । त्यसले गर्दा सम्भावित खतराबारे नागरिक पनि बेखबर रहने गरेको अवस्था छ । हाम्रो देशको भौगोलिक स्वरूप, बाढीपहिरो, डुबान वा अन्य प्रकृतिजन्य प्रकोपको सम्भावनामाथि ध्यान दिएर राज्य वा सरकारले सतर्कता अपनाउन नसक्नु देशका लागि नै गम्भीर समस्या बन्न गएको छ । त्यसले गर्दा बर्सेनि ठुलो जनधनको क्षति हुने गरेको छ । जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेसम्बन्धी बर्षाैँदेखि जनस्तरबाट आवाज उठ्दै आएको भए पनि सरकारले त्यसप्रति गम्भीर ध्यान दिएको छैन । हामीले बाढीपहिरो, डुबान वा अन्य प्राकृतिक प्रकोपबाट आउने थप सङ्कटका बारेमा तुरुन्त सतर्कता अपनाएर, जोखिममा रहेका वस्तीको गम्भीर अध्ययन गरेर थप क्षति हुनबाट जोगाउन सरकारको ध्यान गम्भीर रूपले आकर्षित गर्दछौँ ।”

http://nepaliekta.com/%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4%E0%A5%80%E0%A4%AF-%E0%A4%B8%E0%A5%87%E0%A4%A8%E0%A4%BE%E0%A4%B2%E0%A5%87-%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%96%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%AD/

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार