भावपुर्ण श्रद्धा सुमन शहिद सरोज शर्माप्रति

आज भाद्र ११ (तदानुसार अगस्त २७) अर्थात, नेपाली एकता मासिकका सह सम्पादक तथा तात्तकालिन अखिल भारत नेपाली एकता समाजका शोभाखर धनञ्जय (सरोज शर्मा)ले सहादत प्राप्त गरेको दिन । आज भन्दा ३४ बर्ष अगाडि २०४३ साल भाद्र ११ गते अगस्त २७ तारिक १९८६ मा वेलारोडमा नेपालीहरुको एउटा भेलामा वहाँ पत्रिका विक्रिका लागि जानुभएको थियो । करिब ७ बजे राती वहाँ साथीहरु सित विदा हुनुभएको थियो । २९ तारिकसम्म पनि कार्यालयमा नपुगेपछि वहाँको खोज तलास शुरु भएको थियो । वहाँ गाएब भएको रिपोर्ट सिभिल लाईन पुलिस ठाना (दिल्ली)मा लेखाइएको थियो ।

सबै प्रमुख अस्पताल पुलिस ठानामा वहाँलाई खोजि गरिएको थियो । दिल्लीबाट प्रकाशित हुने अखबारमा पनि हराएको सुचना प्रकाशित गरिएको थियो, तर केही पत्ता लागेन । अन्तमा ११ सितम्बर १९८६ का दिन नव भारत टाइम्समा प्रकाशित पुलिस समाचारका आधारमा खोज्दा वहाँको २७ अगस्तमा नै दुर्घटना भएर पहिले मूलचन्द अस्पताल र त्यसपछि जय प्रकाश नारायण अस्पतालमा भर्ना गरिएको र ५ सितम्बरमा नै सोही अस्पतालमा मृत्यु भएको जानकारी संगठनलाई प्राप्त भएको थियो । साथै १० सितम्बर १९८६ का दिन दाहसंस्कार गरिएको जानकारी समेत प्राप्त भएको थियो । वहाँको दूर्घटनामा निधन भएको थियो वा हत्या भएको थियो, त्यसको सत्यतथ्य आजसम्म रहस्य नै रहेको छ ।

वहाँ सरोज शर्मा उपनामले हाम्रो बिचमा परिचित हुनुहुन्थ्यो, तर वहाँको वास्तविक नाम शोभाखर धनन्जय भुसाल हो । १२ मईको नयाँ दिल्लीको प्रदर्शनका सिलसिलामा वहाँ गिरफ्तार भएर जेलमा पनि बस्नु भएको थियो । वहाँको घर अर्घाखाँची जिल्लामा पर्दछ । वहाँले तात्कालिन अखिल भारत नेपाली एकता समाजको द्वितीय सम्मेलन पछि एकता समाजको केन्द्रीय कार्यालय इन्चार्ज र नेपाली एकता मासिकको सहसम्पादकको रुपमा कार्यरत हुनुहुन्थ्यो । वहाँ काठमाडौंबाट प्रकाशित हुने हाँक साप्ताहिक पत्रिकाको सम्पादक र प्रकाशक हुनुहुन्थ्यो । सरोज शर्मा अत्यन्त कर्तव्यनिष्ठ, मिलनसार, नम्र र इमान्दार नेता हुनुहुन्थ्यो । वहाँले आफ्ना परिवारमा समेत कर्तव्यनिष्ठ, मिलनसार, नम्र र इमान्दारीताको बारेमा राम्रोसँग सिकाउनु भएको थियो । त्यसैले नै वहाँको निधन पछि वहाँको नाम रहेको हाँक साप्ताहिक पार्टीलाई बुझाउनु भएको थियो । तर दुःखसाथ भन्नु पर्दा आज त्यो पत्रिका पार्टीसँग छैन । वहाँको त्यो नाशोलाई आज केही व्यक्तिगत महत्वकांक्षा बोकेका व्यक्तिले निजी सम्पत्तीको रुपमा परिणत गरेका छन् ।

तर पनि हामीलाई विश्वास छ, का. सरोज शर्माले जुन विश्वास र उदेश्यका साथ काम गर्नुभएको थियो त्यो विश्वासलाई ढल्न दिने छैनौं । भारत प्रवासमा त्यो अभिभारा नेपाली एकता डटकमले लिएको छ । उहाँले देखाएको इन्मादारी, निष्ठा र अविचलित रुपमा संगठनमा काम गर्नु पर्ने जुन मार्ग देखाउनु भएको छ, वहाँले देखाउनु भएको मार्गमा अबिचलित रुपमा अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछौं । शहिद सरोज शर्माको ३५ औं स्मृति दिवसको यस अवसरमा उहाँप्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना ।

नेपाली समाचार–साप्ताहिक

nepaliekta.com

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार