भुण्टेकी आमालाई चिठ्ठी

  • विन बहादुर रेग्मी

प्यारी मनकी रानी भुण्टेकी आमा । प्रदेशको तातो हावा खाँदै सम्झिरहेको छु । म हतार हतारमा सेतो पानामा कलमको मसीले रंगाउँदै छु । यसो त साँझ भिडियो काल गरौंला ।

भुण्टे यतिखेर बुबु खाएर नुनु गरिसक्यो होला । मात्थिर चने दाई बाबुराम काका र शेरे बाजेलाई सम्झेको छु भनिदिनु ।

पारी गैरा छबेकाका कता छन् सम्झेको छु भनिदिनु । अरू खासै केही छैन, यतातिर सबै ठिकै छ, दशैंमा एक थाल मासुले काम चलाएँ । तिमिलाई थाहै छ, मलाई के के मन पर्छ । भो–भो यस्ता कुरा चिठ्ठीमा नलेखम्, फेरी कसैले खोलेर पढिदेला र लाजमर्नु होला ।

अनुशासन र गोपनियताको नैतिक पाठ कसले पो पढेको छ र ? सभामुख जस्तो मान्छे त खतम हुँदारैछन् । मालपोत प्रमुख प्रहरी प्रमुख जनप्रतिनिधी कर्मचारी लगभग सबै कात्तिके कुकुर नै रैछन् ।

भुण्टेकी आमा यति यसरी भनिरहँदा तिम्रो सुरक्षाको चिन्ता लागिरा छ । हाम्रो घरतिर झाकेर हेर्ने त्यो डाईबरको शंका लाईराछ, जे होस् । शंकाले लंका जलाउँछ भन्छन्, विश्वास भरोसा नै ठूलो कुरो हो ।

तिमी समझदार छ्यौ, त्यो बारेमा आफै ख्याल गरे, तिमिलाई थाहै छ म धेरै बोल्दैन ।

पारी वैद्य बाको बारीमा बदेलले नोक्शानी पुर्याएको खबरले म निकै दुखी छु, त्यो नोक्सानीमा नेत्रेदाई रमाएका छन् रे भन्ने सुनेको छु । यद्यपि गणतन्त्रमा यो गलत हुँदैछ भन्ने मेरो बुझाई हो । ए मैले खासै केही छैन भनेछु बिर्सेर ।

उता उत्तर तिरबाट २६ बर्ष पछि पाहुना आउँदैछन् रे हुनसक्छ र बोलेको बुझ्छ्यौ भने केही खान–पिन गर्छन् कि यसो सोधपुछ गर्नु । कसले के भन्छ, कुरा नसुन्नु अतिथि देवो भवःको मर्म हामीले बुझ्नुपर्छ ।

मत भिन्नता हाम्रो आन्तरिक कुरा हो, पाहुना आउँदा गलत संदेश जाने गरेर ति केटाटीलाई बम भनेर बाटामा धुलो उडाउन नदिनु । चिम्टा, पिर्का, लोटा, बाटा, आगनमा भए हत्तपत्त भित्र नलैजानु पहिला सुन पानी छर्के जसरी सेनेटाइजर छर्केर मात्रै पाहुनालाई भित्र्याउनु ।

पाहुना हिंडने बाटामा दाउरा भारी नतेर्छाउनु, कुनै मान्छे विमार छ भने उसलाई छिछि दुरदुर नगर्नु । बरु त्यस्तालाई उपचारका लागि सहयोग गर्नु । ल म धेरै लेख्दैन कलम बन्द ।

उही प्रदेशी भुण्टेको बा ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार