चन्द्रकान्त शर्मा (पाण्डेचरी)
कैयौं समय बित्यो
उसका बिगतका क्षणहरुबाट
टाढा भए जस्तो छ
कतै दोबाटोमा हरायो कि
उसँग धेरै थियो ज्ञानका कुराहरु साथै अहमताका सोंच ।
तर भनिरहन्थ्यो जीवन नै संघर्ष हो ।
कतै उसको सोंचले धोखा दियो कि ?
उसँग लुकेको त्यस्तो क्षमता
हावाको बलुन झै फुट्यो कि ?
मलाई लाग्छ, उसको दम्भलाई
कतै बिलासिताले लुट्यो कि ?
अहिले त उसले नाम नै हटाएछ ।
मुल्यको अतिरिक्ततामा अटाएछ ।
फोटामा पनि कतै देखिदैन,
आफ्नो प्रोफाईल नै हटाएछ ।
कता–कता सुन्ने गर्दछु
आफ्नै चुरीफुरिमा दौडिदै छ रे
नेपत्थ्यबाट हमला बोल्दछ रे
शासकको सम्मानमा कुंदेको छ रे ।
कहिले लुक्छ रे, कहिले देखिन्छ रे
आफ्नो अनुकुल नभए धावा बोल्छ रे
सुन्दै छु, उसले सबै बिर्सिसके छ रे
ब्यक्तिगत बिचार सर्बोपरी पोखिन्छ रे ।
जति टाढा भए पनि
यहि जमिन नै होला प्रयोग गर्ने ।
जति रुप फेरे पनि, पक्कै पनि
भेट्ने छु उसलाई,
अनि निर्धक्क भएर सोध्ने छु
तिम्रो आदर्श, नीति, अनुशासन
जनवादी केन्द्रीयता कता हरायो ?