भेरी नरसंहारले बगरमा छरेका प्रश्नहरू

दुर्गा कार्की

गत वर्ष चैतमा म रुकुम पुग्दा चौरजहारी उखरमाउलो गर्मीमा निसास्सिइरहेको थियो। जुत्ता गड्ने धुलाम्मे कच्ची बाटोमा साँढेजसरी हुँइकिने अटोरिक्साले मलाई भेरी नदी किनारको थाप्लोमा छोडिदिएको थियो।

जाजरकोट जोड्ने साँघुरो झोलुंगे पुलपारिको पक्की रोडबाट ल्याइएका सामानको भारी बोकेर आउने मान्छेलाई बाटो छोडिदिँदै मैले केहीबेर बेपर्वाह बगिरहेको भेरीलाई नियालेकी थिएँ। बाटोछेउ एक भरिया दाइ ढुंगाको पर्खालमा उत्तानो परेर उपरखुट्टी लाएर सुस्ताइरहेका थिए। उनको गोडानेरको रित्तो डोको ग्राहक कुरिरहेको थियो।

यतिखेर चौरजहारीमा मारिएका भर्खरका ठिटाहरूको फोटोसहित मृत सपनाको नालिबेली पढिरहँदा, भावविह्वल र आक्रोशित स्थानीय दलित समुदायको असहायपन हेरिरहँदा सोचिरहेछु, के भेरीको पानी अझै उस्तै धुन समातेर बग्दै होला?

के अब कसैले ६-६ जना युवकले जीवनरक्षाका लागि मागेको गुहारको प्रतिध्वनिबिना भेरी सुसाएको कहिल्यै सुन्न सक्ला? के जात-भातवादी समाजले आफ्नो छातीमा लाइदिएको ज्यानमाराको दाग भेरीको पानीले पखालेर कहिल्यै सक्ला?

केहीअघि मात्र राष्ट्रियताको मुद्दाले जुरुकजुरुक भएको देश यतिखेर रुकुम घटनाले आक्रान्त छ। सामाजिक सञ्जालभरि समवेदना, आक्रोश र वितृष्णा व्याप्त छ। तर जबजब सामाजिक सञ्जालमा, मूलधारका पत्रपत्रिकामा, बलात्कार, एसिड आक्रमण वा दलित हत्या आदिलाई हवाला दिएर महिला हिंसा, जातीय छुवाछुत आदिको विरोध हुन्छ, मभित्रको एउटा मान्छेले यो विरोधकै विरोध गर्छ।

लाग्छ, यी विषयले केही दिनका लागि मिडिया र सामाजिक सञ्जाल ‘बूक’ मात्र गरेका हुन्। लाग्छ, मानिसहरू यी भयानक र बीभत्स घटनाको जरो छ र त्यो निकै टाढासम्म, गहिरो फैलिएको छ भन्ने बिर्सेर बोलिरहेका छन्। र, कतिपय मानिस बोलिएन भने जातिवादी भइन्छ भन्ने डरैले मात्र बोलिरहेका छन्। तर आफूले बोलिरहेका कुराको बृहत अर्थ के हो र त्यो आफूसँग कसरी जेलिएको छ भन्ने भेउ नपाएरै बोलिरहेका छन्।

किनकी, धेरै मानिसले महशुस गर्न आवश्यक ठानिसकेका छैनन्, यो विरोध गहिरिएर हेर्ने हो भने समग्र जातीय विभेदको विरोध होइन। यो हत्याको विरोध हो, सामूहिक नरसंहारको विरोध हो। ज्यान मार्ने अमानवीय अपराधको विरोध हो, र त्यहाँभन्दा माथि केही हो भने जातकै आधारमा दलितको हत्या गरिनुहुन्न भन्नेसम्मको मात्र विरोध हो।

यसले सोझै हेर्दा जातका आधारमा मान्छे मार्न पाइँदैन भनेको होला तर यसले मान्छे मार्न मात्र पाइँदैन (तर सामान्य छुवाछुत मान्न त पाइहालिन्छ नि) पनि भनिरहेको हो। यसले मान्छे नै मार्न चाहिँ हुन्न, तर जातीय छुवाछुत आजको भोलि नै त कहाँ हट्छ र पनि भनिरहेको हो।

सर्सती भन्नुपर्दा रुकुम घटनाको विरोध जातीय विभेदको पनि अतिवादको मात्र विरोध हो।

जबजब मान्छे अतिवादको विरोध गर्छ, ऊ बिर्सन्छ, यो अतिवाद केले निर्माण गरिरहेको छ, कसले निर्माण गरिरहेको छ? किनकी, जुनसुकै कुराको होस्, अतिवादको विरोध गर्न सजिलो छ।

पहिलो कारण, हामीमध्ये धेरै अतिवादी होइनौं। हामी जे होइनौं, त्यसको विरोध गर्न हामीलाई सजिलो हुने नै भयो।

दोस्रो, अतिवाद अपवाद पनि हो। अपवादका घटना तुलनात्मक रूपमा कमै हुनाले तिनको विरोध गर्न हामीलाई आफ्नो समय र चासो दिन गाह्रो हुँदैन।

र तेस्रो, समय धेरै अघि बढिसक्यो भन्ने हाम्रो बुझाइलाई यस्ता घटनाले नमीठोसित ‘ब्रेक’ हान्छन् र हामीलाई धरातलमा फर्काउँछन्। आफ्नो बुझाइ र आफू बाँचिरहेको धरातलबीचको अन्तरले हामीलाई त्रसित बनाउँछ, अत्याउँछ र हामी अरू बेला भन्दा चर्को गरी कराउँछौं।

तर किन ‘सामान्य’ छुवाछुतमा हाम्रो आवाज यसैयसै दब्छ? किन उहिलेदेखि चलिआएको चलन, बाबुआमाको आस्था वा ‘मर्नेबेलाका बूढाबूढीको चित्त दुखाएर के नै क्रान्ति गर्नु छ र’ जस्ता हाम्रा सोचाइ र अभिव्यक्तिले सजिलै सामाजिक वैधताको गेटपास पाउँछन्?

हावाहुरीबाट बच्न गैरदलितको घरभित्र छिरेकामा जरिवाना गरिएका, क्वारेन्टिनमा राख्ने कुरामै भेदभाव भोगेका समाचार किन हाम्रो आँखा नपर्दै हाम्रा ‘टाइमलाइन’बाट हराउँछन्? किन यस्ता समाचारलाई ‘ए’ वा ‘ओहो’ वा ‘धत्तेरी’ मात्र भनेर शीर्षकबाहेक नपढी हामी ‘स्क्रोल’ गर्न हत्तारिन्छौं?

आज पनि कतिपय स्थानीय सरकारमा बैठकपछि एउटै टेबलमा बसेर जनप्रतिनिधि खाजा खाँदैनन्। बाटोमा धूलो सम्याउन पानी छर्कँदा कुटाइ खानेको समाचार हामी खासै गम्भीरतापूर्वक लिन आवश्यक ठान्दैनौं। किन हाम्रा विरोध बीभत्सताको मात्रा बढी भएपछि मात्र चर्कन्छन्?

गहिरिएर सोच्ने हो भने बाटोमा धूलो मार्न पानी छर्केकै कारण कुटाइ खानु र गैरदलितलाई प्रेम गर्दा मारिनु मानवता दृष्टिबाट उही र उस्तै लाग्दैनन् र? एउटै टेबलमा खाजा नखानु र गैरदलितसित प्रेम गर्दा मारिनुबीचको दूरी कति हो? यसबीचमा कतिवटा चरण वा खुड्किला पार गरेपछि मानिस त्यो अवस्थामा पुग्छ? के अतिवादको चरणबद्ध निर्माण हामीले ‘सामान्य’ मानेर तयार गरेका भाष्यहरूले नै गर्ने हैन?

र यो ‘सामान्य’ छुवाछुत आज पनि धेरै नेपालीको घरमा खुलेआम चल्छ। यी नेपालीको जमातमा हामी पनि छौं, जो आज मनभित्रैदेखि, दुःखी भएर, आक्रोशित भएर दलित हत्याविरुद्ध आवाज उठाइरहेका छौं। तर ‘उस्तैखाले परिस्थिति परेका बखत यस्तैखाले घटना हाम्रा परिवार, इष्टमित्र वा छरछिमेक आदिबाट घट्न सक्ने सम्भावना कत्तिको छ?’ भनेर सोध्ने हो भने हामीमध्ये धेरैको बोली अड्कन्छ।

उस्तै परे आज जुन पक्ष ‘लकडाउनका बेला हुल बाँधेर आएको’ वा ‘नाबालिगलाई अपहरण शैलीमा भगाउन आएको’ जस्ता तर्क गरिरहेका छन्, हाम्रो र तिनको ठाउँ पनि फेरिन सक्छ।

यदि हामीलाई उनीहरू जातिवादी मात्र हुन् भन्ने लागिरहेको छ भने हामी गलत छौं। तिनीहरूमध्ये केही कट्टर जातिवादी नै हुन् भन्नेमा शंका छैन तर केही रुकुम घटनाका दोषीका आफन्त हुन्। र केही, यस्तै घटना आफ्नो परिवार वा समाजबाट पनि हुन सक्छ वा सक्थ्यो भनेर डराएकाहरू हुन् जो आफूभित्रको डर र आफ्नाप्रतिको विश्वासको अभावमा घटनाविशेषको औचित्य देखाउने सजिलो तरिका खोजिरहेका छन्।

हामीले के भन्ठानेका छौं, जनार्दन शर्माले दलित मुक्तिका नारा लगाएनन् होला? दलितले छोएको खाएनन् होला? तर कसरी आज उनी एक्कासि ‘सबैको’ बाट गैरदलितको मात्र प्रतिनिधि बन्न पुगे?

यतिखेर हामी जो सामाजिक सञ्जालमा हामीजस्तै अरूलाई जातका आधारमा हत्या बन्द गर भनिरहेका छौं, हामीबाट यो खालको जघन्य अपराध हुन सक्दैन भन्ने हामीलाई थाहा छ। तर जोबाट हुन सक्ने जोखिम छ, तिनीहरूसम्म हामी कसरी पुग्ने, कहिले पुग्ने?

हामीलाई लाग्छ, हाम्रा आफ्नाहरू अरू जे ग रेपनि जातकै आधारमा मान्छे मार्ने हदसम्म चाहिँ पुग्दैनन्। अहिले यो घटनाका विरोधमा बोलिरहेका हामी धेरैको बोल्ने आधार पनि यही नै छ। तर एकपटक सोचौं त, माओवादी ‘जनयुद्ध’को गढकी ती प्रेमिकालाई पनि लागेको थियो होला र? ती गाउँलेलाई लागेको थियो होला र? ती व्यक्तिहरू जो हत्यामा संलग्न छन्, सहरमा बसेर पढिरहेका वा जागिर खाइरहेका हामीजस्तै तिनका छोराछोरीलाई पनि लागेको थियो होला र?

वास्तवमा भन्ने हो भने हामीमध्ये लगभग सबैजसो नै अप्रत्यक्ष वा सुषुप्त जातीय पूर्वाग्रहबाट ग्रसित छौं। हाम्रा परिवार र इष्टमित्रकहाँ अझै पनि खुलेआम छुवाछुत मानिन्छ र हामीलाई यो राम्ररी थाहा छ। मेरो आफ्नै गाउँमा राम्रैसित देखिने गरी छुवाछुत चल्छ। गाउँका क्षत्रीबाहुन बेसी झर्न थालेपछि अलि माथिका दलितहरू एक-दुईजना गर्दै हाम्रो गाउँमा बसाइँ सर्न थालेका छन्। बेसी नझरेका क्षत्रीबाहुन अहिले पनि ‘बेसी झर्नेले दलितलाई घरमा राखेर भसक्कै पारे’ भनेर बेला-बेला ‘अमिलो’ पोख्छन्।

जातको कुरा आउँदा हामी अधिकांशले भनेको सुन्छौं- पढेलेखेका मान्छेले पनि जातभात भन्ने? तर के हामीले कहिल्यै सोचेका छौं, हाम्रो पढाइले हामीलाई कहिल्यै जातभात भनेको साँच्चै के हो भनेर सिकायो? नेपाल छुवाछुतमुक्त राज्य हो वा जातीय भेदभाव दण्डनीय छ भनेर पढाउँदै गर्दा थर बदलेर बेन्चमा सँगै बसेको रामबाबु परियारलाई किन थर बदल्नुपर्‍यो रामबाबु भनेर सोध्न भ्यायो? जातकै आधारमा दिनहुँजसो कुटिनु, अपमानित हुनु, दलितका रूपमा जन्म दिएकोमा आफ्नै सन्तानद्वारा घृणा गरिनु, साथीभाइसित नचिनाइनुको पीडा कस्तो हुन्छ भनेर सुन्न लगायो?

हाम्रो शिक्षा प्रणालीले हामीलाई किन समानुभूति सिकाउन सकेको छैन? किन केही पलका लागि आफूलाई दोस्रो पक्षको जुत्तामा उभ्याएर हेर्ने वातावरण तयार गर्न सकेको छैन? फगत बीजगणित र अमिबा घोकेर बीजगणित र अमिबा नै घोकाउन लागिपरेको हाम्रो शैक्षिक प्रणालीबाट हामी कसरी ‘पढेलेखेका’ बन्न सक्छौं? अनि यस्तो पढलेखका आधारमा हामी कसरी ‘पढेलेखेका मान्छेले पनि…?’ भनेर निराश वा अचम्मित बन्न पाउँछौं?

राज्यलाई लाग्दो रहेछ, संविधान वा कानुनमा घोषणा गरिदिएपछि हुन्छ। सायद हामीलाई पनि त्यस्तै लाग्दो रहेछ क्यार, जातीय विभेदका बारे बोल्नुपरे संविधान र कानुन सापट लिएर आफ्ना तर्क बलिया बनाउँछौं। तर के साँच्चै कानुनले बर्जित गर्दैमा छुवाछत निर्मूल हुन्छ? हुने रहेछ र?

कुनै पनि परिवर्तनको सुरूआत आफैंबाट हुन्छ भन्ने उक्तिलाई धेरै आत्मसात् गरेर हामी आफू त धेरथोर परिवर्तन भएछौं। तर परिवार र समाजलाई भने पछाडि नै छोडिदिएछौं।

मेरो गाउँमा मेरी शिक्षक आमाकी स्कुल आउजाउ गर्ने ‘साथे’ एक अनाथ दलित नानी थिई। भर्खर चिनजान हुँदाताक आमा अक्सर फोनमा उसको कुरा गरिरहनुहुन्थ्यो।

‘क्यार्नी, दलित नभाकी भए आफूसँगै ल्याएर राख्थेँ,’ एकपटक भन्नुभएको थियो।

भलै उसलाई त्यतिखेर घरमा राख्न मैले कर नगर्नुको कारण अर्कै थियो, तर अहिले सम्झँदा लाग्छ, के त्यो अर्कै कारण हुँदैनथ्यो भने मैले कर गर्न सक्थेँ होला त? गर्थेँ होला त? के त्यति नै कर वा विद्रोह जति मैले मन पराएको केटा दलित भएमा उसित बिहे गर्नलाई गर्न सक्थेँ? जातिवाद विरुद्धको क्रान्ति किन अन्तरजातीय विवाहसम्म मात्रै सीमित छ? घर पुगेका बेला आमाले दलित छिमेकीलाई पिँढीमा चिया राखिदिँदा मेरो प्रतिक्रिया ‘आजकालको जमानामा पनि…’ ले आमालाई आँखा तरेर हेर्नेबाहेक अरु किन हुन सक्दैन? आफूलाई जति जातीय भेदभाव विरोधी भने पनि म पनि अतिवादको मात्रै विरोध गर्ने आडम्बरी न रहेछु!

र, सायद तपाईं पनि त्यही हो। सामाजिक सञ्जालमा कसैले लेखेजस्तै ‘हामी सबैलाई अन्तर्जातीय विवाह मनपर्छ, तर आफ्नोमा होइन, अर्काको घरमा।’

लाग्छ, हाम्रो जातिवादको विरोध दलित साथी वा सहकर्मीले छोएको खानुमा मात्रै सीमित छ। वा बढीभन्दा बढी प्रेमको नाउँमा ‘जातको पर्खाल भत्काउनु’मा मात्र सीमित छ। हामी आफू जातभातमा विश्वास नराख्ने भन्ने तर बाबुआमाको चित्त नदुखाउन कोठा दिँदा जात सोध्नेहरू, दलित साथीलाई घर ल्याउँदा थर नबताउनेहरू, दलित भएर पनि कस्तो राम्रो वा राम्री भनेर आश्चर्य जनाउनेहरू सबै नै एकखाले आडम्बरी हौं।

अतिवादको कड्केर विरोध गर्ने तर अनेका बहानामा सामान्य छुवाछुतलाई प्रश्रय दिने हामी सबै नै कुनै न कुनै रूपमा रुकुम घटनाका मतियारहरू हौं। र हामी तिनै हौं, जसलाई सामाजिक परिवर्तन असाध्यै छिटो चाहिएको छ।

जातिवादी हुन जति सजिलो छ, जातिवाद विरोधी हुन त्योभन्दा धेरै गाह्रो छ। जातिवादी हुन फेरिनु पर्दैन, बस् यथास्थितिवादी ‘भइदिए’ पुग्छ। तर रुकुम घटनाले चूपचाप र चिच्चाइचिच्याई भनिरहेको छ, जातिवाद विरोधी हुन आफू मात्र ‘भएर’ पुग्दैन, आफ्नो परिवार र समाजलाई पनि बनाउनुपर्छ। जबसम्म जातिवाद विरोधीको हाम्रो भास्य घटना घटेपछि विरोध, भत्सर्ना, निन्दा, कडाभन्दा कडा कारवाहीको माग, आफू कथित उपल्लो जाति हुनुसितको लज्जा आदिमा मात्रै सीमित रहन्छन्, हामीले नवराज वि.क. अनि अजित मिजारहरूलाई मारिरहन्छौं।

तर, आडम्बरी नबन्ने सुविधा हामीलाई छ। यसका लागि हामीले आँखा चिम्म गरेर आफ्नै अन्तरमनसित प्रश्न गर्न सक्नुपर्छ। र यस्तो प्रश्न समयसमयमा गरिरहन सक्नुपर्छ। तब मात्र हामीले अरुलाई प्रश्न गर्न सक्छौं।

पहिले ‘ब्या गर्न ढिलो गर्नुहुन्न है, पर्खेर पनि सिङ-जुरो पलाउने होइन!’ भन्ने मेरी आमा केही समययता ‘अब त आफैं केटो ठीक पारेर खबर गर् है!’ भन्न थाल्नुभएको छ। जवाफमा म आमालाई भन्छु, ‘…छानम्ला, तर जात चाहिँ जे पनि हुनसक्छ है, तयार भइराख्नू!’

मेरो संकेत बुझेर आमा सामान्य पारामा भन्नुहुन्छ, ‘अँ, कहिल्यै फर्केर आमाको मुख हेर्दिनँ भने त हो नि।’

यसबारे बेलाबखत हाम्रो ठास्सठुस्स परिरहन्छ।

यो लेख लेख्नुअघि मैले एकाबिहानै आमालाई फोन गरेर घरायसी गन्थनपछि रुकुम घटनाको कुरा निकालेँ।

‘हुनसम्मका अधर्मी, अपराधी रचन् नि …’ आमाले भन्नुभयो। म बोलिनँ। उहाँलाई प्रश्नले नडोहोर्‍याइकनै (‘लिडिङ प्रश्न’ नसोधिकनै) थप सुन्न मन लाग्यो।
‘त्यस्तो सारै नै मायाप्रेम भको भए बरू सुटुक्क जाओ, ह्याँ गाँममा नबस, बिजेत हुन्छ भन्या भएन्त हुन्थ्यो नि…’

वास्तवमा मलाई यो लेख लेख्न प्रेरित गरेको यही कुराकानीले हो।

चौरजहारी घटना सामाजिक सञ्जालबाट सेलाइसकेपछि पनि, मिडियालाई फेरि कोरोना, सलह वा अरू नै केहीले ‘अकुपाई’ गरिसकेपछि पनि, कुनै समाजशास्त्रीले विस्तृतमा अध्ययन गरोस्, के भएपछि मान्छे जातको आधारमा मान्छे मार्नसम्म तयार हुन्छ? एउटा सिंगो समाज नै उर्लिएर, ढुंगामुढा गर्दै खेदेर, आधा दर्जन मान्छे मर्नेगरी नदीमा फाल्न कुन हदको ‘आवेश’ चाहिन्छ? यो ‘आवेश’ निर्माण कसरी हुन्छ? केले गर्छ? जातीय अतिवादको विषवृक्ष त्यहाँसम्म फैलन केकस्तो मानसिकता भुन्भुनाएको हुन्छ?

र, जातलाई नबिर्सिकनै, दलित शब्दलाई शब्दकोश वा संविधानबाट नहटाइकनै विभेद मात्र हटाउन कसरी सकिन्छ?

सोचिरहेछु, हरेक दिन, दिनको एक घन्टा एउटै बाटो हिँड्दा मेरी आमाले उहाँकी ‘साथे’ सित एउटै पातको दूनोबाट ऐंसेलु झिकेर खानुभएन होला? एउटै पोकोबाट मकै खानुभएन होला? ऊ पानीले तिर्खाउँदा बोतलमा ल्याएको मही दिनुभएन होला र? एक्लै हुँदा, ‘ह्या, के नै हुने हो र’ भनेर बोतल नओभाई पानी भर्नुभएन होला र? के हुँदो हो यो ‘बेइज्जत’को समाजशास्त्र? धार्मिक अन्धविश्वाससित त्यो कति डराउँदो हो अनि ‘आऽऽऽ…’ भन्दै कतिको ओठ लेप्राउँदो हो?

वा कति ज्यानै लिन टक्रँदो हो? र, कुन तत्वले त्यसलाई अमेरिकी समाजको उदाहरण दिएर ‘सामाजिक प्रक्रियाको सामान्य प्रक्रिया’का रूपमा लिन अभ्यस्त बनाउँदो हो?

चौरजहारी घटनाले यी प्रश्नको पनि उत्तर खोज्ला वा दलितलाई मार्न पाइँदैन लगायत केही नारामै साइँसुइा होला ?

(सेतो पार्टीबाट)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार