मलेसियामा नेपालीलाई बन्धक बनाएर नेपालीले नै गरे १६ लाख फिरौती असुली

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीलाई नेपालीले नै बन्धक बनाएर रकम असुली गरेका छन् । मलेसियामा कार्यरत दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएर १५ लाख ९२ हजार असुल गरिएको हो ।

तीन जनाको समूहले रैदासलाई बन्धक बनाई पीडितकी श्रीमतीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठको नाममा रहेको हिमालयन बैङ्क लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने, नत्र मारिदिने धम्की दिई फिरौतीबापत् सो रकम असुल गरेका प्रहरीले जनाएको छ ।

अपहरणकारीले आफ्नो खातामा पटक–पटक गरी रकम जम्मा गरेपछि मात्र अपहरित व्यक्तिलाई अपहरण मुक्त गरेको र निजको राहदानी आफ्नो कब्जामा लिई पीडितलाई नेपाल आउनसमेत नदिई अघोषित रूपमा हालसम्म पनि बन्धकजस्तै बनाराखेको पीडितकी श्रीमतीलाई उद्द्दृत गर्दै प्रहरीले जनाएको छ ।

अपहरणमा मोरङको साविक सुन्दरपुर गाविस–५ घर भई हाल मलेसियास्थित टप ग्लोब कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने वर्ष ४४ को डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठ, वीरसिंह राईको छोरी निज डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठको श्रीमती भुटान माइतीघर भएकी धनमाया श्रेष्ठ तथा घर ठेगाना एकिन नभएको डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठको ड्राइभर श्याम नेपालीको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

अपहरणकारीका मुख्य योजनाकार डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । हाल नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा निजको खोजतलास गर्ने क्रममा प्रहरीले काठमाडौँको कान्ति बाल अस्पतालनजिक बा.१४ च.२११२ नं. को जिपमा बाँसवारीबाट पानीपोखरीतर्फ गइरहेको अवस्थामा पक्राउ गरेको हो ।

श्रेष्ठले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपाली कामदारलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्नेसमेतको कुरा बुझिन आएको भन्दै अन्य व्यक्तिलाई समेत मध्म रैदासलाई गरेजस्तै अपराध गरेको हुन सक्ने देखिएकाले सो समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार