मसालविरुद्ध भ्रम छर्नेलाई केसीको जवाफ : तातोपानीले घर डढ्दैन

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मसालबाट निष्काशित व्यक्तिहरूले आफूलाई अझै मसाल भन्दै कार्यकर्तामा भ्रम छरिरहेको बताउनुभएको छ । युगदर्शनसँगको अन्तर्वार्ताका क्रममा केसीले पार्टीको कुनै कमिटीमा नरहेका, लवी नतिर्ने, नीति सिद्धान्त नमान्ने व्यक्तिले आफूलाई मसाल हुँ भन्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।

नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा भ्रम छर्ने, चरित्र हत्या गर्ने तथा समानान्तर गतिविधि गर्नेहरूबारे सोधिएको प्रश्नमा केसीले भन्नुभएको छ, ‘तातो पानीले घर डढ्दैन ।’

उहाँले विगतमा पार्टीबाट निष्काशित व्यक्तिहरु वा पार्टीको नीति नमान्नेहरूले एउटा बगाल खडा गरेर अरु पार्टीसँग मिसिन गएको चर्चा गर्दै अहिले पार्टीबाट निष्काशित व्यक्तिहरू आफूलाई मसाल नै भनेर कार्यकर्तामा भ्रम छर्न खोजेको तर त्यो क्षणिक स्याल हुईंय्या भएको बताउनुभयो ।

‘जुन मान्छेले मसालको नीति मान्दैन, पार्टीलाई लेवी तिर्दैन, कुनै कमिटिमा छैन त्यो मान्छे आफूलाई मसाल भन्दै हँड्छ । त्यस्ताले म मसाल हुँ, राष्ट्रिय जनमोर्चा हुँ भन्दै हिँड्नु अस्थायी कुरा मात्रै हो । पार्टीको सदस्य हुनको लागि पुरा गर्नुपर्ने कर्तव्य पार्टी कमिटीमा बस्नुपर्छ, लेवी तिर्नुपर्छ, नीति र सिद्धान्तलाई मान्नुपर्छ । यो केही पनि नगर्ने तर म मसाल हुँ भन्न पाइन्छ ?’ केसीले भन्नुभएको छ, ‘मसालका विरोधीहरुलाई खुसी पार्न बाहिर बाहिर चिच्याएर हिँड्ने हरूले जे गतिविधि गरिरहेका छन् ‘तातोपानीले घर डढ्दैन’ ।’

यस्तै, उहाँले फरक मतका कारण आजसम्म कसैलाई पार्टीले कारबाही नगेको स्पष्ट पार्नुभएको छ । पार्टीभित्र वैचारिक द्वन्द्व हुनु स्वाभाविक भएको बताउँदै केसीले पार्टीको महाधिवेशनले गरेको निर्णय नमान्ने, पार्टी अनुशासनमा नबस्ने कतिपय व्यक्तिहरुलाई निष्कासित गरिएको बताउनुभयो ।

‘हाम्रो पार्टीमा कुनै साथीले भिन्न विचार राखेका कारणले कारबाही गर्ने प्रचलन नै छैन । अहिले पनि हाम्रो पार्टी भित्र कैयौ विषयमा भिन्न मत होला नि ? भिन्न मत राखेको कारणले त कसैलाई कारबाही गरिएको छैन । भिन्न मतलाई बाह्रै महिना चलाउने, अनुशासनमा नबस्ने, पार्टी नीतिलाई उल्लंघन गर्ने त्यस्ता व्यक्तिहरुलाई पार्टीले कार्य गर्छ’ केसीले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार