मसाल निकट अखिल नेपाल युवक संघका कार्यकर्ताहरु बाढीपहिरो प्रभावित क्षेत्रमा खटिने

काठमाडौँ । अखिल नेपाल युवक सङ्घले बाढीपहिरो प्रभावित क्षेत्रमा स्वयम्सेवक परिचालन गर्ने भएको छ । प्रभावित क्षेत्रमा तत्कालै उद्धार र राहतका लागि युवक सङ्घले सो निर्णय गरेको हो ।

अध्यक्ष अनिलकिशोर घिमिरेको हस्ताक्षरमा २०७८ असार २ गते जारी प्रेसविज्ञप्तिमा युवक सङ्घको सो निर्णय जानकारी गराइएको छ । असार २ गते नै केन्द्रीय सचिवालयको भर्चुअल बैठकले सो निर्णय गरिएको वक्तव्यमा उल्लेख छ ।

प्रतिगमन र चुरेदोहनका विरुद्ध असार १० गते जिल्ला प्रशासन कार्यलयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने तथा असार ११ गते भर्चुअल अन्तरक्रियासमेत गर्ने जानकारी गराइएको उक्त प्रेसविज्ञप्तिमा अन्य विषयहरू पनि समावेश गरिएका छन् ।

प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–

“अखिल नेपाल युवक सङ्घको उपलब्ध केन्द्रीय सदस्यसहित सचिवालयको भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकले गरेका निर्णय सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

१) विश्वव्यापी फैलिएको कोभिडको कारण ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कोभिडको कारण बिरामी हुनुभएका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, सङ्गठनका अध्यक्ष अनिलकिशोर घिमिरेलगायत सबैको स्वास्थ्यलाभको कामना गर्दछौँ ।

२) कोभिडको कारण आक्रान्त समाज र पीडितहरूको घाउमा मलमपट्टी लगाउने र तीव्र रूपमा उद्धार, उपचार र सहयोग गर्नुपर्नेमा त्यता ध्यान नदिई असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले संसद विघटन गर्ने र स्वेच्छाचारी शासन चलाउन खोज्ने ओली सरकारको प्रतिगमनकारी कदमको भत्र्सना गर्दछौँ । प्रतिगमन विरुद्धमा सशक्त सङ्घर्ष गर्ने जानकारी गराउँछौँ । यसै क्रममा प्रतिगमन विरुद्धमा र चुरेदोहनको विरुद्धमा यही असार १० गते जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने र असार ११ गते भर्चुअल अन्तरक्रिया गर्ने ठेगान भएको छ

३) कोभिडको कारण समस्यामा परेका नागरिकको उद्धार, उपचारसहित सहयोग गर्न सङ्गठनका स्वयम्सेवक परिचालन गर्ने निर्णय पहिले नै भएको थियो । अब वर्षायाम सुरु भएलगत्तै बाढीपहिरोलगायत प्राकृतिक बिपत्तिबाट ठुलो धनजनको क्षति हुने क्रम सुरु भएको छ । बाढीपहिरो गएका क्षेत्रमा तत्काल उद्धार र सहयोगका लागि सङ्गठनका स्वयमसेवकहरू परिचालन गर्ने निर्णय भएको छ ।

४) सङ्गठनका प्रदेश, जिल्लास्तरका बैठक बस्ने र भर्चुअल रूपमै आगामी साउनको पहिलो हप्तामा केन्द्रीयस्तरको प्रशिक्षण गर्ने ठेगान भएको छ ।

४) सङ्गठनका केन्द्रीय वैकल्पिक सदस्य नरबहादुर विकको कोभिडका कारण असामयिक निधन भएकाले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकप्रस्ताव पारित गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार