महामन्त्री मोहनविक्रम सिंह अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

अक्सिजनको लेभल सामान्य रहेपछि होम आइसोलेसनमा स्वास्थ्यलाभ लिने चिकित्सकहरूको सल्लाहसँगै उहाँ आज २०७८ जेठ ६ गते ह्याम्स अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

उहाँकी पत्नी तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार महामन्त्री सिंहलाई चिकित्सकहरूले स्वास्थ्य अवस्थामा जटिलता देखा परे कुनै पनि बेला अस्पतालमा उपस्थित हुन भनिएको छ ।

‘सामान्यतः स्वास्थ्यमा अप्ठ्यारो परेमा कुनै पनि बेला आउनुहोला’ चिकित्सकहरूको भनाइ उद्धृत गर्दै पौडेलले भन्नुभयो– ‘डाक्टरहरूले दुई हप्तापछि ह्याम्स अस्पतालका डक्टर रक्षासित र तीन हप्तापछि डक्टर राजुसित स्वास्थ्य परामर्स लिन भनिएको छ ।’

पौडेलका अनुसार महामन्त्री सिंहको अक्सिजन लेभल अहिले ९५ छ । ज्वरो छैन । हल्का खोकी छ । खानामा पूरै रुचि जागिसकेको छैन । फेरि पनि महामन्त्री सिंहले हल्का खाना लिइरहनुभएको छ ।

खोकी रोकिन अझै केही समय लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

महामन्त्री सिंहको जेठ ४ गते मङ्गलबार गरिएको दोस्रो पिसिआर रिपोर्ट पोजेटिभ देखिए पनि अन्य रिपोर्ट भने सन्तोषजनक रहेको थियो ।

सुगर र थाइराइडबाट पीडित महामन्त्री सिंह वैशाखको अन्तिम हप्ता बिरामी परेपछि गत वैशाख २७ गते सोमबार गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यससँगै उहाँलाई वैशाख २९ गते बुधबार ह्याम्स अस्पताल (हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी) भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार