माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही दिनभित्रै स्थायी समितिको बैठक बसेर यसबारे निर्णय लिने जानकारी दिनुभयो । उहाँले केपी ओली सरकारप्रति पार्टीको समर्थन नभएपनि प्राविधिक रुपमा तत्काल समर्थन फिर्ता लिने अवस्था नभएको दाबी गर्नुभयो ।

‘अहिले पनि परिस्थिति अझै स्पष्ट भइसकेको छैन, विभिन्न राजनीतिक पार्टीहरुसँग भएको वार्ताका क्रममा अहिलेको राजनीतिक परिस्थितिमा अगाडि कसरी बढ्ने निर्क्यौल गर्न केही समय माग गर्नुभएको छ’, श्रेष्ठले भन्नुभयो, ‘सबै परिस्थिति हेर्दा हामीले स्थायी समितिको बैठक एकदुई दिनभित्रमा बसेर अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने, कोर्स कसरी लैजाने भन्ने बारेमा हाम्रो भूमिकाका बारेमा आवश्यक निर्णय लिन्छौँ ।’

प्रमुख प्रतिपक्ष कांग्रेस, जनता समाजवादी पार्टीबाट स्पष्ट धारणा नआइसकेको हुँदा केही दिन पर्खिने भन्दै कांग्रेस र जसपालाई आफ्नै आधारमा निर्णय गर्न आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार