मूल प्रवाहका महासचिव खनाल र भूटिया बीच भएको फोन सम्बाद (अडियो सहित)

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले देहरादुनमा नेपाली विद्यार्थीहरुमाथि भएको निर्घात कुटपिट को समाचारको सत्यतथ्य जानकारीका लागि पहल शुरु गरेको छ ।

एकता समाजले शुरुदेखि नै नेपाली विद्यार्थी रहेका भारतका अन्य शैक्षिक संस्थामा पनि उनीहरुको स्थितिबारे खोजतलास गरी उनीहरुमाथि हुने सबैखाले ज्यादती अन्त गर्नका सम्बन्धित सम्पूर्ण पक्षहरुको ध्यानाकर्षण गराउँदै आएको छ ।

समाजका महासचिव ठाकुर खनालले डिकिलिडस्थित शाक्य एकेडीमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीहरुमाथि उक्त एकेडीमीका अध्यक्ष एवम् प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले कुटपीटको भन्ने समाचार बारे स्थानीय गोर्खा समाजका जिम्मेवार व्यक्तित्व क्याप्टेन टि.डी. भूटियासँग फोट सम्वाद गरि सो घटनाको जानकारी लिनु भएको छ ।

“शाक्य एकेडेमीमा गुरु जिले विद्यार्थीलाई कुटपिट गरेकै हो ।” भुटियाले भने – “४७ जना विद्यार्थीहरुलाई आ–आफ्नो घरसम्म पठाउने व्यवस्था मिलाइएको छ।”

हामीले खनाल र भूटिया बीच भएको फोन सम्बाद अडियो रेकर्डिङ प्रस्तुत गरेका छौं ।

यो पनि पढ्नुहोस् :-

देहरादुन घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन मसालको माग

कान्तीपुर दैनिकले उल्लेख गरेको समाचार अनुसार भने विषय अरु केही देखिन्छ । प्रस्तुत छ कान्तीपुर दैनिकले प्रकाशित गरेको समाचार

देहरादूनमा ५१ नेपाली विद्यार्थी निर्घात पिटिए

– देवेन्द्र भट्टराई

(काठमाडौं) – भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । दसैं–तिहारको बिदामा घर फर्कन पाऊँ भन्दै ५१ जना नेपाली विद्यार्थीले निवेदन दिएपछि विवाद बढ्दा रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि कुटपिट गरेका हुन् । कुटाइ खानेहरू ६ देखि १७ वर्षसम्मका छन् ।

अंग्रेजी शिक्षा तथा बौद्ध लामा पढाइ हुने उक्त एकेडेमीमा २ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेकामा ‘घर जान चाहने’ सबै विद्यार्थी तथा नेपाली मूलका शिक्षकसमेतको मोबाइल खोसिएको र एकेडेमी आवासबाहिर आउजाउ गर्न नदिइएको विद्यार्थीका अभिभावकले बताएका छन् । ‘रिम्पोचे ज्ञानबज्रले फलामको डन्डीले हाम्रा नानीहरूलाई हिर्काएछन्,’ सिन्धुपाल्चोकका ग्याल्जेन शेर्पाले कान्तिपुरलाई भने, ‘मेरा १७ र १३ वर्षका छोराहरू एकेडेमीकै विद्यार्थी भएको ७ वर्ष भइसक्यो, पहिलो पटक यसरी कुटिएको घटना सुनें ।’ उनी छोराहरूलाई घर फर्काउन मद्दत मागिरहेका छन् ।

शेर्पाका अनुसार एकेडेमीमा नेपाली गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउने गरिन्छ । हरेक वर्ष मंसिरमा लुम्बिनीमा हुने बौद्धपूजामा देहरादूनबाट आउने रिम्पोचेले विद्यार्थी लिएर जान्छन् । शाक्य एकेडेमी विदेशी दाताको सहयोगमा चल्दै आएको छ । ‘मैले पनि लुम्बिनीबाटै छोराहरू रिम्पोचेलाई बुझाएको थिएँ,’ शेर्पाले भने, ‘तर यो वर्ष अलिक ननिको काम त्यहाँ भयो । चार महिनाअघि लकडाउनकै बेला मेरो भाइको छोरालाई पागल भन्दै बोर्डरमा ल्याएर छाडिदिए, त्यो छोराको मानसिक उपचार गर्दै छौं ।’ शाक्य एकेडेमीमा आफ्ना छोराछोरीले कुटपिट बेहोरेको र खानपिनसहितका समस्या खेपेको जानकारी रामेछाप, गुम्देलका टेन्डी शेर्पाले बुधबार दिउँसो मानव अधिकारकर्मी मोहना अन्सारीलाई दिएका थिए ।

यो पनि पढ्नुहोस् :-

देहरादुन घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन मसालको माग

टेन्डीका अनुसार सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, धादिङ, हुम्ला, जुम्ला, रुकुम, बागलुङसहितका ३० भन्दा बढी जिल्लाका लामा विद्यार्थी शाक्य एकेडेमीमा पढ्छन् । ‘घर जान माग गर्दा कुटपिट गरेर राखिएको रहेछ । अब कम्तीमा १० दिन स्कुल बाहिर जान नदिने रे । त्यही भएर उद्धारका लागि पहल सुरु गरेका हौं,’ टेन्डीले भने । शाक्य एकेडेमीका १८ विद्यार्थी भने दसैंअगाडि भागेर नेपाल आएका थिए । उनीहरूले समेत स्कुलमा खानसमेत नपाइएको लगायतका समस्या अभिभावकलाई सुनाएका थिए । ‘स्कुलका प्रिन्सिपल र अध्यक्षसमेत कहींकसैको सम्पर्क आउन चाहेका छैनन्, दिल्लीको नेपाली दूतावासलाई पनि खबर पुर्‍याउन सकिएको छैन,’ टेन्डीले भने । उनले एकेडेमीमा पढाउने केही भारतीय शिक्षक तथा सहयोगीबाट पाएको तस्बिरमा कुनै विद्यार्थीको निधारमा गहिरो चोट देखिन्छ भने कुनैको हातखुट्टाको औंला चुँडिएको र हातखुट्टा भाँचिएको देखिन्छ ।

यो घटनाबारे स्थलगत जानकारी लिन बिहीबार हरिद्वार–ऋषिकेशस्थित नेपाली समाजका प्रतिनिधि पुष्पराज पाण्डेयसहितको समूह जाने भएको छ । ‘विद्यार्थीको उद्धार गर्नुपरे नेपाली दूतावासको समन्वयमा यहाँको नेपाली समाजले सहयोग गर्नेछ,’ पाण्डेयले कान्तिपुरसँग भने, ‘हामी पीडित विद्यार्थीको औषधोपचार र अरू सहयोग गर्छौं ।’ घटनाबारे ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको’ ट्वीटरमार्फत जानकारी दिएका छन् । दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यले पनि यो घटनाबारे ‘खोजखबर लिने’ प्रतिक्रिया दिएका छन् ।

यो पनि पढ्नुहोस् :-

देहरादुनमा कुटिएका दुई नेपालीसहित पाँच विद्यार्थी नेपाल पुगे

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार