मूल प्रवाहको छविलाई धुमिल्याउन खोज्नेहरुलाई परास्त गरौं !

देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाका कारण उत्पन्न वेरोजगारीले गर्दा रोजगारको खोजीमा भारत प्रवेश गरेका नेपालीहरुलाई संगठित गरि उनीहरुको हक, हित र अधिकार एवं नेपालको प्रजातान्त्रिक आन्दोलनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महत्वपूर्ण योगदान रहँदै आएको छ । संगठनले उपर्युक्त विषयमा अनेकौं आन्दोलन गर्नुका साथै व्यापक रुपमा नेपालीहरुलाई संगठित गरेको छ । यस दौरानमा संगठनलाई दिशा विहिन र फूटपार्ने प्रयत्न पनि नभएका होइनन् । दोश्रो अखिल भारत सम्मेलनमा विजय शर्मादेखि नै शुरुवात भएको फूटको गतिविधि तेश्रोमा रामचन्द्र शर्मा, पाचौं पछि टेकबहादुर केसी र छैटौं अखिल भारत सम्मेलन पछिको अवस्था सबैलाई अवगत भएकै कुरा हो । छैटौं अखिल भारत सम्मेलनको वेला फुटपरस्त गिरधारी–कमलहरुको बोलवाला थियो र उनीहरु संगठनमा फूट पारेर तहसनहस गर्ने कार्यमा तल्लीन थिए । तर सचेत कार्यकर्ताहरुको सकृय पहल अथक परिश्रमबाट संगठनलाई फुटपरस्त तत्वहरुबाट जोगाउँदै गतिशिल बनाउन सफल भएका थिए ।

सातौं अखिल भारत सम्मेलन कैयौं महत्वकांक्षीहरुको चाहनालाई ध्वस्त पार्दै अगाडि बढेको थियो । सम्मेलनद्वारा निर्वाचित कैयौं पूर्ण सदस्यहरुको निधन एवं स्वदेश सरुवा भएकोले तथा कोरोना महामारीको कारण आठांै अखिल भारत सम्मेलनको लागि परिस्थिति अनुकुल नभएको हुँदा भेलाद्वारा समितिलाई नविनिकरण गर्नुपर्ने  आवश्यकता थियो । त्यसै आवश्यकलाई पुरा गर्दै सातौं अखिल भारत सम्मेलन पछिको प्रथम भेला ४ जुलाई २०२१ मा सम्पन्न भएको छ । भेलाले फुटपरस्त तत्वहरुले संगठनभित्र फैलाउन खोजेको अराजक गतिविधिलाई किनारा लगाउन  सफल भएको छ । सम्पन्न भेलालाई सफल पार्न एतिहांसिक भूमिका खेल्नुभएका सम्पूर्ण कार्यकर्ता एवं आम शुभचिन्तकहरुप्रति आभार प्रकट गर्दै हार्दिक अभिनन्दन गर्न चाहन्छौं ।

संगठन र आन्दोलन बीच घनिष्ट सम्बन्ध हुन्छ । सही र शक्तिशालि संगठन विना आन्दोलन सफल हुन सक्दैन । प्रतिक्रियावादी राज्यसत्ता, पुलिस, सेना, कानुन, राज्ययन्त्रका नियम आदिमा टिकेको हुन्छ । तर जनतासँग संगठनको शिवाय केही हुँदैन, ती सबै जनताका विपक्षमा हुन्छन् । जनताको शक्तिशाली हथियार भने कै संगठन हो । प्रतिक्रियावादीहरुले जनताको उक्त हथियारलाई कमजोर बनाउन न्वारनसम्मको बल प्रयोग गर्ने गर्दछन् । प्रथम बाहिरबाट आक्रमण र दोश्रो भित्रबाट । प्रशासनिक जालझेल, दमन, गिरफ्तारी, धम्की, हमला आदि बाहिरीबाट हुने आक्रमण हुन् । तर त्यसबाट संगठन कमजोर हुँदैन, कार्यकर्तामा झन् आक्रोश बढछ र मजबुती साथ सामना गर्ने शाहस पैदा हुन्छ । तर दुश्मनले संगठन भित्र वैचारिक रुपमा घुसपैठ गराई नेतृत्वमाथि कब्जा जमाई राजनीतिक दिशामा विचलन पैदा गर्ने, कार्यकर्ताहरुमा भ्रम पैदागर्ने, फुट हाल्ने प्रयत्न गर्दछन् ।

कैयौं व्यक्तिहरुले जान–अनजानमा संगठनको क्रान्तिकारी धारलाई समाप्त पार्दै पूरै संगठनलाई तहनहस गर्ने कार्यमा सहयोग गर्दछन् । बाहरी दुश्मन चिनिन्छ, त्यसबाट सतर्क हुँदै त्यसका विरुद्ध संघर्ष गर्न सकिन्छ, तर आफू भित्र आफू जस्तै विचारमा समानता देखाउँदै विश्वास पात्र बन्दै भित्रबाट हमला गर्नेहरुलाई चिन्न गाह्रो पर्दछ । त्यो दुश्मन अत्यन्त खतरनाक हुन्छ र संगठनलाई धेरै क्षती पु¥याउँछ । रुसको उदाहरण हाम्रो सामु प्रष्ट छ । हिटलरको त्यती ठूलो फौजी आक्रमणले रुसलाई अलिकति पनि डगाउन सकेन, उल्टै मजबुती साथ अगाडि बढ्दै जाने हौसला प्रदान गर्दै गयो । उत्पीडित राष्ट्रहरुलाई समेत एकजुट हुन मद्धत पुर्यायो  र हिटलरको कब्जाबाट अनेकौं देशहरु मुक्त भए । तर खु्रश्चेव तथा गोर्वाचोवले पार्टी भित्रबाट गरेको हमलाको सामना गर्न रुसी कम्यूनिष्ट पार्टीले सकेन र रुस सामाजिक साम्राज्यवादमा पतन हुन पुग्यो र अहिले कम्युनिष्ट पार्टीको झण्डा एवं प्रतिक चिन्हहरु समेत परित्याग गरिसक्यको छ । त्यही कुरा चीन लगायत अन्य देशहरुबारे पनि सत्य हो । यसरी विश्वभरिको कम्युनिष्ट आन्दोलन बाहिरी आक्रमणबाट नभई भित्री आक्रमणबाट कम्जोर भएको कुरा सिद्धछ र हाम्रो देशको कम्यूनिष्ट आन्दोलन बारे पनि सत्य हो । प्रतिक्रियावादी तथा अवसरवादीहरुले संगठन कमजोर पार्न पहिला पार्टीको नीति, सिद्धान्त र नेतृत्वमा हमला गर्दछन्, त्यसपछि जनाधार कमजोर पार्ने तथा त्यसको आडमा आर्थिक स्थितिलाई कमजोर पार्दै संगठनको शक्ति समाप्त पार्ने प्रयत्न गर्दछन् । यस बारे इमान्दार कार्यकार्ताहरु सदैव सचेत र चनाखो हुनुपर्दछ ।

कतिपय अवस्थामा इमान्दार कार्यकर्ताहरुबाट पनि संगठनलाई क्षती पुग्ने गर्दछ । उनीहरुको चेतनास्तरको कमीका कारण प्रतिक्रियावादी वा अवसरवादीहरुको भ्रमको शिकार हुन पुग्दछन् र क्रान्तिकारी विचारमाथि जान–अन्जानमा आक्रमण गर्न पुग्छन् र फुटपरस्त तत्वहरुको भ्रममा परि संगठनमा फूट पार्ने कार्यमा सहयोग गर्न पुग्दछन् । समाजमा व्याप्त निम्न पूँजीवादी चिन्तन, अवसरवाद, महत्वकांक्षा नेतृत्वको लागि प्रतिस्पर्धा, गुटबन्धी आदिको प्रभाव व्यक्तिहरुमा परेको हुन्छ । कैयौं व्यक्तिहरु विभिन्न आकांक्षा बोकेर संगठनमा प्रवेश गरेका हुन्छन् । नेतृत्व पनि यही समाजबाट आएको हुन्छ । त्यसकारण त्यसमा कमीकमजोरी हुनुहुन्न भन्ने होइन । तर अवरवादी व्यक्तिहरुले स–साना कमिकमजोरीहरुलाई अनुशासन विहीन र अराजकपूर्ण गतिविधिबाट उक्साएर, चर्काउने, ठूलो गम्भीर, व्यापक रुप दिएर संगठन कमजोर पार्न वा फूटाल्न प्रयत्न गर्दछन् । अवरवादी र फूटपरस्त व्यक्तिहरुको त्यसप्रकारको षडयन्त्रबाट सदा  सजग हुनुपर्दछ ।

आज राष्ट्र विषम परिस्थितीबाट गुज्रीरहेको बेला संगठनलाई सशक्त बनाउँदै अवसरवाद र फूटपरस्त तत्वहरुका प्रत्येक गतिविधिको मुहतोड जवाब दिंदै अगाडि बढनु पर्ने आवश्यकता छ । अवसरवादीहरुले पार्टीमा विभिन्न प्रकारले हमला गरि सिंगो पार्टीलाई नै ध्वस्त पार्न चाहन्छन् । पार्टी संगठनलाई सुदृढ पार्नुको सट्टा पार्टीको आन्तरिक गोपनियतालाई नै भंग गराएर प्रतिक्रियावादीहरुको दिनानुदिन सेवा पुर्याइरहेका छन् । पार्टी सदस्यहरुले आफ्नो व्यक्तिगत हित भन्दा पार्टी हितलाई सर्वोपरि ठानेका हुन्छन्, कम्यूनिष्ट पार्टी सदस्यहरुले आफ्नो कम्जोरीबाट पाठ सिक्दै र सिकाउँदै अगाडि बढ्दछन् । तर वर्तमानमा केही यस्ता अराजक तत्वहरु देखिएका छन् जो आफूले गरेको कम्जोरीलाई समेत आत्मसाथ गर्दैनन् । उनीहरुको कम्जोरीलाई पार्टीले औंल्याई दिंदा पार्टी र नेतृत्वसँग नै प्रतिशोधको  रुपमा केही व्यक्तिहरु उत्रिएका छन् । उनीहरुले पार्टीको निर्णय, नीति, विधान, पद्धती, निर्देशन कुनै पनि नमान्नी, मनमानी गर्न चाहन्छन् । त्यसप्रकारका गतिविधिहरुलार्ई परास्त गर्दै अगाडि बढ्नु पर्ने जिम्मेवारी इतिहाँसले हामीलाई सम्पेको छ ।

विगतका दिनहरुमा फूटपरस्त तत्वहरुले त्यसप्रकारको गतिविधि नचालेका होइनन् तर इमान्दार कार्यकर्ताहरुको उच्च सर्तकता, वैचारिक स्पष्टता तथा संगठनप्रति समर्पणको भाव कै कारण क्षती हुनबाट बचाउन सफल भएका थियौं । त्यसका साथै कतिपय साथीहरु भ्रमको शिकार भएकाहरुलाई पनि संगठनको सकृयता भेदभाव रहित व्यवहार अथक परिश्रम कै कारण उनीहरुलाई पनि भ्रममुक्त पारेर संगठनमा सकृय पार्ने काम भएको इतिहाँस छ । अहिले पनि केही साथीहरु भ्रमको शिकार हुनुभएको छ । वहाँहरुलाई पनि भ्रममुक्त पारेर संगठनमा सकृय पार्ने कार्य हामीले निरन्तर रुपमा अगाडि बढाउने छौं । गौरवमय इतिहास बोकेको मूल प्रवाहको छविलाई धुमिल्याएर आफ्नो छवि चम्काउन खोज्नेहरुबाट संगठनलाई बचाएर इतिहाँस कायम गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार