म सड्कको मान्छे

रबि पौडेल

आज निकै पानी परिरहेको छ । ब्यस्त सडकमा मोटर साईकल, कार, बस र लारीका ट्यार्रटुर्र आवाज र मेला जस्तै ओहोर दोहोर भिड भने देख्न परेको छैन । त्यसमाथि गर्मिले सड्कमा उड्ने धुलो पनि आज देख्नु परेन । सडकका खाल्डाखुल्डीमा आज कोहि लड्दैन होला ? किन कि साईकलमा आउने मानिसहरु आज आएका छैनन् । एकाध कार बस र लारीहरु मात्र कुदिरहेका छन् । जेहोस् गर्मीमा भन्दा झरिमा रोडको बाताबरण अति शान्त हुँदो रहेछ । म सडक पेटिमा बसेर यी दृश्यहरु हेर्न लागेको करिब सात बर्ष भैसकेको छ ।

ओहो, मानिसहरुको भिडभाडमा त कसैले मलाई पैसा, खाना, बिस्कुट दिएर जान्थे । आज त खानाको समस्या पर्ने भो । पोको पारेर राखेको त्यो बोरा पनि भिजिसकेको थियो । सबै थोत्रा कपडा र बिस्कुट पनि भिजेको थियो । त्यहि भिजेको बिस्कुट झिकेर बालकले मजाले मिठास पूर्वक खान थाल्यो । बिचरा आमा को हो र आफ्नो बाबु को हो भन्नेसम्म पनि थाहा थिएन । कति रुन्थ्यो ! कति कराउँदै हिड्थ्यो हातमा कटौरा समातेर भिडभाडमा, सडक पेटिमा पैसा माग्दै हिड्ने, कसैले दिन्छन्, कसैले दिंदैनन्, कसैले गालि गर्दछन् । कसैले हान्छन्, घुच्चाउछन् । बिचरा बालक धुलो मैलो झुत्रे कपडा लगाएर दिनभर सडक, चोक र ट्राफिक भिडभाडमा हिड्दै आफ्नो चारो सङ्कलन गर्दथ्यो । आज पानी परेकोले मानिस पनि थोरै र आफु निथ्रुक्क भिजेको छ । माग्न कहाँ जाने ? कसले दिन्छ ? दुबै भिजेका बोरा भित्रका बिस्कुट निकालेर खाँदै यताउति हेर्छ । कोही पनि उ भएको बाटो आउदैनन् । आज सडकपेटि खालि छ । एकाध गाडिहरु मात्र सडकमा गुडिरहेका छन् । किन कि आज ठुलो पानी परेको छ ।

अहिले उ थोरै सोंच्न सक्ने भएको छ । मेरा बाबु–आमा कहाँ होलान् ? को होलान् ? घर होला कि नहोला ? आदि मनमा कुरा खेलाउछ । तर के गर्ने उसको बिबसता थियो । उसका आमा बाबु पनि यस्तै सड्कमा माग्दै हिड्थे । थुलो खान्थे, सड्क मै सुत्थे । उनीहरुको कुनै घर थिएन । जग्गा, जमिन थिएन, यतिसम्म कि देशको नागरिक भएर पनि नागरिकता प्रमाण पत्र थिएन । डुल्दै पैसा माग्ने क्रममा रोड क्रस गर्दा श्रीमान बितेपछि । उसकी आमाले आफ्नो छोरालाई पैसा माग्न पठाएर छोडेर गएकि थिईन् । उनको पनि बाध्यता थियो । कमाई थिएन, माग्न सक्ने र खाना ख्वाउने उनको श्रीमान सडक दुर्घटनामा बितिसके पछि नगर निगमको एम्बुलेन्समा प्रहरीको साथ लगेर मसान घाटामा जलाएको उनले देखेकि थिईन् । उनी कमजोर दिमाग कि भएको हुनाले पैसा माग्ने र बच्चा हुर्काउने काम गर्नलाई मुस्किल थियो । सानो दुधे बालक छँदा पनि बाबुले नै हेरचाह र खाना जुटाएका थिए ।

ओहो दिउँसो पनि भईसक्यो । सबैले खाना खाँदै होलान्, मैले आज के खाने होला ? बालकलाई खाना खाने पिरले सताएको थियो । यतिकैमा एक जना मानिस छाता ओडेर आईरहेको देख्छ । उ उसैतिर आईरहेको देखेर राहतको ठुलो सास फेर्छ । नजिक, अझै नजिक आउन्जेल हेरिरहन्छ तर त्यो ब्यक्तिले न त्यो बालकलाई हेर्छ, न सोध्छ । उ उल्टो दिशामा गईरहेको पनि हेरिरहन्छ, जसरी आफुतिर आउँदा हेरेको थियो । निरास हुन्छ । माग्ने पनि उसको त्यहि एरिया थियो बस्ने पनि त्यहि ईटाको चाङमुनि, रुखको बोट मुनि सुतेर रात गुजाथ्र्यो । बाटोमा अब को आउला र देला भनेर कुरिरहेको थियो । सडकमा पानी भरिंदै थियो । झ्याम झ्याम वर्षात, चट्याङको आवाज निकै कठिन र दुखदायी जीवन थियो त्यसैमा पनि उ बालकै थियो ।

आँखा दुखे तर बाटोमा पैदल कोहि आउँदैन । उसले आज दिनभरि भोकै बस्न पर्ने आंकलन गर्छ । निरास हुन्छ । दुःख मान्छ, आमा र बाबु सम्झन्छ । दुःख पाएको, धुलो खाएको, खाल्डामा खसेको, कसैले थप्पड हानेको र माग्दा घचेटेको सम्झदै थकित हुन्छ । हैरान हुन्छ । जाओस त कहाँ ? मागोस त कहाँ ? अरु मगन्तेहरुले हेप्छन् । बोराको सिरानी लागेर यसो पल्टिन्छ । भोको पेट ! यत्तिकैमा एक जना मानिस आईपुग्छ ।

केटा आज खाना खाईस ?

खा छैन दादा ।

किन ? कसैले दिएन ?

कोहि रोडमा आएकै छैन कोसँग माग्ने ? निन्न्याउरो स्वरमा आफ्नो कुरा राख्छ । उ त्यहि मानिस थियो । कहिले काहीं उसले बिचरा बालक भनि खाना दिने गरेको थियो । आज अबेर उसले रोडको बालकलाई संझ्यो । आज के खायो होला भन्दै छिटोछिटो उ त्यहाँ आएको थियो ।

ल खा खाना भन्दै दाल, भात, तरकारी र अचार दिएर गयो ।

आधा खायो र आधा बेलुका खाने भनि भिजेको भोरामा राख्यो । यस्ता दुई चार जना सहयोगी मानिस, आउथे दया भएका मानिस थिए । एकाध ! त्यकारण उ कहिले काहीं खुशि पनि देखिन्थ्यो ।

सडक पेटिमा एउटा अबोध बालक दिन, कहिले ढुङगाको पर्खाल मुनि रात कटाउनु पर्दथ्यो । बिताउनु, रात बिताउनु निकै कठिन थियो । एक दिन दुई सय रुपैयाँ बनाएको थियो । अर्को एकजना मगन्तेले उ निदाएको बेलामा चोरेर गएको थियो । बिउँझेर उ पानी किन्न गयो । जब पसलमा पुगेर पैसा झिक्न खोज्दछ । उसले पाउँदैन पूरा बोरा टकटकाउँछ पैसा छैन, उ रुन्छ, कराउछ तर के गर्ने ! पसलेले धेरै पटक पानी दिएको थियो । यस पटक उसले पनि पानी दिएन । ओठ–मुख सकेका थिए, खुट्टा गलिसकेका थिए ।

अझै पानी परिरहेको थियो । दश बिन्ति गरेर पानी माग्यो तर कसैले दिएनन् । रात परिसक्यो, दैनिक खाना दिने मानिस पनि आएनन् । आउन पनि कसरी । झरि, जाडो छ बाहिर निस्कन मुस्किल छ, तर त्यो बालक कसरी जाडोमा दिन रात बिताई रहेको होला भन्न कठिन पर्छ । यतिकैमा उ आफ्नो सडक पेटि फर्किन्छ । बिहान होटेल पसलेले दिएको थोरै भात दाल बचेको खान्छ । अनि सडक छेउमा ईटा चाङको आडमा सुत्छ । भुसुक्कै निदाउँछ । नउसलाई नकसैको डर थियो, नकसैको काख नै । फेरि पनि जीवन कसरी बित्छ, बितेको छ । ती तिनै सडकका मानिहरुलाई मात्र थाहा छ ।

दिनहरु बितिरहेका हुन्छन् । रातहरु काला हुन्छन् । बिहानि हुन्छ । दिन बन्छ, दिन बित्छ, रात बित्छ, हप्ता सकिन्छन् । महिना बित्दछन् । बर्ष बित्छ । कतै रमाइलो हुन्छ । कतै अट्यास हाँसो काड्छन् मानिसहरु । कति भोकमरिले सताएको हुन्छ । दुःखी गरिबीको मुटु चिसो हुन्छ । घाम पानी छेक्ने कुनै ठाउँ छैन । यहाँ नारा घन्किन्छन् । गरिबी निवारणका कुरा आउँछन् । कोहि भोको बस्नु पर्दैन भन्छन ! कोहि रोडमा सुत्ने यस्तो पनि हुन्छ ? आदि इत्यादि कुरा गर्छन् । समय बिताउँछन् । रास्ट्रिय ढुकिटि रित्ताउछन् ।

तर ती सडक किनारका हजारौं मगन्ते जीवन बिताईरहेका बालक, महिला र बृद्धहरुलाई हेर्ने, बुझ्ने र ब्यबस्थापन गर्ने, न कुनै सरकार आएको छ, नकुनै व्यवस्था । सरकार त केवल ठुलाठाला, हुनेखानेको लागि छ । चिल्ला कार, राम्रो कपडा, ठुलो महल, परिवारलाई गरगहना तिनै ब्यक्तिहरु छन् । तिनै सरकारमा जान्छन् । राष्ट्रको सम्पत्ति ब्रम्हलुट पार्दछन् । खुसदोरी, तस्करी, चोरी, डकैती गर्दछन् । हरेक तरिका अपनाउँछन् र पेट ठुलो बनाउछन् तर ती सडकका गरिवहरुको लागि कुनै ठोस कदम चाल्दैनन् । फेरि पनि धनिको सामुन्ने गरिव भएर बाच्नु पर्ने विवसता छ ।

हो, हामीले यस्तै सडकका मानिसहरुको हकहित र अधिकारको लागि आवाज उठाउनु पर्छ । एकछाक खान र बस्ने बासको ब्यबस्था हुनुपर्छ । गरिवको न्यायको लडाइँ लड्नु पर्छ भनेर आवास उठाएको पनि धेरै बर्ष भईसकेको छ । पिर माथि पिरको भारि थपिदै छ । जुन सरकार आए पनि निमुखा जनताको काम गर्दैन । त्यसकारण ती सडका मानिसहरु एकजुट हुने बेला आएको छ । गरिबहरु, घर नभएकाहरु, खान नपुग्नेहरु एकजुट हुनु पर्छ । आँधिबेहरीको सिर्जना गर्नुपर्छ । एक ढिक्का हुनुपर्छ ।

चीनमा माओसेत्तुङले झैं दुःखी गरिवको पिर बुझ्ने राज्य ब्यबस्थाको स्थापना गर्नुपर्दछ । हामी सबै मिलेर असमानताको बिरोधमा न्यायको पक्षमा आन्दोलन गर्नुपर्दछ । आन्दोलनको बलले यो सडेको, गलेको, मक्किएको, राष्ट्रघाति, जनघाति सरकारलाई बिस्थापित गरेर जनताको राज्य ब्यबस्था स्थापना गर्नु पर्दछ । त्यो ब्यबस्था भनेको नयाँ जनबादी ब्यबस्था नै हो । नयाँ जनबादी ब्यबस्था नै साँचो अर्थमा जनताको व्यवस्था हो । त्यस दिशामा अघि बढ्न सडक पेटिबाटै उठौं । हातमा मुठ्ठी उठाई उठौ ! जागौ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार