रक्सी पिउने श्रीमान हिंसा भोग्ने श्रीमती

– मेनुका ढुङ्गाना

श्रीमान भारत रहँदा २२ वर्षीया पवित्रालाई श्रीमान–श्रीमतीसँगै सुखदुःख बिताउने रहर थियो । उनको रहरमा श्रीमानले पनि मलजल गरे । २०७० सालमा पवित्रालाई अछामबाट भारतमै बोलाए । श्रीमानले पनि बोलाएपछि दुई छोरी लिएर सुखद सपना सजाउँदै उनी भारत गइन् । उनको सुखको दिन जीउने सपना भने लामो समय टिकेन । श्रीमान भए ठाउँ पुगेको तीन महिनादेखि नै श्रीमानले कुटपिट गर्न थालेको पवित्राले बताइन् ।

मदिरा सेवन गर्ने उनको श्रीमानले लगातार यातना दिन थालेपछि पवित्राले सहन सकिनन् । अन्ततः भारत पुगेको तीन वर्षपछि नेपाल फर्किइन् । भारतबाट फर्किएपछि दुई छोरी सहित माइतीको सहारामा छिन् । ‘जँड्याहा श्रीमान भए पनि दुई छोरी च्यापेर दुःख सहेरै बसेकी थिएँ । मैमाथि अनेक शङ्का गरेपछि ज्यान जोगाउन भागेर माइतीको सहारामा आउनु प¥यो’ उनले भनिन् ।

पवित्रा अहिले मजदुरी गर्छिन् । त्यसैको कमाइले दुई छोरी पढाउन थालेकी छिन् । उनले मङ्गलसेनको जिल्ला प्रहरी कार्यालयमा श्रीमानले मदिरा सेवन गरी कुटपिट गरेको भन्दै एक वर्ष अघि उजुरी दिइन् । प्रहरीको रोहवरमा छलफल भयो । छलफलमा मिलेर बस्ने सहमति पनि भयो । तर घर जाँदा आफू सुरक्षित हुनेमा ढुक्क छैनन् । त्यसैले आजसम्म निर्धक्क घर फर्किन सकेकी छैनन् ।

०००
रामारोशन गाउँपालिका–७ की उर्मिला कक्षा ७ पढ्दा सोही विद्यालय पढ्ने किशोरसँग प्रेममा परिन् । उनीहरुको सम्बन्ध करिब तीन वर्षसम्म चल्यो । उनीहरुबीचको सम्बन्धबारे घरपरिवार र साथीहरुले पनि थाहा पाए । दुबै किशोर किशोरीलाई आफूबीचको सम्बन्ध गाउँमा थाहा भए आउने प्रतिकृयाको लाजले थिच्यो । लाज जोगाउने उपायस्वरुप उनीहरुले कक्षा १० पुरा नहुँदै २०६९ साल मङ्सिरमा प्रेम विवाह गरे ।

विवाहको तीन महिनापछि उर्मिलाको किशोर श्रीमान कमाउन भारत पसे । श्रीमान भारत गएपछि उर्मिलालाई लाग्थ्यो– ‘जति टाढा माया गाढा’ । तर, उनको जीवनमा गाढा भएन माया । श्रीमानसँगको दुरी बढ्यो तर माया झनै घट्दै गयो । घरको कामले थिचिएकी थिइन् उर्मिला । श्रीमानले पनि आठ महिनासम्म त सम्पर्क गरिरहेका थिए । आठ महिनापछि सम्पर्क बन्द भयो ।

उर्मिला भने श्रीमानको प्रतिक्षा गरिरहिन् । चार वर्षपछि श्रीमान घर त आए, सँगै ल्याए अर्की पनि विवाह गरेको खबर । घरमै सौता नल्याएकोले खबर साँचो होकी होइन सोधीखोजी गर्दा श्रीमानले कुट्न थाले । उनका अनुसार श्रीमानले अपहेलना गर्न थालेपछि परिवारका अरु सदस्यले पनि घरबाट निस्किन दबाब दिन थाले । घरमा बस्नै नसक्ने भएपछि २०७१ भदौमा उनले घर छोडिन् । माइतीको सहारामा नजिकैको प्रहरी चौकीमा उजुरी दिइन् । त्यहाँ मिल्ने सहमति भयो । तर सम्बन्ध दिगो रहन सकेन ।

घर छोडेपछि तीन वर्षयता उर्मिला मङ्गलसेनको एक सुरक्षित आवासगृहमा छिन् । प्रहरी र अधिकारकर्मीको सल्लाह अनुसार आवासगृहमा बसेको उनले बताइन् ।

०००
मङ्गलसेन नगरपालिका–११ की ३५ वर्षीया रम्भालाई श्रीमानले जहिले मदिरा सेवन गरेर कुटपिट गर्थे । पटक पटक दोहोरिने कुटपिटको कहिले गाउँमै त कहिले प्रहरीको रोहबरमा मिलापत्र पनि भइरहन्थ्यो । रम्भाका अनुसार उनी चार पटकसम्म जिल्ला प्रहरी कार्यालय मङ्गलसेनमा न्यायका लागि पुगिन् । प्रहरीले घरेलु झगडा हो भनी मिलापत्र गर्दै पठायो । न्याय माग्न जाँदा मिल्न दबाब आएपछि श्रीमानसँग छुट्टिएर बस्नुको विकल्प नभेटिएको उनले बताइन् ।

अन्ततः उनले पनि घर छोडिन् । मङ्गलसेनको सुरक्षित आवासगृहमा आइन् । त्यहाँ एक महिना बसिन् । मनोपरामर्शकर्ताबाट परामर्श पाइन् । आफै केही गर्नसक्छु भन्ने अठोट बोकिन् र घर फर्किइन् । सुरक्षित आवासगृहमा बस्दा सिलाकटाइ सिकिन् र अहिले सिलाइकटाइ गरेर जीवन निर्वाह गर्दै आएकी छिन् ।

०००
मदिराकै कारण, हिंसामा परेर घर नै छोड्न बाध्य हुने पवित्रा, उर्मिला र रम्भा प्रतिनिधि पात्र मात्र हुन् ।
मदिराको कारण घरभित्रै हुने हिंसा त कैयौ छन् । तर निकै कम मात्रै प्रहरीसम्म पुग्छ । अछाममा पाँच वर्षयता मदिराकै कारण २२ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ । समाजमा हुने हत्या, आत्महत्या र कुटपिट लगायतका अधिकांश घटनाका पछाडि मदिरा जोडिएको अछामका प्रहरी प्रमुख डिएसपी जनक शाहीले बताए ।

‘प्रहरी कार्यालयमा आउने मुद्दामध्ये धेरैजसो घटना मदिरा सेवन गरेकै कारण भएका हुन्छन्’ डिएसपी शाहीले भने– ‘मदिरा सेवन गरेर मातेको अवस्थामा ज्यान नै लिने गरी भएका यस्ता घटनाले अछामबासी हैरान भएका छन् ।’

थप मारमा बालबालिका
मदिराको कारण महिला मात्रै होइन, अबोध बालबालिका समेत जोखिममा पर्ने गरेका छन् । मदिरा सेवन गरेर श्रीमतीको हत्या गरी श्रीमान जेल जाने कारण बालबालिका बिचल्ली भएका छन् । २०७४ माघमा कमलबजार नगरपालिका–५ का ३५ वर्षीय केशव खड्काले ३० वर्षीया श्रीमती पवित्रा खड्कालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरे । आमाको हत्या गरेर बाबु जेल गए ।

जेल गएपछि चार छोराछोरीको बिचल्ली भएको छ । केशवले मदिरा सेवन गरेर जग्गा समेत बेचेकाले उनका बच्चा कसरी पढाउने भन्ने चिन्ताले आफन्तलाई सताएको छ । उनकी १२ वर्षीय जेठी छोरी निर्मला बुबाले घरमा मदिरा सेवन गरेर खान बस्नै नदिने भएपछि आफन्तको सहारामा गत पुसमा नै कैलाली गइसकेकी थिइन् ।

घरमा झगडा भएर घर कमजोर हुँदा बालिका यौन हिंसामा पर्ने, छिमेकीले हेप्ने जस्ता घटना पनि घट्ने गरेका छन् तर उजुरी भने नआउने डिएसपी शाही बताउँछन् । कतिपय मान्छेको स्वभाव राम्रो चाहने र नचाहने दुवै हुन्छ । सामाजिक मूल्य–मान्यताका कारण नशामा नहुँदा बोल्न नसकेका विषयमा मदिरा सेवनपछि उत्तेजित भएर बोल्ने, विभिन्न घटना गराउने बयालपाटा अस्पतालका डाक्टर विकास गौचन बताउँ छन् ।

डाक्टर गौचनले भने– ‘कतिपय मान्छेले मदिरा सेवन ग¥यो भने सामाजिक मूल्य–मान्यता बिर्सन्छ । गलत प्रवृत्ति र मानसिकतालाई दबाउन सक्दैन ।’ गौचनका अनुसार बढी रक्सी पिउँदै जाँदा उसको मानसिक सन्तुलन सामान्य अवस्थाभन्दा फरक हुन्छ । त्यसकारण पनि मदिरा सेवनपछि धेरै घटना हुने गरेका छन् ।

नियमन बिना मदिरा खरिद–बिक्री
मदिराले अछाम बिग्रन थालेको भन्दै २०४४ सालमा नै मदिरा विक्री–वितरण पूर्ण रुपमा बन्द गरिएको थियो । तर लुकीछिपी मदिरा जिल्ला भित्रन थाल्यो । घरेलु मदिराको उत्पादनमा पनि कुनै नियमन भएन । त्यसपछि यहाँका राजनीतिज्ञ, व्यापारी र सरोकारवालाको सहमतिमा २०६८ सालदेखि खुला रुपमा मदिरा बिक्री–वितरण हुन थाल्यो । तत्कालीन जिल्ला विकास समितिको जिल्ला परिषद चलिरहेका बेला व्यापारीको समूह मदिरा खोल्ने पक्षमा भएकाले मदिरा बिक्री–वितरण खुला गरिएको सरोकारवाला बताउँछन् । ‘मदिरा ऐन २०३१ अनुसार मदिरा बिक्री–वितरण गर्न पाउनु पर्छ भन्ने आन्दोलन उद्योग वाणिज्य सङ्घले गरेको हो’ तत्कालीन उद्योग वाणिज्य सङ्घ अछामका अध्यक्ष चन्द्र प्रसाद ढुङ्गानाले भने– ‘आन्दोलनपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी, राजनीतिक दल लगायतको उपस्थितिमा इजाजत लिएर कानुन अनुसार बिक्री–वितरण गर्ने सहमति भएको हो ।’

उनका अनुसार कानुनले नै बन्देज गरेको घरेलु मदिरा खुला गर्ने सहमति भने भएको होइन । कोष तथा लेखा नियन्त्रक कार्यालय अछामको तथ्याङ्क अनुसार अछाममा एक हजार दुई सय ७४ जनाले मदिरा बिक्री–वितरणका लागि इजाजत पत्र लिएका छन् । कतिपयले नवीकरण नै गरेका छैनन् । व्यवसाय दर्ता नगरी र अवैध तरिकाबाट मदिरा बिक्री–वितरण गर्ने पनि धेरै छन् । तर जिल्लामा कति मदिरा खपत हुन्छ भन्ने तथ्याङ्क कसैसँग छैन ।

स्थानीय तहले नियन्त्रण गर्न सकेन
जिल्ला समन्वय समितिको आयोजनामा मङ्गलसेनमा १० वटै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवालाको २०७५ मङ्सिरमा बैठक बसेको थियो । बैठकले मदिरा ओसारपसार, बेचबिखन, सेवन नियन्त्रण तथा नियमन साझा प्रतिबद्धता २०७५ तयार पारेको छ । जिल्लामा न्यून गुणस्तरको मदिराको ओसारपसार, बेचविखन, व्यवस्थापन स्थानीय तहले नीति बनाई नियन्त्रण गर्ने, घरेलु मदिराको उत्पादन, ओसारपसार तथा बेचविखनलाई निरुत्साहित पार्ने गरी त्यही बेलादेखि अभियानको सुरुवात पनि गरेको हो । तर अहिलेसम्म कार्यान्वयन भने हुन सकेको छैन ।

मदिरा बिक्रेताले साँझ ६ बजेदेखि ८ बजेसम्ममा मात्र मदिरा बिक्री गर्न पाउने विद्यालय र सार्वजनिक स्थलसँगै जोडिएर बिक्री–वितरण नगर्ने लगायत साझा प्रतिबद्धता पटक–पटक जनाउने गरेको जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवर बताउँछन् । साझा प्रतिबद्धता विपरित मदिरा ओसारपसार, बिक्रीवितरण गरेमा स्थानीय तह र स्थानीय प्रशासनले मदिरा जफत लगायत तोकिए अनुसार जरिवाना गर्न सक्ने निर्णय पनि भएको थियो । तर अहिलेसम्म कसैलाई पनि जरिवाना भएको छैन ।

टोल–टोलसम्मै मदिराको बिगबिगी बढेकाले मदिरा सेवन गरेकै कारण महिला हिंसाका घटना बढ्दै गएको मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा बताउँछन् । ‘निर्वाचित भएर आइसकेपछि पहिलो पटक नै मदिरा व्यवस्थापन गर्ने निर्णय गरेका हौँ’ उनले भने– ‘हालसम्म कार्यान्वयन गर्न सकिएको छैन ।’ मदिरा रोक्ने पहल भइरहेको बोहोराले बताए ।

स्थानीय निकायबाट पहल नभएपछि यहाँका महिलाले भने अभियान थालेका छन् । पहिलो पटक पुरुषलाई नै समूहमा राखेर मदिरा विरुद्ध अभियान सुरु गरेको मङ्गलसेन–५ पिपलतोलिका मदिरा व्यवस्थापन समितिका अध्यक्ष प्रमिला ढुङ्गानाले बताइन् । उनले भनिन्– ‘हामीले पहिले पनि एकजुट भएर मदिरा विरुद्ध अभियान सुरु गरेका हौँ । तर पुरुषले साथ दिएनन् । त्यतिखेर हामी सफल हुन सकेनौँ अहिले आवाज बलियो बनाउँदैछौँ ।’ पुरुषले रक्सी खाँदा नगद दिनु पर्दैन । ‘एक किलो चामल उधारो नदिने व्यापारीले प्रत्येक दिन पुरुषलाई उधारो रक्सी दिन्छन् । हामीलाई पत्याउँदैनन् ।’ अभियानमा सक्रिय मङ्गलसेन–५ कि के.डी. ढुङ्गानाले भनिन्– ‘रक्सी खाएर घरमा भएको सबै सम्पत्ति पनि सके । प्रत्येक मदिरा पसलमा उधारो बनाएर मेरा श्रीमानको मृत्यु भयो ।’ अब छोराको लागि असल समाज निर्माण गर्ने उनको योजना छ ।

न्यायिक समितिमा गोपनियता नहुने डर
मदिरा सेवन गरेर कुटिने हुन या घरझगडा परेर न्याय खोज्ने हुन् । सबै महिलालाई एउटै समस्या छ न्याय माग्ने ठाउँ । अहिले स्थानीय निकायमा न्यायिक समिति त गठन गरिएको छ तर त्यो प्रभावकारी हुन सकेको छैन । मङ्गलसेनकी रुपा विकले श्रीमान्ले बेवास्ता गर्ने गरेको, परिवारलाई समय दिन नसकेको र अन्य पारिवारिक समस्या भएकाले श्रीमानबाट छुट्टिएर बस्नका लागि न्यायिक समितिमा उजुरी दिइन् । उजुरी परेपछि न्यायिक समितिले दुवै पक्षलाई बोलायो । उपप्रमुखको कार्यकक्षमा नै छलफल गर्नु प¥यो गोपनीयता कायम नहुने भएकाले टुङ्गोमा पुगेन । ‘श्रीमान श्रीमतीका गोप्य कुरा पनि विवाद चर्किदा बाहिर आउँथे । दुई पक्षबीच भनाभन र कुटाकुट समेत हुँदा गाह्रो भयो’ उपप्रमुुख सरिता उपाध्यायले भनिन् ।

यहाँ धेरै श्रीमान श्रीमतीका मुद्दा आउँछन् । यौनका विषय र अन्य पारिवारिक विषयमा खुल्ला छलफल गर्दा गोप्य रहँदैनन् । ‘इजलासको त के कुरा, आपंmंै बस्ने ठाउँ त छैन । कसरी काम गर्न सकिन्छ ?’ सरिताले भनिन् । गाउँपालिकाको नयाँ भवन नबनेको र पुरानैबाट काम चलाउँदा असजिलो वातावरणमा काम गर्नु परेको उनको भनाइ छ । मङ्गलसेनको न्यायिक समितिमा अहिलेसम्म १० वटा मुद्दा दर्ता भएका र छ वटा मुद्दा मौखिक रुपमा मिलाइएको उनले बताइन् । दश स्थानीय तहमध्ये बान्निगढी जयगढ गाउ“पालिका र मेल्लेख गाउँपालिकामा उपाध्यक्ष पुरुष नै भएकाले उजुरी निकै कम आउने गरेका छन् । ‘स्थानीय न्यायिक समितिमा उजुरी निकै कम आउँछन् । महिला हिंसा सम्बन्धी उजुरी त आएकै छैनन्’ बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउदले भने– ‘जति आए ती सबै जग्गा विवादका उजुरी हुन् ।’

समितिमा न्यायिक कार्यसम्पादन सम्बन्धी विज्ञ नहुँदा कानुनी जटिलता देखिएको जिल्लाका सबै न्यायिक समिति संयोजकको तर्क छ । समितिका पदाधिकारीमा समेत कानुनी ज्ञान अभावले विवाद समाधानमा ढिलाइ हुने गरेको छ । यसले गर्दा महिलाले झन् हिंसा खेप्दै आएका छन् ।

नोट– हिंसा प्रभावित महिलाको नाम परिवर्तित गरिएको छ । (सञ्चारिका फिचर)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार