राउटेको आफ्नै कानून, पीडित युवतीहरु आफन्तबाटै मारिने डर !

यज्ञ खत्री

सुर्खेत ।  राउटे समुदाय जो जंगलमा फिरन्ते जीवन बाँच्छ । आफूलाई जंगलको राजा ठान्छ । यो समुदायको आफ्नै धर्म, कला संस्कृति र रीतिरिवाज छ । नियम र कानून पनि आफ्नै छ ।

सिलाइएका कपडाहरु नलगाउने, फरक लवजले अरूसँग बोल्ने, आफ्नै समुदायभित्र मात्रै विवाहबारी गर्ने, एउटा व्यक्तिको मृत्यु भए अर्को ठाउँमा बसाइँ सर्ने आदि, इत्यादि आफ्नै विशेषता छ राउटे समुदायमा ।

यो समुदायले देशको संविधान चिन्दैन, कानून मान्दैन । तर, मुखियालाई चिन्छ, मुखियाको आदेश मान्छ, उसँग आफ्नै अलिखित संविधान छ । त्यो देशको संविधान भन्दा झनै कठोर छ । त्यस्तो संविधान जसले मृत्युदण्डको सजाय दिन पनि पछि हट्दैन । परम्परादेखि मानिआएको कानूनको पालना हुन्छ ।

राउटेको कानून बारे जानकारहरूका लागि आइतबारदेखि एउटा ठूलो डर पैदा भएको छ । आइतबार बिहानै राउटे युवतीहरूमाथि गुर्भाकोट सुर्खेतका केही युवाहरूले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । उक्त घटनाले पीडित युवतीहरु राउटे समुदायबाट नै मारिने डर छ ।

घटनाको वास्तविकता राउटे समुदायका अन्य व्यक्तिले थाहा पाए युवती आफन्तबाटै मारिन सक्ने पत्रकार नगेन्द्र उपाध्याय बताउँछन् । ‘राउटेले आफना छोरीचेली, अन्य समुदायका पुरुषसँग बोलेमात्रै पाप ठान्छ, यौन दुर्व्यवहार त उसका लागि जघन्य अपराध हो’, उपाध्याय भन्छन् ।

विगत लामो समयदेखि राउटे समुदायको उत्थानका लागि काम गर्दै आएका उपाध्याय सामाजिक सञ्जालमा भाइरल भिडियो राउटे समुदायका व्यक्तिसम्म पुगे पीडित युवतीहरुलाई मृत्युदण्ड हुनसक्ने बताउँछन् । ‘यो घटना थाहा पाए स्वीकार्दैनन्, सजाय मृत्युदण्ड हुन सक्छ, घरेलु हतियार प्रयोर गरेर मारिहाल्छन्’, उनले भने ।

उनले थपे, ‘ठूलो गल्ती गर्नेलाई उनीहरू स्वीकार गर्दैनन्, जसले गर्दा पीडित युवतीहरू आफ्नै समुदायबाट झनै असुरक्षित छन् ।’

उनीहरूको नियम कानून बुझेकै कारण यौन दुर्व्यवहारको घटनाबारे राउटे समुदायलाई  जानकारी नदिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले बताए । ‘घटना थाहा पाउन सक्ने भएकै कारण पीडितसँग बयान लिइएको छैन, स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था पनि रहेन, अनुसन्धानमा समेत समस्या भएको छ’, डीएसपी घर्तीले भने ।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ ।

यसअघि नै मुखियाको कारबाहीमा परेका थिए पीडित युवतीहरु

राउटे समुदायको नियम विपरीत अन्य समुदायसँग नजिक भएको भन्दै पीडित युवतीहरुलाई यसअघि नै कारबाही गरिएको थियो ।

अनुगमनबाट यौन हिंसामा परेका ती युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्दजस्तै गरी राखेको खुलेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

यौन दुर्व्यवहारको घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा पीडित युवतीहरुको गोपनीयता संरक्षण, स्वास्थ्य परीक्षण, भौतिक सुरक्षा र अधिकार प्राप्तिमा आवश्यक पहल र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रहसमेत गरिएको छ ।

राउटे समुदायका महिलाहरू प्रायः अन्य समुदायका नागरिकसँग बोलचाल गर्दैनन् । उनीहरू श्रीमान् र समुदायको डरका कारण बोल्न डराउने गरेको जानकारहरु बताउँछन् । दुवै पीडित युवतीहरू अविवाहित हुन् ।

राउटे समुदायमा प्रायः सानै उमेरमा विवाह गर्ने चलन भएपनि युवाको अभावका कारण उनीहरूको बिहे भएको छैन । दुर्व्यवहारमा परेका युवतीहरू अन्य समुदायका नागरिकसँग धेरै घुलमिल हुनेमा पर्छन् ।

यसअघि नै पीडितहरू युट्युब, टिकटक र सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

बदलिँदै जीवनशैली, अन्य मानिसबाट पूर्णतः असुरक्षित

केहीवर्ष अघिसम्म राउटे समुदाय पैसा छुँदा पनि पाप लाग्छ, भन्ने मान्यता राख्थे । समुदायमा घुलमिल हुँदैनथे । तर, पछिल्लो समय राउटेको सोच बदलिएको छ । आदत बिग्रिएको छ । उनीहरु मदिराले मातिन थालेका छन् ।

भेरी नदी किनारमा फिरन्ते जीवन बिताइरहेका उनीहरू कसरी होटलको बन्द कोठासम्म पुर्‍याइए । यसले गम्भीर प्रश्न खडा भएको अनुसन्धानमा संलग्न एक प्रहरी बताउँछन् । ‘यसले के देखाउँछ भने, अहिले राउटे समुदाय अन्य समुदायबाट पूर्णतः असुरक्षित छ, असुरक्षाको शिकार तिनै युवतीहरु र बालबालिकाहरु  भइरहेका छन्,’ ती प्रहरी भन्छन ।

पछिल्लो समय राउटेहरु बस्तीमा पुग्ने हरेक नयाँ मानिससँग रक्सी, चुरोट माग्छन् । ‘त्यही मदिरा दिएर उनीहरूमाथि मदिराको मातमा बलात्कारसम्मको प्रयास भएको छ,’ प्रहरी स्रोत भन्छ ।

नराम्रो दृष्टिले राउटे बस्तीमा जाने मान्छेहरूका कारण उनीहरू असुरक्षित रहेको राउटे लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्काले बताइन् । ‘अब राउटे सुरक्षित रहेनन्, तर त्यो कुरा उनीहरूलाई थाहा छैन । जाँड रक्सी र खाद्यान्नको प्रलोभनमा पारेर उनीहरूमाथि दुर्व्यवहार भइरहेको छ,’ उनले भनिन् ।

अहिले राउटे बस्तीमा सहयोगभन्दा पनि टिकटक बनाउने, फोटो खिच्ने र भिडियो बनाउन जानेको भिड लाग्ने गरेको उनले बताइन् । यसबारे स्थानीय प्रशासन र प्रदेश सरकारलाई समेत पटक–पटक ध्यानाकर्षण गराए पनि बेवास्ता भएको उनको गुनासो छ ।

आधुनिकका नाममा समाजमा देखिएका विकृतिको छायाँ राउटे समुदायमा पनि पर्न थालेको मप विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्रका सहायक डीन कमलेश डिसी बताउँछन् ।

राउटे समुदायको परिवर्तनको नाममा गरिएका गतिविधिहरू व्यवस्थित नहुँदा विकृति भित्रिएको उनको तर्क छ । ‘राउटे समुदायको संरक्षण र परिवर्तनको नाममा गरिएका क्रियाकलापको सकारात्मकभन्दा नकारात्मक असर बढी देखियो,’ उनले भने ।

राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । १३८ जना संख्याको परिवारमा रहेको यो समुदायमा रास्कोटी, सुर्य वंशी र कल्याल ठकुरी भनेर तीन गोत्रमा विभाजित छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार